×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाचार टिप्पणी : ‘क्या बात रमेश हमाल ! जो लगानीकर्ताको हितका लागि जोकोहिसँग पनि लडे, अझै लड्दैछन्…’

२०७८ फाल्गुन पहिलो साता रमेश कुमार हमाल बोर्डको अध्यक्षमा नियुक्त हुँदा धेरैले उनी यति काम गर्ने खालका मान्छे हुन् भन्ने सोचेकै थिएनन् । त्यसमाथि पनि लामो समयदेखि बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा अझ उदार रुपमा कार्यान्वयन गराउन उनले सक्छन् भन्ने आशा, र अपेक्षा निकै कमको मात्र थियो ।

तर रमेश हमाल ‘दम’ भएका व्यक्ति थिए । लामो समय निजी क्षेत्रमा काम गरेको राम्रो अनुभव भएका हमाल जसरी पनि लगानीकर्ताका पक्षमा काम गरेरै छोड्ने प्रतिबद्धताका साथ अध्यक्षको पदमा पदभार ग्रहण गरेका थिए ।

लामो समय थाईल्याण्डमा बसेका हमाल इन्जिनियरिङ पृष्ठभूमिका व्यक्ति हुन् । एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (एआईटी) बाट एमबीए गरेका हमाल यसअघि पनि सफल व्यवसायीका रुपमा परिचित थिए ।

धितोपत्र बोर्डको अध्यक्ष भएको केहि समयमै उनले पत्रकार सम्मेलन गरेर नै आफ्ना प्रतिबद्धताहरु व्यक्त गरेका थिए । तत्काल सीआश्वा शुल्क कम गर्ने, ब्रोकर लाइसेन्स खुला गर्ने, नयाँ स्टक एक्सचेन्ज ल्याउने, लामो समयदेखि मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर लामो समयसम्म कारोबार रोक्का हुने बाध्यतालाई हटाउने, लगानीमैत्री प्रविधिको विकास गर्ने लगायतका उनका प्रतिबद्धता सुन्दा धेरैले यस्ता प्रतिबद्धता पूरा हुने कुरामा शंका गरेका थिए । तर नेपालको सेयर बजार, लगानीकर्ताको मनोविज्ञान, र देशको ब्युरोक्रेसीसमेत मज्जाले बुझेका हमालले यी सबै काम गरेरै छोडे । र अन्तत: उनी नेपाली सेयर बजारमा सेयर बजारका कुलमानका रुपमा परिचित बने । उनले यो छोटो समयमा गरेका काम र लिएका अडानले उनको नेतृत्वदायी क्षमता कुन हदसम्म छ भन्नेसमेत प्रष्ट पार्छ । जस्तै कि उनले गरेका केहि महत्वपूर्ण कामहरु हेरौं :

१. निकै महँगो सीआश्वा शुल्क घटाउन रमेश हमाल सफल भए ।
बिगत लामो समयदेखि उठेको मुद्धा थियो निकै महँगो सीआश्वा शुल्क । बैंकहरुले आईपीओ भरेको शुल्क यसअघि निकै महँगो लिने गरेका थिए । केहि बैंकहरुले यो सेवा नि:शुल्क दिएपनि अधिकांस बैंकहरुले ५ रुपैयाँदेखि २५ रुपैयाँसम्म सीआश्वा शुल्क लिने गरेका थिए । स्ट्याण्डर्ड चार्टड बैंकले त झन् यस्तो शुल्क १०० रुपैयाँ लिने गरेको थियो । तर उनले यस्तो ‘लगानीकर्तामारा’ व्यवस्थालाई परिमार्जन गरी बढीमा ५ रुपैयाँ शुल्क लिने नियम ल्याए । अहिले ५ रुपैयाँ पनि के लिनु भन्ने शैलीमा कतिपय बैंकहरुले त सीआश्वा शुल्क नै खारेज गरिदीईसकेका छन् । केहि बैंकहरु यस्तो शुल्क खारेज गर्ने तयारीमा समेत छन् । जे होस्, हमालले गरेको यस्तो कामले उनलाई धेरै लगानीकर्तामाझ लोकप्रिय बनाउन सफल भयो ।

२. नयाँ ब्रोकर लाइसेन्स खुला गर्नेगरी कानुन ल्याए ।
लामो समयदेखि नेपालको सेयर बजार सिमित ब्रोकरहरुको चलखेलमा चल्थ्यो । यतिसम्म कि ५० ब्रोकरले जे भन्थे, आखिर त्यहि हुन्थ्यो । हुन त बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कुरा यसअघि पनि नउठेको होइन । तर जबजब यो कुरा उठ्थ्यो, तवतव ब्रोकरहरु चलखेलमा उत्रिन्थे, र उनीहरुकै चलखेलका कारण प्रक्रिया रोकिन्थ्यो । तर यसपाली हमाल कसैसँग पनि झुकेनन् । उनले सबैलाई ब्रोकर लाइसेन्स खोल्नेगरी नियमावली संसोधन गरेर क्याबिनेट पठाए ।

तर, क्याबिनेटमा सो संसोधन प्रस्ताव पुगेपछि ब्रोकरहरुको चलखेल सुरु भयो । केहि मन्त्रीहरुले पनि ब्रोकरहरुकै बोली बोलेपछि यो प्रस्ताव विधायन समितिसम्म पुग्यो । विधायन समितिले पनि सो संसोधन पास त गर्यो, तर ब्रोकरहरुले कहाँ खेले, खेले, क्याबिनेटबाट पास भई प्रमाणीकरण भएर आउँदा भाषामा गोलमाल भयो । बोर्डले पास नै नगरेको नयाँ ब्रोकर लाइसेन्स ३ बर्षपछि मात्र आउनेगरी नियमावली संसोधन भयो ।

ब्रोकर यतिबेला जितियो भनेर रमाउन थाले । तर, हमालले तत्काल संचालक समितिको बैठक डाकी सो संसोधन पुन: संसोधनका लागि पठाए । र अन्तत: पाचौं संसोधन भएर धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) पाचौं संसोधन नियमावली, २०७९ आएपछि ब्रोकर लाइसेन्स सबैलाई खुल्ने भयो । यसमा हमाललाई अर्थमन्त्री जनार्दन शर्माले पनि ठुलो सहयोग गरे । र अव अन्तत: सबैका लागि ब्रोकर लाइसेन्स खुल्ने भएको छ । नियमावलीमा एक पटक लाइसेन्स खोलेपछि पुन: ३ वर्षपछि पनि लाइसेन्स खुल्ने व्यवस्था गरिएको छ ।

३. विदेशमा रहेर नेपालमा रेमिट्यान्स पठाउने नेपालीहरुलाई आईपीओमा कोटा सुरक्षित गरे।
रेमिट्यान्सलाई बैध च्यानलबाट नेपालमा ल्याउन पनि बोर्ड अध्यक्ष रमेश हमालले राम्रै भूमिका खेले । उनले विदेशमा बसेर नेपालमा रेमिट्यान्स पठाउनेहरुको हकमा १० प्रतिशत आईपीओको कोटा सुरक्षित गरिदिए । यसले अव वैध च्यानलबाट नेपाल भित्रने रेमिट्यान्सको रकम बढ्ने निश्चितप्राय: छ ।

४. रमेश हमालकै नेतृत्वमा बहुप्रतिक्षित नयाँ स्टक एक्सचेन्ज आउने भयो ।
नेपालको सेयर बजारमा नेप्सेमात्र हुँदा नेप्से दिनप्रतिदिन कमजोर हुँदै थियो । यो बीचमा धेरै लगानीकर्ताले यसकारण पनि सेयर बजारमा नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्ने माग गरेका थिए । हमालले यो काम पनि गरेरै छोडे । त्यसमाथि पनि नयाँ आउने स्टक एक्सचेन्जमा उनले सर्वसाधारणको भागमा ३० प्रतिशत सेयर सुरक्षित गरिदिए । यसले नेपालको सेयर बजारलाई थप शशक्त बनाउने कुरामा कुनै शंका छैन । धेरैले अनेक खालका बात लगाएर यो निर्णय रोक्न खोजेका थिए । तर ‘गर्छु’ भनेपछि ‘गर्छु, गर्छु’ भन्ने स्वभावका हमालले आखिर यो काम पनि गरेरै छोडे । अव छिट्टै नेपालमा नयाँ स्टक एक्सचेन्ज आउनेछ । त्यसपछि नेपालको सेयर बजार थप प्रतिष्पर्धी र बलियो हुनेछ ।

५. लामो समयदेखि लगानीकर्ताको सम्पत्ति बन्धक हुने वाध्यतालाई उनी हटाउँदैछन्।
रमेश हमालकै पहलमा राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा जाँदा रोक्का हुने कारोबारसम्बन्धि व्यवस्थाको अधिकार धितोपत्र बोर्डलाई नै सुम्पिएको छ । यसका लागि हमालले ठुलो मेहेनतसमेत गरेका छन् । छिट्टै उनले मर्जर तथा प्राप्तिमा जाने कम्पनीको हकमा बढीमा १५ दिनमात्र कारोबार रोक्का हुने नयाँ व्यवस्था लागु गराउँदैछन् । यो काम गर्न पनि अव हमाललाई कसैले रोक्न सक्ने अवस्था छैन ।

६. हमाल अव ब्रोकरहरुको कमिसन, नेप्सेको कमिसन, र स्वयम धितोपत्र बोर्डले लिने कमिसन पनि घटाउने अभियानमा छन् । यो अभियान पनि उनले जतिसक्दो चाँडो पूरा गर्ने तयारी गरेका छन् । धितोपत्रसम्बन्धि सचेतना कार्यक्रम बढाउन पनि उनले निकै राम्रो भूमिका खेलिरहेका छन् । उनकै नेतृत्वमा बोर्डका हरेक काम समयमा नै हुने सिष्टम बसाल्न उनी सफल भएका छन् ।

७. हमालले इन्साइदर ट्रेडिङ लगायतका गलत अभ्यासलाई निरुत्साहित गर्न धितोपत्रसम्बन्धि कसुरमा प्रहरीले अनुसन्धान गर्न पाउने नियम ल्याउन बोर्डका अध्यक्षको हिसावले भूमिका खेले । कतिपय यस्ता गलत काममा लागेकाहरुले यो व्यवस्थाको विरोध गरेपनि यसले समग्र बजारलाई थप बलियो बनाउने कुरामा कुनै शंका छैन ।

रमेश हमालले यो छोटो समयमा यसरी काम गरेकी उनका खुट्टा तान्नेहरु पनि त्यसरी नै बढे । यतिसम्म कि उनका विरुद्ध धितोपत्र बोर्डकै कर्मचारीहरुले उनकाविरुद्ध लाग्नेगरी गोप्य अभियान नै चलाए । बोर्डबाट बिदा भएका केहि र बोर्डमै रहेका केहिले उनी विरुद्ध लाग्न चन्दा नै उठाएर कतिपय नेता र ती नेताका कार्यकर्ताहरुलाई प्रयोग पनि गरे । तर सिष्टम के हो र सिष्टम कसरी चल्नुपर्छ भन्ने बुझेका हमालले सब चुनौतीको समाना गरेर लगानीकर्ताका पक्षमा काम गरे र अझै पनि गरिरहेका छन् ।

ब्रोकरहरुलाई आउँदा दिन झन् अफ्त्यारा !
धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल बोर्डमा हुँदासम्म ब्रोकरहरुलाई गलत काम गर्न अव पहिलाको जति सहज नहुने पक्का छ । यसै पनि बोर्ड अध्यक्ष हमालले गरेका राम्रा काममा भाँजो हाल्न ब्रोकरहरु लागिपरेको सूचना र तथ्य हमालले राम्रैसँग बुझेका छन् । देशमा अहिले भएका ब्रोकरहरु आफ्नो व्यवसाय घट्ने बहानामा सेयर बजारमा कुन हदसम्मको सिन्डिकेट लाद्न खोजिरहेका छन् भन्नेसमेत बुझेका हमालकै नेतृत्वमा अव ब्रोकर कमिसन पनि छिट्टै घट्नेछ ।

एकातर्फ नयाँ ब्रोकर आउने र अर्कोतर्फ ब्रोकर कमिसन पनि घट्ने भएपछि ब्रोकरहरु आत्तिएका छन्। त्यसमाथि सम्भवत पहिलोपटक आफ्नो चलखेल फेल खाएर निराश बनेका ब्रोकरहरु हमालको कार्यशैलीदेखि आत्तिएका छन् । अझ सबैलाई ब्रोकर लाइसेन्स खोल्नेगरी नियमावली संसोधन हुँदा, सो काम नगर्न ब्रोकरहरुले गरेको चलखेललाई चिर्दै बोर्ड अध्यक्ष हमालले जसरी पनि काम गराएरै छोडेपछि हमाल चानचुन मान्छे होइन रहेछन् भन्नेसम्म पुगेका छन् ब्रोकरहरु ।

अर्कोतर्फ अव हमालले ब्रोकरहरुले गर्ने गलत धन्दालाई रोक्नेगरी यस विषयमासमेत विशेष अध्ययन गरिरहेका छन् । यसअघि ब्रोकरहरुको चलखेलका कारण बजार प्रभावित हुने गरेको थियो । अव त्यस्तो काम गर्न सहज हुने नदेखेपछि ब्रोकरहरु थप आत्तिएका छन् ।

लगानीकर्ता भनिरहेका छन्- ‘बोर्डले कुलमान पाएछ’
यता रमेश हमालको कार्यशैलीले ब्रोकरका आसेपासे बाहेक अधिकांस लगानीकर्ताहरु निकै खुसी छन् । उनको काम गर्ने शैली, कसैसँग पनि नाझुक्ने बानीले लगानीकर्ताहरुले उनलाई धितोपत्र बोर्डका कुलमानको ट्याग लगाईदिएका छन् । बोर्डमा धेरैपछि राम्रो काम गर्ने मान्छे आएको भन्दै अहिले सेयर लगानीकर्ताहरु निकै खुसीमात्र छैनन्, बरु बजारलाई थप बलियो बनाउन बोर्ड अध्यक्ष हमालले अझ धेरै भूमिका खेल्नेमा आशावादी पनि छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: