एउटा व्यक्तिको झोलामा रहेको निजी कम्पनीले अरवौंको कारोवार हुने बजारलाई धान्न सक्दैन । मैले वर्षौदेखि यो विषयलाई संचार माध्यम र सामाजिक सन्जालमार्फत उठाइरहेको थिएँ । मैले दिएको तर्क र नेपाली पूँजी बजारको आगामी संभावनाका लागि ब्रोकर कम्पनीको पूँजी १ अर्व हुनुपर्छ भन्ने माग थियो । धेरैले यसलाई त्यतिबेला हावामा उडाए । लगानीकर्ताका संगठन भनाउँदाहरुले समेत काम गरिरहेको ब्रोकर रिसाउला भन्दै यसवारे बोल्न डराए । धन्न ! पछिल्लो पटक तिलक कोराइलाको नेतृत्वमा भएको आन्दोलनमा पहिलोपटक ब्रोकर कम्पनीको पूँजीवृद्धिको माग परेको थियो ।
पूँजी बजार बिकासको मेरुदण्ड नै ब्रोकर हो । धितोपत्र बोर्ड र नेप्सेले जतिसुकै राम्रो नीति र कार्यक्रम बनाए पनि त्यसलाई लगानीकर्तासम्म लैजाने माध्यम भनेको ब्रोकर नै हो । यसर्थ ब्रोकर कम्पनीहरु बलियो, सक्षम र प्रविधियुक्त नभएसम्म बजारको विकास सम्भव नै छैन ।
अहिलेकै बजारमा दैनिक २०-२२ अर्वको कारोवार हुन थालिसकेको छ । एउटै ब्रोकर कम्पनीबाट नै अर्वभन्दा बढीको दैनिक कारोवार हुन थालिसकेको छ । भोलिका दिनमा दैनिक ५०-६० अर्वको कारोबार हुने निश्चित छ ।
यस्तोमा कुनै एउटा ब्रोकर कम्पनी डुब्यो भने के गर्ने ? एक दिनमा २-३ अर्वको सेयर किनेर त्यो ब्रोकरले राफसाफ गरिदिएन भने ? भाग्यो भने ? यसको जिम्मेवारी को हुन्छ ? बैंकले ब्रोकरलाई दिएको ऋण त एक दिनको राफसाफ रोकेर आफ्नै लोन सेटलमेन्ट गरिदिन सक्छ । तर, लगानीकर्ताको लगानीको जिम्मा कसले लिन्छ ? न इन्स्योरेन्स हुन्छ नत धरौटी नै रहन्छ ।
केही समय अगाडी ८ नम्बर ब्रोकर कम्पनी आशुतोष ब्रोकरेजको एकजना कर्मचारी भाग्दा कम्पनी नै लगभग डुबेको थियो । अलि सम्पन्न व्यक्ति नै ब्रोकरको साहुजी भएका कारण मात्रै उनले जिम्मा लिएर सबैको पैसा तिरिदिए । तिबाहेक अरु झोले ब्रोकर भएको भए ताला लगाएर हिंडथे होला । त्यस अगाडी ६ नम्बर ब्रोकरबाट नक्कली सेयरको कारोवार भएको र नक्कली सेयर नै धितो राखेर ऋण लिएको काण्ड घटेको थियो । त्यो काण्डमा ब्रोकर कम्पनी लगभग डुबिसकेको थियो । उसले पनि करोडौं रुपैयाँ आफ्नो खल्तीबाट तिरेर ब्रोकर कम्पनीलाई बचायो । यसर्थ २० लाख रुपैंया पूँजी राखेर एउटा व्यक्तिलाई दिएको सिमित लाइसेन्सले यति ठुलो बजार धान्न सक्ला भनेर कल्पना पनि गर्न हुन्न ।
ब्रोकरको पूँजी किन धेरै चाहिन्छ ? ब्रोकरहरु किन पब्लिक कम्पनी हुनुपर्छ ?
कुरा स्पष्ट छ । किन भने सेयर बजार आफैंमा जोखिमपूर्ण व्यापार हो । यो व्यवशाय बैंकहरुजस्तो स्ट्रङ रेगुलेटेड र सेक्यूर्ड पनि हैन । बैंकहरुको त दायित्व अनुसारको फण्ड हुन्छ र इन्स्योरेन्स पनि हुन्छ । यसका बिजनेसका सिमाहरु पनि तोकिएको हुन्छ । तर ब्रोकरको हुँदैन । अहिले पनि २ करोडको ब्रोकर र १५ करोडको ब्रोकरले गर्ने काम र अधिकार बराबरी छ । ब्रोकर कम्पनीको व्यवसायको अपरेशनल जोखिमको इन्स्योरेन्ससमेत गरिएको हुँदैन । तर पनि लगानीकर्ताले आफ्नो सारा सम्पत्ति विश्वासको आधारमा सुम्पेका हुन्छन् । यसमा एकजना व्यक्तिको स्वामित्वको कम्पनीलाई विश्वास गरेर भर पर्न सकिन्न ।
ब्रोकर कम्पनीहरु आफैंमा बलियो भए मात्र सेयर मार्केटको बिकास तिव्र गतिमा हुने हो । नत्र ब्रोकरकै कारण बजारको विकासमा अवरोध आउने निश्चित छ । आज ५ लाखको सेयरको लगानीकर्तासँग भोलि विहान राफसाफ गर्ने पैसा छैन भनेर रुँदै पैसा माग्ने ब्रोकरहरु रहुन्जेल बजारको विकास र विस्तार हुन सक्दैन । ब्रोकरले त लगाक्नीकर्तालाई उत्साहित बनाउँदै मार्जिन लेण्डिङ्ग दिने पो हो ।
अहिले २ करोड पूँजीको ब्रोकर कम्पनी हुँदा नै बैंकहरुले २० करोडसम्म चालु पूँजी कर्जा ओडीको रुपमा दिइरहेका छन । अवका दिनमा ६० करोडको ब्रोकर कम्पनी भयो भने उसले ३-४ अर्वसम्म सहजै कर्जा दिन्छ । यस्तोमा ब्रोकरहरुले पनि लगानीकर्तालाई सहजै ऋण दिनसक्ने अवस्था रहन्छ । पूँजीबजार भनेको पूँजी हुनेहरुकै बजार हो । पैसा हुनेहरु नै आउने हो । धेरै पैसा हुनेले कम्पनी खोल्छन, प्रविधि भित्र्याउछन र सेवा दिन्छन अनि बजार चलाउछन । थोरै पैसा हुनेहरु साना लगानीकर्ता बन्ने हो, म्यूचुअल फण्डतिर लाग्ने वा र पिएमएस सेवा लिने हो ।
तर अहिलेसम्म लोकसेवाले जस्तो ‘सहि उत्तरमा टिक चिन्ह लगाउनुस’ भन्ने प्रश्न सोधेर लोकसेवा तयारी गर्दै गरेका विद्यार्थीहरुलाई ब्रोकर लाइसेन्स दिएका कारण नै बजारको विकास पछि परेको हो । पूँजी नभएकाहरुको नियन्त्रणमा बजार रहने र पूँजी भएकाहरु चुपचाप अर्काको सिण्डिकेटमा भर परेर कुर्नुपरेका कारण यस्तो अवस्था देखिएको हो ।
अव ठुला व्यवसायिक घरानाहरु मार्केट मेकर र स्टक डिलरको रुपमा आउँछन् । उनीहरु सम्वद्ध कम्पनीहरु बल्ल त्यसपछि आइपिओ ल्याउँदै बजारमा भित्रन्छन । मानौं चौधरीले कुनै ब्रोकर कम्पनी र स्टक डिलरको लाइसेन्स लिए भने त्यसपछी पो उसलाई रस पस्छ अनि वाइवाइको आइपिओ निकाल्छ त । त्योसँगै सूर्य नेपाल अनि एनसेलको आइपिओ पनि आउला । जति ठुला व्यापारीक घरानाहरु वजारमा भित्रन्छन, वजारको विकास त्यति हुने हो । लगानीको सम्भावना र अवसर त्यतिकै खुल्ने हो ।
अहिलेको अवस्थामा ब्रोकरको सिण्डिकेट तथा कोटा सिस्टमका कारण राम्रा समूहले चाहेर पनि बजारमा उपस्थिति जनाउन सकेका छैनन् । ब्रोकर कम्पनीहरुले उनीहलाई त्यस लेभलको सर्भिस समेत दिन सकेका छैनन् । एउटा २० हजार भाडा तिरेको फ्ल्याटमा ५ जना कर्मचारी राखेर बसेको ब्रोकर कम्पनीले दिने सेवा र भोलिका दिनमा ६० करोड पूँजीसहित नयाँ टेक्नोलोजी लिएर आउने ब्रोकरले दिने सेवामा आकाश जमिनको फरक हुन्छ । ब्रोकर कम्पनी बलियो भएमात्र सेवामा विविधता दिन सक्ने हो । प्रविधिहरु भित्र्याउँदै बजारको विस्तारमा नयाँ आयाम ल्याउन सक्ने हो । यसर्थ पनि ब्रोकर व्यवसय होस्, वा स्टक डिलरमा होस्, ठुला घरानाहरु आउनैपर्छ ।
उनीहरुसँगै यस्ता व्यवसायमा बिदेशी लगानी पनि भित्र्याउन दिनुपर्छ । विदेशका अभ्यासहरुलाई हेर्दा पनि ब्रोकर लाइसेन्समा ओपन इन्ट्री, ओपन एक्जिटको व्यवस्था छ । कतिपय देशमा विदेशी लगानी पनि स्वीकार्य छ । साथै ब्रोकरहरुले नै आफ्नै पहलमा प्रविधीहरुको प्रयोग गर्दै लगानीकर्ताहरु थप्दै बजारको विस्तार गरिरहेका हुन्छन् । यसर्थ अहिले धितोपत्र बोर्डले जुन हिसावले ब्रोकर कम्पनीको लाइसेन्सको विषयमा अत्यन्तै दुरदर्शी निर्णय गरेको छ, त्यसका लागि आम लगानीकर्ताको तर्फवाट धेरैधेरै धन्यवाद दिनुपर्छ । अव तत्काल मन्त्रीपरिषदवाट पारित गरेर कार्यान्वयनमा लगेमात्र बोर्डलाई दिएको धन्यवादको सार्थकता रहन्छ । यसमा आम लगानीकर्ताहरुले धितोपत्र बोर्डलाई सहयोग र साथ दिन जरुरी छ ।
(लेखक आचार्य सेयर वजारसम्वधी अध्येता हुन् ।)