×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा बैंकको खुलेआम ‘ठगी’, नियामक धितोपत्र बोर्डको उर्दी विपरित असुल्यो ‘गैरकानुनी’ शुल्क ! (प्रमाणसहित)

काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्डको सर्कुलरलाई बेवास्ता गर्दै सानिमा बैंक लिमिटेडले सेयर लगानीकर्ताहरुलाई खुलेआम ठगी गरिरहेको पाइएको छ ।  नेपाल धितोपत्र बोर्डका अध्यक्षको विशेष पहलमा आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले लिने सी–आस्वा शुल्क बढीमा ५ रुपैयाँ कायम भएपनि सो व्यवस्थाको वेवास्ता गर्दै सानिमा बैंकले २० रुपैयाँ आश्वा शुल्क लिएर खुलेआम ठगी गरिरहेको पाइएको हो । बैंकले बुधबार आईपीओ भर्ने आफ्ना ग्राहकहरुबाट प्रति आवेदन २० रुपैयाँ सि-आश्वा शुल्क लिईरहेको छ । जव कि मंगलबार नै धितोपत्र बोर्डले सीआश्वा शुल्क बढीमा ५ रुपैयाँभन्दा बढी लिन नपाइने गरी सबै बैंकहरुलाई सूचना पठाईसकेको थियो । बोर्डको यहि सूचनालाई आधार बनाएर अन्य बैंकहरुले सि-आश्वा शुल्क घटाईसकेका छन् ।

लगानीकर्ताको रकम फिर्ता गर्नुपर्छ, नत्र कानुन बमोजिम हुन्छ : धितोपत्र बोर्ड 
यस विषयमा बुझ्न हामीले नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीसँग प्रतिक्रिया लिएका थियौं । सानिमा बैंकका सीइओको निकट व्यक्तिका रुपमा चिनिएका उनले यस विषयमा खुलेर बोल्न चाहेनन् । बरु उल्टै उनले आफ्नो फोन रेकर्ड नगर्न भन्दै अनकनाए । स्मरण रहोस्, उनी सर्वोत्तम सिमेन्ट प्रकरणमा समेत विवादमा तानिएका व्यक्ति हुन् । यद्यपी उनले गलत काम गर्नेलाई ऐनबमोजिम कारवाही हुने भने दाबी गरे । ‘गलत काम गर्नेलाई ऐन बमोजिम कारवाही हुन्छ । यस विषयमा हामी बुज्छौँ ।’ उनले भने ।
उनीबाट विस्तृत जानकारी नपाएपछि हामीले धितोपत्र बोर्डका अर्का एक उच्च अधिकारीलाई फोन गर्यौं । ती अधिकारीले भने सानिमा बैंकले गरेको काम गलत भएको दाबी गरेका छन् । ‘हामीले पनि सानिमा बैंकले सि-आश्वा शुल्कवापत तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्ने सूचना पाएका छौँ । यस विषयमा बैंकसँग हामी कुरा गर्छौँ । हुन त सहप्रवक्ताले नै खासै धेरै बोल्न नखोजेको विषयमा हामीले धेरै बोल्न मिल्दैन । तर केहि प्राविधिक विषय हुनसक्छ । नियमविपरित लिईएका शुल्क फिर्ता हुन्छ र हुनुपर्छ।’ बोर्डका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने -‘सानिमा बैंक यसअघि पनि अनावश्यक जान्ने पल्टिने, नियामकलाई नटेर्ने लगायतका गतिविधि गर्ने बैंक हो । तर यो मामलामा उसले छुट पाउँदैन । ढुक्क हुनुहोस्, यसरी असुल गरिएको गैरकानुनी शुल्क फिर्ता हुन्छ ।’
ती अधिकारीका अनुसार सानिमा बैंकले मात्र यसरी गैरकानुनी शुल्क असुल गरेको जानकारी प्राप्त भएको छ । ‘अरु सबैले हाम्रो नियम मानिसके । सानिमा बैंकले पनि मान्नुपर्छ । हामी आवश्यक संयोजन गर्छौँ । बुधबार उठाइएको गैरकानुनी शुल्क ढिलोमा शुक्रबारसम्म फिर्ता भईसक्छ । फिर्ता नभएको खण्डमा हामी कानुनी कार्वाही अगाडी बढाउँछौँ ।’ ती अधिकारीले भने -‘धितोपत्र बोर्डको नियम मान्दिन भन्नेलाई सीआश्वाको सेवा दिने छुट हुँदैन । यस विषयमा हामी गम्भीर छौँ ।’
के भन्छ बैंक ?
सानिमा बैंकले गैरकानुनी रुपमा सि-आश्वा शुल्क लिएको बारे प्रतिक्रिया लिन हामीले सानिमा बैंक लिमिटेडका सूचना अधिकारी एवम् डेपुटी सीइओ तेज बहादुर चन्दलाई फोन गरेका थियौँ । तर उनले हाम्रो फोन नै उठाएनन् । उनको फोन नउठेपछि हामीले सानिमा बैंक लिमिटेडको कार्यालयमा फोन गर्यौँ । जवाफमा त्यहाँका कर्मचारीले यस विषयमा आफुहरुलाई थाहा नभएको र धितोपत्र बोर्ड भनेको पनि आफुलाई थाहा नभएको अनौठो जवाफ दिए । ‘धितोपत्र बोर्डको नियम भनेको कस्तो ? धितोपत्र भनेको के हो ? हामीलाई थाहा छैन, सूचना अधिकारीलाई फोन गरेर सोध्नू न ल।’ हाम्रो फोन उठाएका कर्मचारीले भने ।
त्यहाँका कर्मचारीकोसमेत गतिलो जवाफ नआएपछि हामीले बैंकका सीइओ निश्चलराज पाण्डेलाई फोन गर्यौं । उनले लगानीकर्ताको रकम त्यसरी काटिएको भए गलत भएको र सो रकम रिफण्ड हुने बताए । ‘नियमनकारी निकायको निर्देशन हामीले मान्नुपर्छ । जस-जसको पैसा त्यसरी काटिएको छ, सबैको रिफण्ड हुन्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।
‘५ रुपैयाँभन्दा बढी शुल्क लिन पाइन्न’   
धितोपत्र बोर्डको संचालक समितिले सीआश्वा शुल्क बढीमा ५ रुपैयाँ लिन पाउने निर्णय गरी सो निर्णयको जानकारी सबै बैंक तथा वित्तीय संस्थालाई दिईसकेको छ । यो निर्णय मंगलबारदेखि नै कार्यान्वयनमा आएको हो । अहिले एनआईसी एशिया बैंक, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक र कुमारी बैंकले यो सेवा नि:शुल्क दिइरहेका छन् भने अन्य बैंकले १० रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क लिईरहेका थिए । अझ स्ट्यान्डर्ड चार्टड बैंकले त यस्तो शुल्क १०० रुपैयाँसम्म लिने गरेको थियो । बोर्डको निर्णय अनुसार अब सी–आस्वा सेवा दिने बैंक तथा वित्तीय संस्थाले ५ रुपैयाँ भन्दा बढी शुल्क लिन पाउने छैनन् । बोर्डको यो निर्णयसंगै लगानीकर्ताले सामाजिक संजालमा बोर्ड अध्यक्ष रमेश कुमार हमाललाई धन्यवाद दिईरहेका छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: