काठमाडौँ । केहि समययता एनएमबि क्यापिटल नेपालको मर्चेन्ट बैंकिङ दुनियाँमा सार्है ‘विवादित’ बनेको छ । फरक क्षमता भएका व्यक्तिलाई जागिरबाट रोक लगाएको काण्डदेखि राज्यको सम्पत्तिमाथि दोहन गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्धा हालेका व्यक्ति नै अध्यक्ष भएको प्रकरणसम्म आइपुग्दा एनएमबि क्यापिटल विवाद नै विवादको ‘अखडा’ बनेको छ । अझ त्यसमाथि कम्पनीले ल्याएको नयाँ म्युचुअल फण्ड निष्कासन गर्दा कम्पनीले विज्ञापन खर्चको विवरण नै गलत बुझाएर धितोपत्र बोर्डलाई ठगेकोदेखिका प्रकरणले कम्पनीलाई झनै विवादित बनाएको छ । कम्पनी यतिसम्म विवादित बनेको छ कि, अहिले एनएमबि क्यापिटलका प्रोडक्टहरु लिन नै लगानीकर्ताहरु अनकनाईरहेका छन् ।
यसैको परिणाम, कम्पनीले सार्वजनिक गरेको नयाँ म्युचुअल फण्डका इकाईहरु समयमै सोचेजस्तो बिक्री भएको छैन । एनएमबि क्यापिटल दिनानुदिन विवादमा तानिंदा यो कम्पनीका सेवा लिनेहरु घटेका मात्र छैनन्, सेवा लिएकाहरुले पनि विकल्प खोजिरहेका छन् । फरक क्षमता भएका व्यक्तिहरुले त यो कम्पनी ‘बहिष्कार’झैँ गरेका छन् । यस्तो समयमा कम्पनीले निकालेको म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण नदेखिएपछि हामीले कम्पनीका सीइओसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कम्पनीका सीइओ दिपेश कुमार बैद्यसँग गरिएको कुराकानी संक्षेपमा :
१. तपाईंले निष्कासन गर्नुभएको म्युचुअल फण्डको इकाई १० रुपैयाँ हालेर किन्नुपर्छ, दोश्रो बजारमा ८-९ रुपैयाँमा म्युचुअल फण्डका इकाईहरु पाइन्छन्, तपाईंको फण्डमा गरिने लगानी त सिधै घाटाको बिजनेश भएन र ?
बजारमा ८-९ रुपैयाँमा म्युचुअल फण्डका इकाईहरु पाइने तथ्य सत्य हो । तर ‘भोलुम’मा किन्न ती इकाईहरु पाईदैन । हाम्रो म्युचुअल फण्ड जति किन्न पनि पाइन्छ । भोलुमकै कारणले यसको मुल्य बजारमा पाइने अन्य म्युचुअल फण्डभन्दा महँगो हुने गरेको सत्य हो ।
२. भनेको थोरै लगानी गर्नेहरुलेचाहिं यो घाटाको लगानीमा लगानी नगरे भयो ?
अँ ! मुख्य कुरा भोलुम नै हो । धेरै किन्न पाइने हुनाले अहिले म्युचुअल फण्डमा लगानी गर्ने हो ।
३. कतिपय त तपाईंले निष्कासन गर्नुभएको कम्पनीलाई पनि अरु कम्पनीको आईपीओ जस्तै सम्झेर झुक्किरहेका छन् नि ?
होइन, हामीले निष्कासन गरेको म्युचुअल फण्डको आईपीओ अरु कम्पनीको आईपीओजस्तो होइन । भन्नलाई आईपीओ नै भने पनि सामान्य रुपमा बुझिनेजस्तो आईपीओ यो होइन । त्यसैले पनि हामीले यसलाई म्युचुल फण्ड भन्दैनौँ, बरु यसलाई हामीहरुले ‘न्यु फण्ड अफरिङ’ भन्ने गरेका छौँ । यसमा लगानीकर्ताहरुले कम्पनीको सेयर किन्नुको सट्टा कम्पनीको मेनेजर छान्ने हो । वास्तविक म्युचुल फण्डले मल्टिपल कम्पनी किन्छ तर हामीले कम्पनी किन्दैनौ । अर्थात यो भनेको कलेक्टिभली व्यवस्थापन गरिदिने फण्ड मेनेजरको फण्ड अफरिङ्गमा सहभागिता हो । यसमा सहभागी हुने लगानीकर्ताले कम्पनीको सेयर किन्नका लागि होइन, आफ्नो फण्ड व्यवस्थापन गर्नका लागि पैसा तिर्छन् । र यसमा कम्पनीभन्दा पनि फण्ड व्यवस्थापन गर्ने मेनेजर कस्तो छ ? भनेर अध्ययन गरिन्छ । एउटा फण्ड मेनेजरको आफ्नो स्किमका लागि गरेको अफर हो यो ।
४. तपाईंहरुको कम्पनीमा त भ्रष्टाचार मुद्धा लागेका व्यक्ति नै अध्यक्ष हुनुहुन्छ, देशकै सम्पत्ति दोहन गर्ने व्यक्तिले लगानीकर्ताको पैसा खाईदिदैन भन्ने के ग्यारेन्टी छ ?
होइन, भ्रष्टाचार मुद्धा लागेको हामीलाई होइन, हाम्रो अध्यक्षलाई हो । बोर्डले हाम्रो काममा कुनै पनि हस्तक्षेप गर्दैन । त्यसैले हाम्रो कम्पनीमा लगानी गर्न रिस्क हुन्छ जस्तो मलाई लाग्दैन ।
५. बोर्डले हस्तक्षेप गर्यो भने नि ! देशका खानी नै दोहन गर्नेको नियत सहि छ भनेर कसरी विश्वास गर्ने ?
अँ ! त्यस्तो हुँदैन । हामी चल्ने भनेको म्यानेनमेन्टबाट हो । तपाईले जसरी भन्नुभयो, त्यो विषय अनेक विषयसँग जोडिएको विषय हो । बोर्डले गर्ने निर्णय वा काम र म्यानेजमेन्टले गर्ने काम वा निर्णयको तरिका नै फरक हुन्छ । खासमा यो एसेट म्यानेजमेन्ट भनेको पूर्णरुपमा व्यवसायिक व्यवस्थापक टिमले गर्ने काम हो । कम्पनीमा बोर्डको काम भनेको नीति तयार गर्ने र मार्गदर्शन गर्ने हो । तर दैनिक कारोबार र व्यवस्थापनको पाटो म्यानेजमेन्ट टिमले हेर्ने हुँदा बोर्डको हस्तक्षेप हुँदैन ।
६. तपाईंहरुले नयाँ म्युचुअल फण्डमा लगानी गर्दा धितोपत्र बोर्डलाई पठाएको खर्च सम्बन्धि विवरण नै गलत छ नि, यस्तो अपारदर्शी कम्पनी र तपाईंको व्यवस्थापनलाई कसरी विश्वास गर्ने ? यो त सरासर जनता र नियामकमाथिको ठगी भएन र ?
यो मेरा लागि पनि नयाँ कुरा भयो । काम गर्दैजाँदा केहि कमी कमजोरी भएका हुन सक्छन् । तर बजेटकै आधारमा सबै कुरा तय गरेको जस्तो लाग्छ । यस विषयमा म बुझौँला।
७. एक त धितोपत्र बोर्डलाई नै ढाट्ने काम भएको छ, अर्को तपाईंले गरेका खर्चहरु गलत ठाउँमा भएका छन्, निश्चित मान्छेलाई पोसेर म्युचुअल फण्डको खर्च बढाईएको छ, खर्च कहाँ र कसरी भयो र त्यसको रिटर्न के हुन्छ वा भयो भन्ने सामान्य मूल्यांकन पनि गर्नुभएको छैन, यो त तपाईंले गरेको भ्रष्टाचार भएन र ?
हेर्नुस्, बजारमा धेरै कुरा विश्वासले चल्छ, मैले कसैलाई काम दिने भनेको विश्वासकै भरमा हो । तर तपाईंले उठाउनुभएको विषय ठिक हो, मैले त्यो विश्वासमाथि घात भएको छ वा मैले गल्ती गरेको रहेछु भने त्यसको जिम्मेवार म हुनु नै पर्छ । जहाँसम्म खर्च गलत ठाउँमा गरियो वा सहि तरिकाले भएन भन्ने तपाईंको कुरा छ, यी कुराहरु मलाई नै नयाँ लागिरहेको छ । तपाईंले सुनाउनुभएका केहि घटनाक्रमहरुबारे म आफैं अनविज्ञ छु । म यस विषयमा बुझ्छु, केहि गलत काम भएको भए त्यसलाई सच्याउँछु ।
८. तर गल्ती गरिसक्ने, गल्ती गरुञ्जेल केहि नहेर्ने, अनि गल्ती गरिसकेपछि गल्ती भयो भन्दा त जनताको लगानी खेर गएन र ?
कहाँ-कहाँ गल्ती भएको छ, म हेर्छु । तपाईंले उठाउनुभएका धेरै विषय मेरा लागि नयाँ भए । तल टिमले कसरी हेरेको छ, म त्यो पनि बुझ्छु । नेपालमा त्यस्ता थुप्रै लगानीकर्ताहरु छन् जो स्टक मार्केटमा लगानी गर्न चाहन्छन् तर विविध कारणले सकिरहेका छैनन् । त्यस्ता लगानीकर्ताहरुका लागि लगानीका लागि म्युचअल फण्ड एउटा सजिलो तरिका हुनसक्छ । यो मार्केटलाई पनि कसरी स्थिर बनाउने, कसरी सुन्दर बनाउने, भन्ने विषय चिन्ताको विषय बनेको छ । हामीले यसमा काम गरिरहेको हो । काम गर्दागर्दै गल्ती भएको छ भने त्यसलाई सच्याउनुपर्छ।