×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकभित्र ‘टिकटक-क्रेज’को प्रभाव : टिकटकमा ध्यान बढ्दा भदौको चेक साउनमै साटियो, ग्राहकको गोपनियतामाथि ‘मजाक’

टिकटक । आजकल मनोरन्जन माध्यममात्र होइन, सिकाईको थलोसमेत बनेको छ । रमाइलो गर्न टिकटक, केहि नयाँ कुरा थाहा पाउन टिकटक, समाचार सुन्न / हेर्न टिकटक, खाना बनाउन सिक्न टिकटक । यतिसम्मकि कुनै बस्तु वा सेवाको प्रचारका लागिसमेत सबैभन्दा राम्रो माध्यम बनेको छ टिकटक । तर त्यहि टिकटक धेरैको काल पनि बनेको छ । यहि टिकटकका कारण अप्रिय घटनासमेत बढेका छन् । ‘भाइरल’ हुने बाहाना र चाहानामा नेपालीहरुले गर्ने केहि हर्कतले पनि टिकटकको दुरुपयोग भएको छ । टिकटकको दुरुपयोग बढेपछि अहिले धेरै पर्यटकीय स्थल, धार्मिक स्थलहरुमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ । पशुपति क्षेत्रमा टिकटक बनाउन लगाइएको रोक, त्यसैको पछिल्लो ज्वलन्त उदाहरण हो ।

बैंकमा टिकटक बनाउनेहरु बढेका छन् । यसो त कामको प्रेसर कम गर्न, रमाइलो गर्न टिकटक बनाउनु अन्यथा कुरा हुँदै होइन । तर टिकटक बनाउने नाममा बैंकरहरुले जोशमा होस् गुमाउँदा पछिल्लो समय बैंकहरुमा ग्राहकमाथि अन्याय भएको छ, बैंकको समय बर्बादीमात्र भएको छैन, केहि टिकटकर बैंकरका रबैयाले ग्राहकहरु वाक्क दिक्क भईसकेका छन् ।

ग्राहकको गोपनियतामा ‘मजाक’ !
घटना काठमाडौँकै हो । काठमाडौँस्थित एक बाणिज्य बैंकमा बैंकका कर्मचारीले कर्मचारीले टिकटक बनाउने क्रममा ग्राहकको अनलाइन बैंकिङका लागि भर्न दिएको फर्म नै टिकटकमा छताछुल्ल भयो । सो फर्ममा ग्राहकले आफ्नो सम्भावित पासवर्ड पनि उल्लेख गरेका छन् । ग्राहकको यति महत्वपूर्ण विवरण टिकटकमा छताछुल्ल भएपछि ती ग्राहक प्रहरीमा जाने चेतावनी दिंदै बैंकमा ‘यस्तो किन गरेको ?’ भन्दै गाली गर्न पुगे । गल्ती बैंकरकै थियो । र त सो ब्रान्चका ब्रान्च मेनेजरले कर्मचारीका तर्फबाट माफी मागे र फ्रन्ट डेस्कमा बस्ने ती कर्मचारीलाई टिकटक हटाउन लगाए।

यो त प्रतिनिधि घटनामात्र हो, यसरि टिकटकका नाममा ग्राहकको गोपनियताको मजाक उडाईएका घटनाहरु धेरै छन् । यतिसम्म कि बैंकका निकै संवेदनशील डकुमेन्टहरु टिकटकमा देखाएर दर्जनौं भिडियोहरु बनाइएका छन् ।कतिपय बैंकहरुले ‘त्यसो नगर्न’ आफ्ना स्टाफहरुलाई चेतावनीसमेत दिएका छन् । तर सबै बैंकहरु यो विषयमा संवेदनशील नहुँदा ग्राहकको गोपनियतामा बैंकरहरुको मजाक रोकिएको छैन ।

ध्यानजति टिकटकमा हुँदा पैसा नभएको खाताबाट भुक्तानी, ‘क्यास सर्ट’का घटना बढे !
यो घटना पनि काठमाडौँको हो ।
‘नयाँ बेहुली मेकअप गरी चुईगम पट्याक, पट्याक !
भोलिपल्ट मुख धुँदा बुडो सेण्टीफल्याट !!
तेरो बाउ नक्कले, मेरो बाउ तक्कले…

केदार घिमिरे ‘माग्ने बुढा’को यो प्रस्तुतीमा टिकटक बनाउँदै थिए एक बाणिज्य बैंककमा काम गर्ने सुधा (नाम परिवर्तन) ।  बैंकको टेलरमा रहेका नोटहरु गन्दै, माग्ने बुढाको नक्कल गरी टिकटक बनाउँदै गर्दा अरु साथीहरु पनि त्यसैमा रमाउन थाले । पालैपालो केहि कर्मचारीले टिकटक बनाए । यतिबेला दिउँसोको त्यस्तै २ बजेको थियो । ग्राहक नभएको मौकामा टिकटक त बनाइयो, तर पैसा चलाउँदा चलाउँदै २ वटा नोट नै कता खस्यो कता, बेलुकी ‘क्यास सर्ट’ भयो । कर्मचारीले सिसिटिभी पनि हेरे, तर त्यो नोट ठ्याक्कै कता गयो भन्ने पत्ता लागेन । ‘माथि’ खबर गरौँ भने, आफैंले कार्यालय समयमा टिकटक बनाएको छ, भन्ने कुरै भएन । अन्तिमममा सबै मिलेर पैसा हाल्ने सहमति भयो ।

अहिले टिकटककै कारण क्यास सर्टका घटना बढेका छन् । कतिपय बैंकरहरुले ध्यानजति टिकटकको फलोअर्स र लाइकमा दिंदा यस्ता घटना बढेका हुन् । अझ कतिपय कर्मचारीले त कम्प्युटरको साइडमा आफ्नो मोबाइलमा टिकटकका लाइक ‘चेक’ गर्दै, साइडमा सिष्टम चलाउँदै गरेको पनि पाइएको छ ।

यस्तै भयो सानिमा बैंकको एक साखामा पनि । बैंकका कर्मचारी साइडमा टिकटकको फलोअर्स चेक गर्दै साइडमा आफ्नो सिष्टम चलाउँदै थिए । काम गर्दै जाँदा भोलिपल्ट मात्र थाहा भयो कि एक ग्राहकको बाउन्स हुनुपर्ने चेकबाट भुक्तानी भएछ । पछि यो केस सामसुम पारेर मिलाइयो । काममै टिकटक चलाउँदा ‘दुर्घटना’ भएको भन्दै मेनेजरले सो शाखामा टिकटक चलाउन नै निषेध गरिदिए । घटना एक कान, दुईकान, मैदान भएपछि अहिले ती कर्मचारी बैंक परिवर्तन गर्न जागिर खोजिरहेकी छिन् ।

भदौको चेक, साउनमै भुक्तानी !
यो केस एनआईसी एशिया बैंकको हो । एक ग्राहकले भदौ २४ को चेक काटेर दिएका थिए एउटा पाटीलाई । तर सो चेक साउन २४ गते नै भुक्तानी भयो । व्यवहार मिलाउन एक महिनापछिको चेक दिएका ग्राहकले आफुले दिएको चेक १ महिना अघि नै साटिएपछि बैंकमा गएर प्रश्न गरे । पछि बुझ्दा पो थाहा भयो, बैंकका कर्मचारी टिकटकमा व्यस्त रहेछन् । यो केस अझै सल्टिएको छैन । ग्राहक मिडियासम्म पुगेका छन् । बैंकले भुक्तानी दिईसकेको छ ।

पछिल्लो १ वर्षयता टिकटक प्रयोगकर्ताको संख्या थामिनसक्नु बढेको छ । टिकटकको लोकप्रियताकै कारण यसमा झुम्मिनेहरुको संख्या पनि बढ्दो छ । सुरुवातमा रमाइलो र सूचना प्रवाहको पृथक माध्यमका रुपमा स्थापित भएको टिकटक आजभोली भने विकृतिको सागर बन्दै गएको छ । बैंकरहरु, बैंकर कम, टिकटकर बढी बन्दा समस्या निम्तिएको छ ।

ब्राण्डको बदनाम गर्दै बैंकर !
एउटा अमुक बैंकको कार्ड भिरेर टिकटक बन्छ- ‘जागिर त छ नि, पैसा छैन’
अर्को त्यस्तै टिकटक बन्छ बैंकको कार्ड भिरेर, दुई बैंकरहरु बैंककै कार्यकक्षमा मस्किन्छन्- ‘तिमी नै हौ जीवन मेरो…!’ साइडमा ग्राहक कामको पालो कुरिरहेका हुन्छन् । कतिपय बैंकरहरुले त बैंकको जागिर सार्है प्रेसरको जागिर भयो भन्दै टिकटकमा खुलेआम बैंकको कार्ड भिरेरै ‘फ्रस्टेसन्’ ओकलीरहेका देखिन्छन् । बोनस सम्झेर मात्र बैंकको जागिर खाएको आशयको टिकटकले बैंकले कर्मचारीहरुलाई पेलानमा राखेको सन्देश बाहिर गएको छ । कतिपयले खुलेआम नै काममा लापरवाही गरेको तथ्य टिकटकमार्फत पोखिरहेका छन्।

यसले बैंकको ब्राण्ड र सेवाको गुणस्तरमा नमज्जाको धक्का लागेको छ । कामजति पेण्डिङ राखेर बैंकका कर्मचारीहरुले टिकटकलाई एउटा सेडुलमैसमेत राखेको पाइएको छ ।

यसरी बैंकका कर्मचारी कामै छोडेर टिकटकममा झुम्मिदा ग्राहकहरु समस्यामा परेको गुनासो गर्छन् ।

‘बैंक पनि मालपोत जस्तै भएछ । कामधाम गर्नु छैन, कहिले के कहिले के ! सब टिकटकमा ब्यस्त छन्, कसले गरोस् काम !’ सानिमा बैंकको एक साखामा पुगेका सेवाग्राही बुधबार कराउँदै थिए – ‘टिकटक बनाउन त घरमै बनाउनु नि ! किन जागिर खानु ?’

कर्मचारीहरु लाजै पचाएर खासखुस गर्दै थिए- ‘घरमा बसेर पैसा आउँदैन अङ्कल !’ अपरेशन इन्चार्ज मुसुमुसु हाँस्दै थिए।

टिकटकले यतिसम्म बानी बिगारेको छ कि कतिपय बैंकमा त टिकटक बनाउने भनेर कार्यालय नै छिटो छिटो बन्द गर्ने क्रम बढेको छ ।

राष्ट्र बैंकमा प्रतिबन्ध छ टिकटक !
यसो त टिकटकको यो विकृति बारे जानकार नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई टिकटक बनाउन रोक नै लगाएको छ । यस विषयमा राष्ट्र बैंकले आन्तरिक परिपत्र नै जारी गरेर टिकटक बनाउन रोक लगाएको हो । राष्ट्र बैंककाअनुसार केहि कर्मचारीहरुले राष्ट्र बैंक कर्मचारी सेवा विनियामावली-२०६८ मा उल्लेख भएको ब्यवस्था विपरित  काम गरेको भन्दै राष्ट्र बैंकले ध्यानाकर्षणसमेत गराएको थियो । तर विभिन्न बैंकहरुमा बैंकको नाम इंकित कार्ड नै भिरेर जथाभावी टिकटक बनाउँदा यसले समग्र बैंकिङप्रति नै नकारात्मक धारणा बन्ने सम्भावना बढेको छ । यसतर्फ सम्बन्धित सबै सचेत हुन जरुरी छ ।

सदुपयोग गरे गज्जब छ टिकटक !
यसो त सदुपयोग गरे बैंक र बैंकरका लागि टिकटक गज्जबको माध्यम हो । आफ्ना प्रोडक्टको जानकारी दिनका लागि बैंकहरुलाई र कहिलेकाहीं रमाइलो गर्न बैंकरहरुलाई यो उत्कृष्ट माध्यम हुन सक्छ । यहि कुरालाई मनन गरेर कतिपय बैंकहरुले टिकटक प्रतिष्पर्धा नै चलाईरहेका छन् । कतिपय बैंकहरुले टिकटकमा आफ्नो अफिसियल च्यानल नै बनाएर आफ्नो प्रचार गरिरहेका छन् । टिकटकको महत्व बुझेर अहिले बढी फलोअर्स भएका टिकटक च्यानलहरुलाई धेरै ठुला ब्राण्डहरुले पनि प्रचारको थलो बनाउने गरेका छन् । तर यसको प्रयोगभन्दा पनि दुरुपयोग हुँदा बैंक र बैंकर दुवैको छवि बिग्रिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: