×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ठेकेदार फ्रम चाइना, हिजोसम्म थियो, आज छैन’

काठमाडौं । नेपालमा निर्माणाधीन अधिकांश ठुला आयोजनाहरु विदेशी कम्पनीहरुकै नेतृत्वमा निर्माण हुँदैछन् । त्यसमा पनि नेपालमा चिनियाँ कम्पनीहरुको ठेक्का बढी नै ‘विवादित’ छ । विशेषगरी खानेपानी, हाईड्रो, बन्दरगाह, बहुउपयोगी बिल्डिङ्ग, जलविद्युत्, विमानस्थल, सञ्चार लगायतका आयोजनामा प्राय: चिनियाँ ठेकेदारहरुकै हैकम देखिन्छ । यसो त चीनले नेपालमा पठाउने अधिकांस सामान ‘कच्चा’ भए पनि निर्माणको कामचाहिं राम्रो गर्छन् भन्ने थियो केहि बर्षअघिसम्म पनि । तर पछिल्लो समय चिनियाँ कम्पनीहरु ‘काम फत्ते नगरी भाग्ने’ कम्पनीहरुमा अग्रस्थानमा पर्छन् । व्यापार सहजीकरणका लागि महत्वपूर्ण मानिएका नेपालका थुप्रै आयोजनाहरु पूरा नहुँदै चिनियाँ ठेकेदारहरु भाग्न थालेपछि चिनियाँ ठेकेदारहरुप्रतिको विश्वास त घट्दै गएको छ नै, यसले देशको समग्र बिकासमा पनि असर गरेको छ ।

चिनियाँ ठेकेदारका मनोमानीका केहि उदाहरण हेरौँ :

शिलन्यासपछि रोकियो दमकको औद्योगिक पार्क निर्माणको कामः
चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको दमकको औद्योगिक पार्कको निर्माणकार्य सुरु भएको अढाई वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । १ लाखभन्दा धेरैलाई रोजगारी दिने भन्दै चिनियाँ कम्पनीलाई जिम्मा लगाइएइको सो पार्क निर्माणको अवस्था शुन्यमा छ । २०७७ सालको अन्त्यमा सो औद्योगिक पार्कको शिलान्यास गरिएको थियो । तर अहिलेसम्म सो पार्कको काम सुरु समेत भएको छैन । २०७६ सालमा ६४ अर्ब ४१ करोड लगानी स्विकृत भएको सो र्पाकको कुल लागत तीन खर्ब रहेको छ । तर चिनियाँ कम्पनीको लापरवाही र ढिलासुस्तीका कारण योजना अलपत्र परेको छ ।

‘बुटवल–नारायणगढ’ सडकको ४ वर्षमा १८ प्रतिशत काम
संघिय राजधानी काठमाडौं पुग्नका लागि चार प्रदेश (सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी)का नागरिकले अधिकांश प्रयोग गर्ने सडक हो ‘बुटवल–नारायणगढ’ सडकखण्ड । तर पछिल्लो समय सो सडकमा यात्रा गर्नका लागि ठुलो साहस बोकेर यात्रा गर्नुपर्छ । खाल्डैखाल्डा र अत्याधिक धुँवाधुलोको कारण बर्खायाममा यो सडक प्राय बन्दजस्तै हुनेगर्छ । काठमाडौंसम्मको यात्रामा सबैभन्दा बढी जोखिम र ‘जाम’ हुने सडकखण्डका रुपमा पनि यही सडकखण्डलाई लिने गरिन्छ । २०७५ साल पुष महिनामा सो सडकअण्डको निर्माणको जिम्मा ‘चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन’ले पाएको थियो । ठेक्का सम्झौता भएर सोही वर्ष चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक विस्तारको शिलान्यास गरेको भएतापनि सडकको अवस्थमा भने उस्तै छ । हालसम्म कुल योजनाको १८ प्रतिशत मात्रै काम भएको छ । खाल्डैखाल्डा र धुँवाधुलो अत्याधिक भएको यो सडकखण्डमा भएको यो सडकमा यात्रुले धुलो र हिलोको सकस बेहोर्न परिरहेको छ । एसियाली विकास बैंक (एडीबी)को १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ ऋण सहयोगमा विस्तार भइरहेको यो सडक निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्तीले सडक निर्माणकार्यको सम्पन्नतामाथि नै प्रश्न उठाएको छ ।

‘चाईना कम्पनी’का दर्जनौ आयोजना अलपत्र
नेपालका अधिकांश सडक सञ्जाल विस्ताको जिम्मा चिनियाँ ठेकेदार कम्पनीहरुले पाएका छन् । जसमध्ये मुग्लिन पोखरा खण्डअन्तरगतको आँबुखैरेनी–जामुने पूर्वी उपखण्डको ४१.४५ किलोमिटर सडक, काठमाडौं–तराई–मधेश द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने अग्ला पुलहरु, स्याफ्रुबेसी–रसुवागढी सडक, भोटेकोसी जलविद्युत् आयोजना, त्रिशुली थ्री बी जलविद्युत आयोजना, सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना, भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण, तामाकोशी जलविद्युत् परियोजना, कानेखानी तेस्रो जलविद्युत् आयोजना, चमेलिया जलविद्युत् आयोजना, कलंकी–काटेश्वर चक्रपथ विस्तार लगायतका दर्जनौ आयोजनाहर चिनियाँ ठेकेदार कम्पनीकै लापरवाही र ढिलासुस्तीका कारण अलपत्र परेका छन् ।

यसभन्दा अगाडी पनि चिनीयाँ कम्पनीहरुको लापरवाही र ठेकेदारको मनोमानीका कारण आयोजनाहरु अलपत्र परेका थुप्रै उदाहरण देखिएका थिए । यद्यपी नेपालका ठुला भनिएका आयोजनाहरुमा यीनै चिनियाँ कम्पनीहरुको ‘हावी’ बढी छ । चारैतिर एकैपटक काम लिने तर प्रयाप्त कामदार नराख्दा आयोजनाको काममा ढिलासुस्ती हुँदै आएको तथ्यका बीच अहिले चिनियाँ ठेकेदारहरुले जानकारीबिनै ‘साइट’ छोड्ने गरेको गुनासो पनि बढ्न थालेको छ ।त्यस्तै चिनियाँ कम्पनी जेडटिई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनीले ठेक्का पाएको फोरजी विस्तारको परियोजनापनि अलपत्र परेको छ । यी दुई कम्पनीहरुले २०७५ सालमा देशभर नेपाल टेलिकमको फोरजी सेवा १२ महिनामै सक्ने गरी ठेक्का लिएको थियो । तर सम्झौता भएको यतिका समय बित्दापनि आयोजनाले पूर्णता भने पाउन सकेको छैन । यद्यपी समयमा काम नसेकेको र लापरवाही गरेको भन्दै अधिकांश चिनियाँ ठेकेदार कम्पनीहरु कालोसूचीमा समेत परिसकेका छन् ।

निरन्तर मनोमानी
हुनत व्यापारिक क्षेत्रसँगै निर्माणकार्यमा चिनियाँहरुको मनोमानीको उदाहरण प्रसस्तै छन् । तर ‘हामी नभए केही हुँदैन’ भन्ने शैलीमा चिनियाँ कम्पनी तथा ठेकेदारको मनोमानीले नेपालका आयोजनाहरुको भविष्यमाथि नै प्रश्न चिन्ह खडा गरेको छ । अहिले नेपालका ठुला भनिने अधिकांश आयोजनाहरुमा चिनियाँ ठेकेदारको उपस्थिति बाक्लो छ । यद्यपी ठेकेदारको यस्तो ‘रबैया’ले आयोजनाको सम्पन्नतामाथि कडा प्रहार गरेको छ । यसो त कोरोना महामारीका बीचमा नेपालमा कार्यरत चिनका थुप्रै ठेकेदार कम्पनीहरु फिर्ता गए । महामारीको कारण देखाउँदै झण्डै २ वर्ष बढी आयोजनाको काम ‘होल्ड’ गरेका चिनियाँ ठेकेदारहरु अहिले पनि जानकारी बिनै ‘साईट’ छोड्दै हिड्दै गरेका छन् ।

चिनियाँ ठेकेदारहरुको मनोमानीको यो पहिलो घटना भने होईन । यसभन्दा अगाडीपनि ठेक्का सम्झौता नसकिँदै काम छोडेर भागेका थुप्रै उदाहरणहरु छन् । बेला–बेलामा चिनियाँ ठेकेदारहरु सम्बन्धित निकायलाई जानकारी बिनै सम्पर्कबिहिन हुन्छन् । कहाँ गए ? कहिले आउँछन् ? कसैलाई केही थाहा नै हुँदैन । चिनियाँ ठेकेदार कम्पनीहरुको यही शैलीका कारण नेपालमा निर्माणाधिन धेरै संख्याका ठूला परियोजनाहरु समयमै नसकिने चिन्ता बढ्दै गएको छ । यसले चिनियाँ ठेकेदारप्रतिको विश्वास कम त हुँदै गएको छ नै समग्र निर्माण क्षेत्रमा छवि समेत धमिलो बन्दै गएको छ ।

चिनियाँ ठेकेदार कम्पनीहरुको मनोमानी एउटा आयोजनामा मात्र होइन प्राय अधिकांशमा उस्तै छ । काममा ढिलासुस्ती गर्नमा ‘माहिर’ रहेका चिनियाँ ठेकेदारहरु पछिल्लो समय त सम्बन्धित ‘साईट’ बाटै सम्पर्कबिहिन हुन थालेका छन् । यसो त नेपालका विभिन्न ठुला आयोजनाहरु निर्माणको जिम्मा चिनियाँ ठेकेदारहरुले पाएका छन् । तर समयमा काम नसक्दा एकातिर आयोजनाको लागत त बढ्ेको छ नै सम्पन्नताका सवालमा पनि चिन्ता थपिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: