×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अघि बढ्नूस् बालेनजी, जनता तपाईंको साथमा छन्…’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

‘अघि बढ्नूस् बालेनजी, जनता तपाईंको साथमा छन्…’

‘राइट म्यान एट राइट प्लेस’
देश बिकासका लागि हुनुपर्ने यति रहेछ । विद्युत प्राधिकरणका कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह यसका ज्वलन्त उदाहरण हुन् । जसरी कुलमानले प्राधिकरणमा व्यवस्थापनको क्रान्ति गरे, अध्याँरोमा हराएको जनताको आशालाई बिकासको उज्यालो देखाए, त्यसरी नै काठमाडौँका मेयर बालेन्द्र शाहले युवाको शक्ति देखाए । ‘गरे सबै सकिन्छ र गर्ने युवाले नै हो’ भन्ने दुई तथ्यलाई बालेन्द्रले यसरी दर्ज गरिदिए कि, अहिले नेताहरुले केहि गर्दैनन् होइन, अव बालेन्द्रले गर्छन, गर्दैछन् र अझ गर्नेछन् भन्ने तथ्य जनतामाझ खुलाब किताबझैं तथ्य पुष्टी भएको छ । र काठमाडौँ महानगरका मेयरका रुपमा बालेन्द्रले १०० दिनको कार्यकाल पूरा गर्दैगर्दा काठमाडौँबासीमा एउटा नयाँ आशामात्र थपिएको छैन, बरु जनजनले भनिरहेका छन्- ‘वाह ! क्या बात बालेन्द्र !!’
हुन त १०० दिनलाई हनिमुन समयका रुपमा लिइने गरिन्छ । बालेन्द्रको ठाउँमा अरु कोहि काठमाडौँको मेयर भएको भए यो समय बिजय र्याली, उद्घाटन, पार्टी समारोह लगायतमा गएरै बित्थ्यो । तर जनताको मनमा बसेका बालेनले फोहोरको समस्या समाधान नहुन्जेलसम्म खादा लगाउँदिन भन्ने बाचा गरेका थिए र उनले आजसम्म खादा लगाएका छैनन् । अहँ उनी कुनै अनावश्यक उद्घाटनमा हिंडेका छैनन् । बरु उनी त माफियालाई थर्काउदै, तीनै माफियाका आसेपासेको गाली खाँदै महानगरलाई सुन्दर बनाउने अभियानमा आफैं लागेका छन् ।
१०० दिनको छोटो समयमा उनले उल्लेखनीय काम गरेका छन् । सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट उनले डोजर अभियान नै चलाउन थाले । नर्भिक प्रकरणबाट ‘रात रहे औराख पलाउँछ’ भन्ने तथ्य बुझेर उनले ठाउँको ठाउँ डोजर चलाउन थाले ।
‘नेता त मेरा गोजीमा छन्’ भनेर दिनदहाडै फुर्ती लगाउनेहरुलाई आच्छु-आच्छु बनाएर उनले अवैध रुपमा संरचना हटाईरहेका छन् । यो अभियान अझै जारी पनि छ । लाग्दैछ काठमाडौँमा विधिको शासन चल्नेछ अव । पैसाको पावरमा नेताका नैतिकता किन्न पल्केहरुका लागि बालेन बाघ बनेर आएका छन् ।  डोजर अभियान त चलि नै रहेको छ, यहि बीचमा महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्डिङ बोर्डहरु पनि हटाउन थालेको छ । कानुनको अपव्याख्या गरेर केहि समिति मान्छेलाई हातमा लिएर राखिएका होर्डिङ बोर्डहरुमाथि बालेनको एक्सन जारी छ ।
उनकै सिको गर्दै अहिले अन्य पालिकाहरुले पनि अवैध संरचना हटाउने अभियान सुरु गरेका छन् । लाग्दैछ, अव पूरै देश नै बालेन्द्रमय हुँदैछ । आशाका किरणहरु देखिएका छन् र जनता अवचाहिं यो काठमाडौँमा केहि जरुर हुन्छ भन्ने तथ्यसम्म पुगेका छन् ।
घोषणापत्रमा हुने नहुने कुरा ल्याएर, जनतालाई लोभ्याएर चुनाव जित्ने अनि जितेको दिन खाएको रक्सीपानीको ह्याङ्ग नउत्रिदै भोलिपल्टै जनतामाथि गरेको बाचा बिर्सने नेताहरुलाई बालेनले नमिठो झापड हानेका छन् । मेयर बालेनले चुनावका बेला जे बोले, अहिले उनी त्यहि गरिरहेका छन् ।
चुनावका बेला गरेका वाचाअनुसार उनले महानगरको नीति तथा कार्यक्रम र बजेट ल्याए । बालेन्द्रले के नै गर्न सक्छन् र भन्नेहरुलाई उनले माफियाले बनाएका अवैध संरचना हटाएर देखाईदिए, फोहोरको समाधान तत्कालका लागि समाधान गर्न सफल भए काठमाडौं महानगरभित्रका बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाउने, ७० वर्ष नाघेका नागरिकहरुको घरैमा स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारले तोकेका औषधिहरु निःशुल्क उपल्ब्ध गराउने बाचालाई उनले यथार्थमा परिणत गरे र गर्दैछन्।
बन्द रहेका ब्रुमरहरु  सञ्चालनमा आए, दमकल थपिए, महानगरपालिकाका सबै कार्यालयमा सीसीटिभी राख्ने काम सुरु भयो, र अरु धेरै कुरा भए मात्र १०० दिनमा ।
अघिल्ला मेयर विद्यासुन्दर शाक्यले फोहोरको समस्यालाई वेवास्ता गर्दा बालेनले चुनाव जितेको लामो समय फोहोर व्यवस्थापनमा ठुलो रस्साकस्सी गर्नुपर्यो । स्वतन्त्रलाई काम नै गर्न दिनु हुँदैन भन्दै केहि फटाहा नेताहरुले उल्टो राजनीति गर्दा थप मारमा परे बालेन्द्र शाह । तर जसरी पनि यो समस्यालाई समाधान गर्छु भनेर लागेका बालेन्द्रले अन्तत यो समस्या समाधान गरेरै छोडे ।
उनले सिसडोल र खासगरेर बन्चरेडाँडाबासीसँग गरेका सम्झौता पूरा गर्ने बाचा गरेपछि हाललाई समस्या समाधान भएको छ । उनले वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहर छुटाएर कुहुनेबाट मल बनाउने कार्यक्रम बजेटमा ल्याएका छन् । एकै रातमा सबै काम हुने होइन, विस्तारै बालेन्द्रले फोहोरको समस्याको दीर्घकालीन समाधान खोजिरहेका छन्। र त उनी भनिरहेका छन् हामी केहि समय अझ गाली खान तयार छौं, तर हरेक समस्याको दीर्घकालीन समाधान खोजिनेछ ।
बालेन्द्रले के नै गर्छन् र भन्नेहरुले सुरुमा निहुँ खोजेझैं गरे । तर अव बालेन्द्रले छोड्नेवाला छैनन् भन्ने थाहा पाएपछि उनीहरु झुकेरै छोडे । उदाहरणका लागि सुरुमा फनपार्कलाई कर तिर्न आउनु भन्यो महानगरले । फन पार्कका संचालकले कर तिर्नु नै छैन भनेर अडान राखे । पछि बालेन्द्रका अगाडी कुनै चाकडी, घुस खोरीको केहि लाग्दैन भन्ने थाहा पाएपछि फनपार्कका संचालकले सर्लक्कै कर तिरे ।
अर्को उदाहरण त झन् गज्जबको छ । बालेन्द्रले कर तिर्नु भनेर विद्युत प्राधिकरणलाई पत्र लेख्यो । कुलमान हाकिम भएको यो प्राधिकरणले पनि कर तिर्नु नै छैन भनेर सार्वजनिक रुपमै बोल्यो । तर बालेन्द्रले को ठुलो, को सानो भन्दैनन, सबलाई ठेगान लगाउँछन् भन्ने थाहा पाएपछि कुलमानको निर्देशनमा प्राधिकरणले पनि पनि महानगरलाई करोडौंको कर तिर्यो । बालेन्द्रले अहिले क्यासिनोहरुलाई पनि करको ताकेता गरिरहेका छन् । र उनीहरुले पनि कर नतिरी सुखै छैन ।
यसो त बालेन्द्र यो १०० दिनमा केहि अनावश्यक विवादमा पनि परे।
फुटपाथबाट मकैको ठेला हटाएको, इ स्पोर्ट्सका लागि १ करोड दिएको, यमबुद्धको सालिक बनाउन पैसा छुट्याएको, कार्यक्रममा मद्यपान गरेको र मुकुट परिवर्तन गरेको, फोहोर व्यवस्थापनमा ढिलाइ गरेको, नर्भिक लगायतको अनधिकृत संरचना हटाउन नसकेको, लगायतका बात उनमा लागे ।
तर उनले यी सबै आरोपबारे आफ्नो स्पष्टीकरण दिइसकेका छन् । र भनेका छन् – ‘हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।’
‘रोम वाज नट बिल्ट अन अ डे’, अर्थात कुनै पनि काम आजको भोलि हुने कुरा होइन । महानगरको बिकासका लागि पनि समय लाग्छ । भर्खर १०० दिन त सकियो, बालेन्द्रसँग त अझै १७०० बढी दिन बाँकी छन् काम गर्न । १०० दिनमै यति धेरै काम गरेका बालेन्द्रले अझै धेरै काम गर्नेछन् र महानगरलाई थप सुन्दर बनाउनेछन् । हामीले धेरै पछि राम्रो नेता पाएका छौं ।
धेरै पछि काठमाडौँले गतिलो मेयर पाएको छ । उनका राम्रा कामलाई साथ दिनु र कहीं कतै बाटो बिराए खबरदारी गर्नु हाम्रो कर्तब्य हो । तर राम्रो गर्दा गर्दै पनि राजनीतिको खोल ओढेर उनलाई असफल बनाउन खोज्नु भने जनतामाथिको धोकामात्र होइन, जनताका विपक्षमा गरिएको अक्षम्य अपराध हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: