×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘२० बर्षे मुद्धती खातामा १० गुणा प्रतिफल, कति समय सापेक्ष र उपयुक्त छ ?’ शिव चन्द्रको विचार

हिजोआज बैंकहरुले तामझामका साथ नयाँ मुद्धती खाता सञ्चालनमा ल्याएर प्रचार–प्रसार गरेको पाइन्छ । जसमा २० बर्षमा १० गुणा प्रतिफलको ग्यारेन्टी गरिरहेका छन् । यस सन्दर्भमा मेरो व्यक्तिगत अनुभव र बुझाई प्रस्तुत गर्न गईरहेको छु ।

 सेयरमा लगानी
उदाहरणको रुपमा पहिलदेखिनै आफुले बैंकिङ कारोबार गरिरहेको र मनपर्ने बैंक नबिल बैंकलाई नै रोजें । आजभन्दा २० बर्ष पहिले सन् २००२ मा नबिल बैंकको चुक्ता पुँजी ४९ करोड १७ लाख थियो । त्यसको ठिक २० बर्ष पछी अहिले चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार पुगेको छ । यो अवधीमा सेयर संख्या ४९ लाख १७ हजारबाट बढेर १८ करोड ४९ लाख माथी पुगेको छ । (आ.व. २०७८÷८९ को तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार) जुन ३६६२ प्रतिशतको वृद्धि हो ।
सन् २००२ मा नबिल बैंकको बजार मुल्य प्रतिसेयर रु. १५०० को हाराहारीमा रहेको थियो । यदि त्यतिबेला कसैले रु. १०० कित्ता नबिल बैंकको सेयरमा १५०,००० रुपैयाँ लगानी गरेर अहिलेसम्म होल्ड गरेको भए अहिले उ सँग ३७६२ कित्ता सेयर हुने थियो । आजको बजार मुल्य रु ८१९.१७ अनुसार उसको सम्पत्ति रु ३,०८१७,१७.५४ हुने थियो । जुन २० गुणा भन्दा बढिको वृद्धि हो । (यो अवधीमा कम्पनीले वितरण गरेको नगद लाभांस समावेश गरिएको छैन ।) यो त भयो दोस्रो बजारबाट भएको वृद्धि । यदि कसैले नबिल बैंकको प्राथामिक निष्काशन र संस्थापक सेयरमा गरेको लगानीमा प्रतिफलको कुरा गर्ने हो भने त्यो अथाह नै हुन आउँछ ।

 घर जग्गामा लगानी
त्यस्तै अर्को सन्दर्भ जोड्न चाहें । आज भन्दा २० बर्ष अगाडी बानेश्वरस्थित बाटो, ढल, बिजुली र पानीको सुबिधा भएको राम्रो जग्गाको भाउ प्रतिआना ४ लाख रहेको थियो । अहिले उक्त जग्गाको भाउ एक करोड छ । त्यतिबेला त्यो ५ लाख मुद्धतिमा राखेको भए अहिले ४० लाख हात पर्दथ्यो र अहिले त्यो जग्गा खरिद गर्न अर्को ६० लाख थप गर्नुपर्ने हुन्छ । अझ यहाँ जग्गा उपभोगबाट २० बर्षमा हुने कमाई समावेश नै गरिएको छैन । यो हिसाबले जग्गामा गरिएको लगानी यो अवधीमा २५ गुनाले बढेको देखिन्छ ।

सुनमा लगानी
२० बर्ष पहिले सन् २००२ मा सुनको बजार मुल्य प्रति दश ग्रामको ८००० रुपैयाँ रहेको थियो । यसलाई पनि मैले २० बर्षे मुद्धतिसँग जोड्न चाहें । त्यतिबेला त्यो रकम १० गुना प्रतिफल आउने यस्तै प्रकारको मुद्धतिमा राखेको भए अहिले परिपक्क भएर हातमा रु ८०००० पर्दथ्यो । आजको दिनमा त्यही १० ग्राम सुनको बजार मुल्य ८२९९० रुपैयाँ रहेको छ । यहाँनेर पनि सुनले मुद्धतिलाई जितेको छ ।

आज भन्दा २२ बर्ष अगाडी एउटा प्राईभेट कम्पनिमा जागिर सुरु गर्दा मेरो सुरुवाति तलब रु.६४०० थियो । त्यतिबेला मासिक ६४०० रुपैयाँले मेरो कलेज खर्च, मनोरन्जन खर्च, घर खर्च गरेर बचत भएको धेर–थोर रकम सेयरमा समेत लगानी गर्दथें । तर अहिले मासिक एक लाख भन्दा बढी कमाई हुँदा पनि आफ्ना सम्पुर्ण आवश्यकताहरु पुरा गर्न धौ–धौ हुन्छ । जागिरबाट बचत भनेको त धेरै परको कुरा हो । धन्न, समयमै सेयर बजार छिरिएछ र समय सँगैका आवश्यकता पुरा गर्न सक्षम भएको छु भनेर चित्त बुझाईएको छ ।

माथिका उदाहरणहरुबाट प्रष्ट रुपमा के बुझ्न सकिन्छ भने, समयसँगै पैसाको क्रयशक्ति (purchasing power) घट्दो छ । जसको मुख्य कारण मुद्रास्फीति (inflation) हो । मुद्रास्फीति ती नेपालको मात्र नभएर बिश्व अर्थतन्त्र क्रोनिक रोग नै हो ।

 अन्त्यमा,
अहिलेको मुद्राको अहिले जुनशक्ती छ २० बर्ष पछिको १० गुनाको शक्ति त्यो समयको लागि कमजोर हुनसक्छ । तथापी २० बर्षमा १० गुणा प्रतिफलको स्किम नराम्रो भने होइन । सुन, घरजग्गा खरिद गर्न ठुलो रकमको आवश्यकता पर्दछ । सेयर बजारमा लगानी गर्न डराउने र सानो–सानो रकम भविष्यको लागि बचत गर्न चाहानेहरुका लागि यो स्किम प्रभावकारी हुनसक्छ । तर, तपाईंसँग ठुलो लगानी योग्य रकम छ र मुद्रास्फीतीसँग जुध्दै आफ्नो सम्पत्तीलाई बढाउन चाहनुहुन्छ भने घर जग्गा र राम्रा कम्पनीका सेयरहरु साथै सुनमा लगानी गर्नु उपयुक्त हुन्छ । संसारमा मुद्रास्फीतीसंग जुधेर जित हासिल गर्ने उपकरण भनेको लगानी हो । लगानीका सम्बन्धमा महत्वपूर्ण बिषय भनेको चाहिं सही समय, सम्बन्धित विषयको ज्ञान, छनौट र निर्णय नै हो ।

स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, यहाँहरुको सप्ताहन्त मस्तीले बितोस् । थैन्कु…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: