काठमाडौँ । कुनै बेला माओवादी भन्नेबित्तिकै कार्यकर्तामा एउटा उर्जा उत्पन्न हुन्थ्यो । धेरै ‘माओवादी’ कार्यकर्ताहरु ‘माओवादी हुँ’ भन्न गर्व गर्थे । समाजवादको बाटोमा अघि बढ्दै गर्दा सर्वहारा बर्गको मुक्तिका लागि लडिएको कठोर युद्धको परिणामले जन्माएको गणतन्त्रमा भुँईमान्छेहरुको कुरा सुनिन्छ र सरकार ‘जनता’को हुन्छ भन्ने थियो धेरैलाई ।र त कयौं मरे त्यहि युद्धमा, कति घाइते छन्, कति बेपत्ता छन् । तर माओवादीले सुरु गरेको यो अभियान यसरी पतनको बाटोमा लाग्यो कि अहिले जनताका लागि काम गर्नुपर्नेहरु सिमित व्यापारिक स्वार्थ्यका लागि काम गरिरहेका छन् ।
पछिल्लो समय सीसीटिभी फुटेज प्रकरण सतहमा छ । बजेटका बेलामा बाहिरिया मान्छे बोलाएर चलखेल गरी सिमित स्वार्थ्यका लागि अर्थमन्त्रीले अख्तियारीको दुरुपयोग गरेको तथ्य बाहिरिएपछि यस विषयमा आफ्नो सबुत प्रमाण पेश गर्नुपर्ने ठाउँमा सिसिटिभी फुटेज नै कानुनविपरित मन्त्रालयको रेकर्डमा नरहेको पाइयो । यसले जनार्दनमाथि मात्र होइन, विधिमाथि पनि प्रश्न गरेको छ । सिंहदरबारभित्र कुन हदसम्मको मनपरी हुन्छ र जनताको आँखामा छारो हालेर कुन हदसम्म सिमित स्वार्थी व्यवसायीहरुका लागि काम हुन्छ भन्ने तथ्य अव धेरैले बुझिसकेका छन् । भलै, अर्थमन्त्री शर्माले मात्र होइन, यसअघिका अर्थमन्त्रीले पनि त्यसो गरेनन् भन्ने ठाउँ छैन । र पनि जनार्दन यसपाली अलि बढी नै विवादमा तानिए । तानिनु स्वाभाविक पनि थियो । किनकि उनले नेतृत्व गरेको पार्टीको बिगत, कुनै स्वार्थ समूहलाई पोसेर जनता सोस्ने थिएन, होइन ।
क्रान्तिकारी इतिहासदेखि सामान्तवादी छविसम्म, निरन्तर धनार्जनको बाटोमा जनार्दन !
केहि समय अघिसम्म जनार्दन शर्मालाई गरिब नेताका रुपमा लिन्थे धेरैले । त्यहि भएर पनि होला, उनमा महत्वकांक्षा बढी पलाएको । पछिल्ला केहि बर्षहरु हेर्ने हो र त्यसमा पनि उनी सरकारमा पुगेका बेला हेर्ने हो भने उनका हरेकजसो निर्णय कुनै न कुनै स्वार्थ्य समूहसँग जोडिएको छ । यसपटकको बजेटमा त यो तथ्य यसरी छताछुल्ल भयो कि अव लाज छोप्ने ठाउँ कहींकतै पनि छैन । चौधरी समूह होस्, वा जगदम्बा समूह, उनले केहिलाई यसरी काखी च्यापे कि मानौं सरकार नै उनीहरुको मात्र हो, र जनता फगत भेडा हुन् । बजेटका बुँदा बुँदामा चलखेल भएको तथ्य बुझ्न अव गाह्रो छैन । यसै पनि जनताले बुझेका नै थिए, सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमै बुझाईदिए कहाँ कहाँ कसलाई फाइदा हुनेगरी अर्थमन्त्रीले बजेटमा चलखेल गरे भनेर । हुन पनि जनार्दनले बजेट नमज्जासँग चलाएको देखियो । बजेटका धेरै बुँदामा प्रश्न गर्ने ठाउँ रहे । आखिर किन यस्तो भयो ? उत्तर सरल छ- ‘चुनाव आउंदैछ, र पार्टीलाई पैसा चाहिएको छ। ‘
जनार्दनको बुद्धि कि प्रचण्डको प्रयोग ?
प्रचण्डले केहि समय अगाडी एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए- ‘अव त वडा अध्यक्ष लड्न पनि २० लाख लाग्ने भो, अनि हामीले चुनावमा कसरी राम्रो सिट ल्याउँछौँ। ‘ उनको सो अभिव्यक्तिमा उनले दलाल, पूँजीबादीहरुसँग चन्दा माग्नुपर्ने स्थिति आउने बताएका थिए । उनको अभिव्यक्तिपछि धेरैले त्यहि बेला नै अनुमान गरेका थिए, ‘माओवादी पार्टीसँग अव धेरै पैसा देखाउन मिल्नेगरी छैन, त्यसैले पैसा जोहोको आवश्यकता छ। त्यसैले पार्टी पैसा कलेक्सनमा लागेको चर्चा त्यतिबेला नै थियो । यसकारण पनि अर्थमन्त्री माओवादीले मागेको चर्चा पनि थियो त्यतिबेला । नभन्दै सर्वहारा बर्गका नेता भनिएका जनार्दन शर्मा अव धनार्जनको बाटोमा लागेछन् भन्ने तथ्य छर्लंग भयो । त्यो पार्टीको आवश्यकताले उनले जनतामाथि गरेको घात थियो वा उनले आफ्नालागि जनतालाई दिएको धोका थियो भन्ने तथ्य कुनै दिन अवश्य बाहिर आउला । तर जनार्दन शर्माले मात्र दोष पाए, पार्टीकै नीति अनुसार उनले पैसा संकलन गर्दै थिए भनेर कसैले बोल्यो भने उसको बोलीमा दम छ भन्ने ठाउँ पक्कै छ ।
नैतिकताको परिक्षा
हुन त जनार्दन मन्त्री भएपछि निश्चित स्वार्थ समूह भन्दा बढी कोहि पनि खुसी छैन । व्यापारी, उद्योगी, सेयर कारोबारी, सबै असन्तुष्ट छन् जनार्दन शर्मासँग । र उनीसँग खुसी हुनुपर्ने खास कारण पनि छैन । हुन त जनतालाई धोका दिनुअघि, व्यापारीलाई पोस्नु अघि पनि नेताले नैतिकता हेर्छ । त्यो नैतिकता नै अव शर्मामा रहेन भन्ने विश्लेषण पनि धेरैले गरेका छन् । ‘तर तथ्य यस्तो पनि हुन सक्छ कि, साच्चै १३ दिनसम्ममात्र सिसिटिभी फुटेज रहँदा उनी समस्यामा परेका हुन्’ भन्ने थोरै भनिदिने ठाउँ राख्नका लागि पनि उनले अर्थमन्त्रीबाट राजिनामा दिनैपर्छ । किनकि राजनीति लामो छ । एउटा अध्यायमा अड्केर बस्यो भने आउँदा बाटाहरु झन् कठिन हुनेछन् । त्यसैले अव जनार्दन शर्माले आफ्नो पदबाट राजिनामा दिएर सरकारी छानविनमा मौन सहयोग गर्नुको विकल्प छैन ।