काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ७४ अर्ब ८० करोड रुपैयाँ नाफा गरेका छन् । आर्थिक बर्ष २०७८-७९ मा बैंकहरुले यस्तो नाफा गरेका हुन् । बैंकहरुले गरेको यो नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक बर्षमा बैंकहरुले ६० अर्व ७४ करोड कुल नाफा कमाएका थिए । बैंकले जति कमाए पनि ती बैंकहरुले लाभांश दिएनन् भने सेयरधनीहरुलाई अर्को बर्ष कुर्नु कुर्नुबाहेक कुनै पनि खुसीको विषय हुँदैन । र त लाभांश क्षमताले बैंक कति बलियो छ भन्ने देखाउँछ भने दोश्रो बजारमा कुन सेयर किन्दा फाइदा हुन्छ भन्ने तथ्य पनि देखाउंछ । आज हामीले कुन बाणिज्य बैंकको कति लाभांश दिने क्षमता छ र बिगतमा ती बैंकहरुले कति लाभांश दिएका थिए भन्ने चार्ट प्रस्तुत गर्दैछौँ ।
१. नबिल बैंक लिमिटेड
लगानीकर्तालाई रिटर्न दिने मामलामा नबिल बैंक लिमिटेड सधैंजसो अब्बल देखिन्छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंकहरुमध्ये तेस्रो स्थानमा रहेको नबिल बैंक लिमिटेडले गतवर्ष ४ अर्ब ९७ करोडभन्दा बढी खुद नाफा कमाएको छ । समिक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब १२ करोडभन्दा बढी रहेको छ भने लाभांश क्षमता ३९.९४ प्रतिशत रहेको छ । बैंकले यसपटक ३५ देखि ३८ सम्म लाभांश दिने प्रक्षेपण गरिएका बेला बैंकको लाभांश क्षमताले पनि बैंक त्यसका लागि तयार रहेको देखाउँछ । हालै नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको बैंकको रिजर्ममा राम्रो रकम रहेकाले पनि बैंकलाई २५ देखि सम्म लाभांश दिन गाह्रो छैन । बैंक यसपटक ३८ औँ बर्षमा प्रवेश गरेकाले पनि बैंकले ३८ प्रतिशत लाभांश खुवाउँछ भन्ने चर्चा छ ।




सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १०.०३ प्रतिशत रहेको छ । तर यो बैंकले यतिको लाभांश खुवाउँछ भन्ने कुरामा सार्है शंका छ ।


गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंक लिमिटेडको वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गतवर्ष बैंकले २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने बैैकको लाभांश क्षमता १२.९५ प्रतिशत रहेको छ।

राम्रो बैंकका रुपमा ख्याती कमाएको तर पछिल्लो समय नाफा घटाएको सानिमा बैंक लिमिटेडले २ अर्ब २९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समिक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ भने बैंकले सेयरधनीहरुलाई १२.९७ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ । त्यस्तै बैंकको लाभांश क्षमता १०.८६ प्रतिशत रहेको छ ।















