×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकको ‘लुट’ : ग्राहकबाट गैरकानुनी रकम असुली, भन्छ -‘अबदेखि लिदैनौँ, लिएको शुल्क फिर्ता दिन सक्दैनौँ…’

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरुबाट नियमविपरित सि-आश्वा शुल्क असुल गरिरहेको पाइएको छ । नेपाल धितोपत्र बोर्डले सि–आस्वा शुल्कका विषयमा दिएको निर्देशन विपरित बैंकले आईपीओ भर्दा ग्राहकहरुसँग प्रचलित कानुनभन्दा प्रति आवेदन १५ रुपैयाँ बढी लिएर लुट मच्चाएको हो । बोर्डले मंगलबारदेखि नै कार्यान्वयनमा आउनेगरी सि–आस्वा शुल्कवापत बढीमा ५ रुपैयाँसम्म लिन पाउने र त्यसभन्दा बढी शुल्क लिन नपाइने जानकारी बैंकलाई गराईसकेको थियो । बोर्डको सर्कुलरपछि पनि बैंकले लगानीकर्ताबाट आस्वा शुल्कवापत २० रुपैयाँ असुली गरेको पाइएको हो ।

यता बैंकका सूचना अधिकारी सुनिल गोर्खालीले बैंकले बोर्डको निर्देशनका विषयमा जानकारी भए पनि औपचारिक रुपमा सर्कुलर आईनपुगेकाले आफुहरुले आश्वा शुल्कवापत २० रुपियाँ लिएको स्वीकार गरेका छन् । ‘सार्वजनिक सूचना त मंगलबार नै आएको हो, तर हामीलाई औपचारिक जानकारी भने आज (बिहिबार) मात्र आएको छ । अव आश्वा शुल्क बढीमा ५ रुपैयाँमात्र लिनेगरी व्यवस्था गर्दैछौँ ।’

उनले ग्राहकले तिरीसकेको रकम भने फिर्ता नहुने दाबी गरेका छन्। ‘अव कतिले भरेका हुन्छन्, एक एक गरेर हेर्न सकिन्न। त्यसैले तिरीसकेको रकम त फिर्ता हुन्न।’ अर्थ सरोकारसँग कुराकानी गर्दै गोर्खालीले भने – ‘अवदेखिचाहिं ५ रुपैयाँमात्र काटिन्छ ।’

उनले एक-एक गरी हेर्न नसकिने बताए पनि बैंकमा आईटी विभागमा काम गर्नेहरु भने यसलाई ठुलो विषय मान्दैनन् । ‘सबै रेकर्ड सिष्टममा हुन्छ । बढी लिएको रकम रिफण्ड गर्न मज्जाले मिल्छ। तर अव बैंकले के भन्छ वा के गर्छ, त्योचाहिं थाहा भएन। ‘ बैंकका आईटी विभागका एक अधिकारीले भने -‘बैंकले तिरौं मात्र भन्ने हो भने यो ५ मिनेटको काम हो।’

यसो त यता सानिमा बैंकलेसमेत आफुले उठाएको गैरकानुनी शुल्क फिर्ता गर्ने बताईसकेको छ । बोर्डको नियम विपरित आश्वा शुल्क लिएको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि बैंकका सीइओ निश्चलराज पाण्डेले ग्राहकले बढी तिरेको रकम फिर्ता गर्ने बताएका हुन् ।

यता धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले पनि गैरकानुनी रकम असुल गर्नेलाई ऐन बमोजिम कारवाही हुने बताएका छन् । आफुले बोलेको रेकर्ड कतै नबजाउन आग्रह गर्दै उनले यस्तो गलत काम गर्नेलाई कारवाही भने हुने बताएका छन् । यता धितोपत्र बोर्डमै पनि यो विषयले ठाउँ पाएको छ । आफ्नो निर्देशन अटेर गर्नेलाई एक पटक सम्झाउन र पनि नमाने आवश्यक कारवाही गर्ने विषयमा बोर्डमा छलफल भईरहेको बोर्डका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

‘हामीले एक पटक सम्झाउने, त्यति गर्दा पनि मानेनन् भने नियमअनुसार अगाडी बढ्ने भन्ने विषयमा छलफल गरेका छौँ । हामीले सूचना दिएको मितिदेखि नै सीआश्वा शुल्क बढीमा ५ रुपैयाँ हुनुपर्छ। बढी लिएकाले फिर्ता गर्नुपर्छ। ‘ अर्थ सरोकारसँग कुराकानी गर्दै ती अधिकारीले भने ।

धितोपत्र बोर्डको संचालक समितिले सीआश्वा शुल्क बढीमा ५ रुपैयाँ लिन पाउने निर्णय गरी सो निर्णयको जानकारी सबै बैंक तथा वित्तीय संस्थालाई दिईसकेको छ । यो निर्णय मंगलबारदेखि नै कार्यान्वयनमा आएको हो । अहिले एनआईसी एशिया बैंक, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक र कुमारी बैंकले यो सेवा नि:शुल्क दिइरहेका छन् भने अन्य बैंकले १० रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क लिईरहेका थिए । अझ स्ट्यान्डर्ड चार्टड बैंकले त यस्तो शुल्क १०० रुपैयाँसम्म लिने गरेको थियो । बोर्डको निर्णय अनुसार अब सी–आस्वा सेवा दिने बैंक तथा वित्तीय संस्थाले ५ रुपैयाँ भन्दा बढी शुल्क लिन पाउने छैनन् । बोर्डको यो निर्णयसंगै लगानीकर्ताले सामाजिक संजालमा बोर्ड अध्यक्ष रमेश कुमार हमाललाई धन्यवाद दिईरहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: