×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवमको ‘टोपी’को नालीबेली : जाँडपार्टीमा फुरेको आईडियापछि ११ करोडको स्टन्ट, प्रमोटरहरु सेयर बेचेर हिँडे, सोझाहरु फसे !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

शिवमको ‘टोपी’को नालीबेली : जाँडपार्टीमा फुरेको आईडियापछि ११ करोडको स्टन्ट, प्रमोटरहरु सेयर बेचेर हिँडे, सोझाहरु फसे !

काठमाडौँ । जव चोर र पुलिस नै मिल्छन्, तव चोरले चोर्न छोड्ने कुरै भएन । जव चोर र पुलिस मिल्छन्, तव पुलिसले चोरले चोर्दा समाउने कुरै भएन । जव चोर र पुलिस मिल्छन् चोरले चोर्ने, र पुलिसले नदेखेजस्तो गर्ने हो । हदै भयो, लाजै भयो, खुलेआम नै चोरी हुन थाल्यो भने बचेको अलिकति लाज जोगाउन पुलिसले चोरलाई समाएजस्तो गर्ने हो, र भित्रभित्रै मिलेर फेरी चोरलाई सफाई दिने हो । अनि यसरी चोर चोरिरहन्छ, पुलिसले कमाईरहन्छ । नेपाली सेयर बजारमा पनि त्यस्तै चोर पुलिसको लुकामारी भईरहन्छ । इनसाइडर ट्रेडिङ गर्न पल्किएका चोरहरु र आफुलाई पुलिस दाबी गर्ने फुलिसहरुको झुण्ड नेपाल धितोपत्र बोर्ड ती चोरहरुको चर्तिकला हेरेर मात्र बस्दैन, बरु उनीहरुसंगै नै मिलिदिन्छ । अनि त जति मनपरी गरे पनि टाईटाई फिस । सोझा लगानीकर्ता फसेको फस्यै, ठुलाले कमाएको कमाई । केहि समय अगाडी सीइडीबीमा भएको पनि त्यहि हो, त्यसभन्दा अधि अजोड इन्स्योरेन्समा भएको पनि त्यहि हो । खुलेआम इन्साईडर ट्रेडिङ हुँदा पनि धितोपत्र बोर्डले देखेको नदेख्यै गरेपछि बजारका माफियाहरु सलबलाएका छन् । कानुनको छिद्र प्रयोग गरेर आफुले कमाएका छन्, सानालाई टोपी लगाईदिएका छन् ।
नेपाली सेयर बजारमा सबैजसो कम्पनीमा इन्साइडर ट्रेडिङ हुन्छ । सुन्दा नमिठो तर तीतो सत्य यहि हो । तर लाजै पचाएर, खुलेआम लुट मच्चाउनेहरुले मनपरी गर्दा पनि नियामक चुप लाग्नुलाई भने स्वाभाविक मान्न सकिदैन । यसपाली शिवम सिमेन्टमा पनि यस्तै भयो । प्रमोटरको लकइन पिरियड खुल्ने बेलामा कम्पनीको हालत अस्ति भन्दा हिजो खराब, हिजो भन्दा आज खराब भएपछि अनावश्यक मिडियाबाजी गरेर, कम्पनीले साना लगानीकर्तालाई मुर्गा मात्र बनाएन बरु, ठुला प्रमोटरहरुले कम्पनीलाई जवर्जस्ती राम्रो छ भन्ने गलत हल्ला फिजाएर मनपरी गरे, र आफुले टन्न पैसा बनाएर कम्पनीको सेयर बेचे । फस्ने भनेको साना नै थिए, यसपाली पनि साना नै भए । प्रमोटरहरुले १७०० देखि ११०० सम्म सेयर बेचे, नयाँहरु फसे । अहिले यो कम्पनीको सेयर मूल्य ७०० रुपैयाँ हाराहारी छ । अझै कति तल आउने हो थाहा छैन ।
२०७८ फागुन २२ गतेबाट प्रमोटर सेयरकोको लकइन पिरियड खुला भयो । २०७५ फागुन २२ मा बाँडफांड भएको कम्पनीको सेयर ३ वर्षको लकीङ पिरियडपछि  २०७८ फागुन २२ बाट कम्पनीको सो सेयर कारोबारयोग्य भएको थियो। लकइन  पिरियड खुलेको पहिलो दिन नै कम्पनीको शेयर मूल्य ७.११ प्रतिशतले घटेर १०८५ रुपैयाँ कायम भएको थियो । आजको सेयर मूल्य हेर्दा लकइन पिरियड खुलेको दिनको तुलनामा कम्पनीको शेयर मूल्य झन्डै ३७ प्रतिशतले प्रतिशतले घटिसकेको छ । यस बीचमा कम्पनीका प्रमोटरहरुले ३० लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेर बाहिरिसकेका छन् ।
यसरी सुरु भयो सेयर बेचेर हिड्ने योजना 
गत बर्ष लकइन पिरियड सकिंदै गर्दा शिवमका प्रमोटरले बढी मूल्यमा सेयर बेचेर योजना सुरु भईसकेको थियो । कसरी हुन्छ बजार मूल्य माथि लैजाने र आफु बेच्ने दाउमा थिए कम्पनीका ठुला प्रमोटर । सेयर त बेच्ने, तर कम्पनी झुर छ भन्ने धेरैलाई थाहा थियो र उनीहरु कसरी हुन्छ कम्पनी राम्रो छ भन्ने देखाएर आफु कम्पनीबाट बाहिरिन चाहान्थे । यहि बीच प्रमोटरहरुले एक दिन काठमाडौँमा भएको भीआईपी जाँडपार्टीमा एउटा आईडिया फुराए, ११ करोड बोरा सिमेन्ट बिक्री भयो भनेर मिडियामा बजाईदिउँ, अनि कम्पनी त बबालै रहेछ नि भनेर देखाईदिउँ । अनि सानाले यहि लोभका सेयर किन्छन्, हामी बेचेर भागौं । अरु बेला कम्पनीले विज्ञापनमार्फत ठुलो र छुट्टै बजेट छुट्याउँथ्यो । यसपाली कम्पनीले त्यसो गरेन । बार्षिक बजेटमा जहाँ जहाँ शिवम सिमेन्टका अन्य खालका विज्ञापन बजिरहेका थिए, सबैतिर कम्पनीले ११ करोड बोरा सिमेन्ट बेच्यो भनेर हौवा पिटाउन थालियो । जवकि कम्पनी खुलेदेखि अहिलेसम्म त्यति सिमेन्ट बेच्नु ठुलो कुरा थिएन ।
बजारमा मात्र १५ दिन यसरी मिडियाबाजी गर्ने योजना थियो कम्पनीको । सोहि अनुसार सबै व्यवस्था मिलाईयो र बजारमा बिज्ञापन गरियो । यहि बीचमा मिडियाहरु प्रयोग भए । कतिपय मिडियाहरुले त ओहो ११ करोड सिमेन्ट बिक्री भएछ भनेर नजानेर नै पनि कम्पनीको मिडिया स्टन्टलाई साथ दिए । तर कम्पनीलाई बजारमा सानालाई सेयर भिडाउनु थियो । र अन्तत, भयो त्यस्तै ११ करोड सिमेन्ट बेचेको कम्पनीको नाफा यसपाली पनि गज्जब आउने भयो भनेर शिवम सिमेन्ट किन्न थाले लगानीकर्ताहरु ।
प्रमोटरहरु धमाधम बेच्दै थिए, सनाहरु किन्दै थिए !
यो बीचमा शिवमका प्रमोटरहरुले झन् बढी चलाखी गरे । केहि दिन बजारमा सप्लाईमात्र आउँदा आफ्नो योजना तुहिने डरले उनीहरुले सेयरको म्याचिङ गराए । आफैं किन्ने, आफैं बेच्ने गर्न थाले उनीहरु । कम्पनीको कारोबार उच्च हुनु, बिक्री भएका सेयर सबै किनिनु, अनि बाहिर ११ करोड बोरा सिमेन्ट बेचेको हौवा पिटिनु एकैपटक भएपछि साना लगानीकर्ताले रेल नै छुट्ला जसरी जतिमा पाइन्छ त्यतिमा यो सेयर किन्दै गए । बायर्सहरु आउन थालेपछि कम्पनीका प्रमोटरहरुले म्याचिङ गर्न छोडे र सेयर बेच्न थाले । केहि दिनअघिसम्म सबै सेयर बजारले पचाईसकेको देखेका लगानीकर्ताले यो सेयरमा पैसा हाल्न छोडेनन् । सानाले किन्दै गए, ठुलाले बेच्दै गए ।
तर यो बीचमा कम्पनीको हालत खराब भईसकेको थियो । कम्पनीको आम्दानी नमज्जाले खस्किसकेको थियो भने कम्पनीको उत्पादनको स्थिति पनि बिजोग थियो । परिणामस्वरुप कम्पनीको वित्तीय विवरण एकदम कमजोर आउने पक्का थियो । र अन्तत, त्यस्तै भयो । कम्पनीको वित्तीय विवरण यतिसम्म झुर आयो कि कम्पनीले ११ करोडको चारो छरेर साना लगानीकर्ताहरुलाई कसरी ‘टोपी’ लगाएको रहेछ भन्ने पुष्टी भयो । प्रमोटरहरुले सुरुमै वित्तीय विवरणबारे जानकारी लिएर सानालाई सेयर भिडाएर हिँडे । सानाले शिवमको वित्तीय विवरण सार्वजनिक भएको दिन ‘टोपी दिबस’ मनाए ।
पछिल्लो तथ्यांकले स्पष्ट पार्छ- १३ लाख बढी कित्ता सेयर दुईवटा ब्रोकरबाट मात्रै बिक्री भएको छ । ब्रोकर नं. २८ बाट ८ लाख ४४ हजारभन्दा बढी कित्ता र नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) बाट ४ लाख ५३ हजार कित्ता सेयर बेचेको पाइएको छ । शिवम भित्र के के न चलिरहेको छ भनेर पैसा हाल्नेहरुलाई प्रमोटरले नमज्जासँग सेयर भिडाईदिएका छन्। अझै पनि थुप्रो सेयर बेच्न शिवमका प्रमोटरहरु लागिरहेका छन् । सेयर बेचिएको आधिकांस पैसा विदेशिएको शंका गरिएको छ ।  र शिवममा फसेकाहरु टाउकोमा हात राखेर बस्न बाध्य भएका छन् ।
सेयर बेच्न संचालकको राजिनामा ! को-को छन् प्रमोटर ?
कम्पनीका संचालकहरुले समेत सेयर बेच्नकै लागि राजिनामा दिन थालेका छन् । घरायसी कारण देखाउदै पालैपालो संचालकबाट बाहिरिदै उनीहरु सेयर बेचिरहेका छन् । कम्पनीको संचालकले सेयर बेच्न नपाउने नियम भएकाले उनीहरु संचालक पदबाट बाहिरिएर सेयर बेच्न लागिपरेका छन् । पछिल्लो समय कम्पनीका संचालक सन्दिप कुमार शारदाले राजिनामा दिएका छन् भने उनका ठाउँमा गौरव कुमार शारदा आएका छन् । हुन त हाम्रो देशमा नियम कानुन ठुलालाई लाग्दैन । शिवमका संचालकले पदमै हुँदा पनि सेयर बेचे कि भन्ने शंका पनि छ । तर यसअघि पनि थुप्रै कम्पनीमा त्यसरी सेयरको कारोबार हुँदा पनि धितोपत्र बोर्डले केहि पनि नगरेका हुनाले यसपाली शिवममा त्यस्तो भएको भए पनि कसैले पनि शिवमका संचालकलाई कारवाही नगर्ने निश्चित छ।
आईपिओ निष्काशन गर्दा कम्पनीले सार्वजनिक गरेको विवरणपत्र अनुसार कम्पनीको प्रमोटरहरुमा सुरेन्द्र कुमार गोयल, रघुनन्दन मारु, सन्दिप कुमार शारदा, अमित मोर, रोहित गुप्ता, निवाश शारदा, राधेश्याम शारदा, पवन कुमार शारदा, अन्जनी नन्दन मारु, पुनम गोयल, श्रवण कुमार मोर, राजकुमार मोर ,राजेन्द्र प्रसाद मुन्दडा, देवकिशन मुन्दडा, बेनि गोपाल मुन्दडा, नन्द किशोर मुन्दडा, साक्षी कुमारी भिमसरीय, वनोद कुमार भिमसरीया, प्रभा भिमसरीया (गोयन्का) र सुशिल गुप्ता रहेका छन् । यी प्रमोटरहरुमध्ये अधिकांस एकाघर भित्रैका र पारिवारिक नाता पर्नेहरु छन् । अर्थात एउटा टिमले साना लगानीकर्ताको ठुलो संख्यालाई सेयर भिडाएका छन्।
भित्री कारोबार हुँदा पनि भएको प्रमाण भेटिन्न,  समस्या कहाँ हो ?
समस्या कानुनमा छ । अर्थात एकैपटक कम्पनीलाई लकइन पिरियड खोल्न दिन मिल्ने कानुनकै कारण प्रमोटरहरु महँगो मूल्यमा सेयर बेचेर हिड्ने र साना फस्ने गरिरहेका छन् । प्रमोटर भएपछि कुनै न कुनै माध्यमबाट उनीहरुले सबै इन्फर्मेसन लिईनै हाल्छन् । खुलेआम भित्री कारोबार हुँदा पनि भित्री कारोबार भयो भन्न सकिने अवस्था हुँदैन । भयो भने पनि धितोपत्र बोर्डले उनीहरुलाई केहि रकमको लेनदेनमा छोडीहाल्छ । र त अजोड इन्स्योरेन्स लगायतका प्रकरणमा पनि धितोपत्र बोर्डले कसैलाई कारवाही गरेन । बरु ३ करोडमा कुरा मिलेको चर्चा बाहिर आयो ।  इन्साइडर ट्रेडिङका घटना बढेपछी अहिले धितोपत्र बोर्डले छुट्टै  छुट्टै सर्भिलेन्स डिपार्टमेन्ट खोलेको छ । तर सो विभागको काम पनि कहाँ गल्ती भयो भनेर हेर्ने भन्दा पनि प्रतिवेदन लुकाउने र सेटिङ गर्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: