Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंक १३ औँ वर्षमा प्रवेश, थुप्रै वित्तीय सूचकहरुमा उत्साहमुलक उपलब्धि

अर्थ सरोकार

काठमाडौं।  मेगा बैंक नेपाल लिमिटेड १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

‘आज भन्दा ठीक १३ वर्ष अगाडि १२ सय १९ जना संस्थापक सेयरधनीहरूको लगानीमा १४ जना संस्थापकहरू र ४ जनाको रणनीतिक समूहको अथक मेहनत र सहजीकरणमा बैंकको स्थापना भएको सन्दर्भ स्मरण गराउन चाहन्छु । जनताको घरदैलोमा बैंकको सेवा पुर्‍याई आममानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर परिचालित भएका हामीले तत्कालीन अवस्थामा सबैभन्दा बढी चुक्तापुँजी २ सय ३३ करोड भएको बैंक स्थापना गरेका थियौँ। लगानीकर्ताको विश्वास जित्दै सानो सानो पुँजीको लगानी र परिचालनबाट मेगा परियोजना संचालन गर्न सकिन्छ भन्ने उदाहरण मेगा बैंक हो’ अध्यक्ष शाहले भने ।

अध्यक्ष शाहले बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ वर्षको अवधि) मै कतिपय विधाहरूमा अग्रणी बैंकको रूपमा स्थापित हुन पुगेको बताए । विगतमा विभिन्न बैंकसँग मर्जर र एक्वीजिशनको सन्दर्भलाई जोड्दै उनले बैंकले स्थापित गरेका मान्यताहरूमा विचलन नआउनेमा विश्वस्त रहेको बताए।

मेगा बैंककी कायम मुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रूपमा स्थापित भएको बताइन्। कामु सिइओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताइन्। स्थापनाकालदेखि नै मेगा बैंकले सामाजिक उत्तरदायित्व बहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको बताइन्।

कामु सिइओ श्रेष्ठले भनिन् – ‘शिक्षामा बालिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्‍याउन र बैंकमै रोजगारीको अवसर सृजना गर्न हाम्रो बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई छात्रवृति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा संचालित पालिकामा मेगा बैंकलाई जनताको बैंकको रूपमा स्थापित गरेको छ भने मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको उनको भनाइ छ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको १२ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ। देशको २८ औँ बाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७ औं स्थानमा छ। २०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब र कुल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको छ। बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २ सय ८ शाखा संजाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्शन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK