×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८.२५ मा लिएको ऋणको ब्याज १८ प्रतिशत पुग्दा ऋणीहरुको बिचल्ली, हाँसी हाँसी पेल्छन् बैंकर…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

८.२५ मा लिएको ऋणको ब्याज १८ प्रतिशत पुग्दा ऋणीहरुको बिचल्ली, हाँसी हाँसी पेल्छन् बैंकर…

Artha Sarokar

१५ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

ऋण नतिर्ने व्यवसायीलाई रहर हुँदैन
तर पनि बैंकले फोन नगरेको प्रहर हुँदैन

भागेर जाउँ, कुन ठाउँ जाउँ
बैंकको फोन नलाग्ने कुनै शहर हुँदैन

भनेजस्तै बिजोग छ व्यापारीको । तनाव छ बैंकको ब्याजको । ब्याज, ब्याज अनि ब्याजको । दशैं आयो, पैसा आएन, बैंकको फोन मात्र आयो । तिहार आयो, लक्ष्मी घर पसिन् कि पसिनन् थाहा छैन, तर बैंकले ब्याज–ब्याज भनेर कराउन छोडेन । छट सकियो, अव त झन् विदा सकियो, फोन ट्यांङ ट्याङ गर्नेछ, बैंकका कर्मचारीले फेरी पैसाका लागि ताकेता गर्नेछन् । अव त सटर बन्द गर्नु, फोन अफ गर्नुको विकल्प नै हुन छोडीसक्यो । तर पनि के गर्नु, व्यवसाय त गर्नु नै छ । भएको यहि व्यापार पनि छोड्यो भने, बैंकले ब्याज–ब्याज भनेजस्तै घरमा क्वाँ–क्वाँ सुरु होला ।पाएको एउटा जुनीमा धनी थियो, बैंककै कारण गरिब भयो भन्ने कुख्याती कमाईएला भन्ने पीर भो । होइन त ?

प्रायः उपभोक्ताहरुको आवाजका बारेमा बढी चर्चा हुन्छ नेपालमा । तर देशको अर्थतन्त्र धान्ने व्यापारीका बेहिसाब दुःखको कुरा कमैले उठाउँछन् । व्यापारीका हक हितका लागि भन्दै खुलेका बग्रेल्ती संगठनहरु आफ्नै दुनो सोझ्याउनमा व्यस्त छन् । नेपाल उद्योग बाणिज्य महासंघ बोलेको बोल्यै छ, तर सरकार सुन्दैन । ८.२५ मा व्यापार गर्न बाणिज्य बैंकबाट भनेर लिएको ऋणको ब्याज झन्डै १८ प्रतिशत पुगिसक्यो । नाकामा सामान अड्किएका छन्, डलरको भाउले रेकर्ड तोडेको तोड्यै छ ।

साना व्यवसायीहरुलाई टोलेहरुले र ठुला व्यवसायीहरुलाई राजनीतिक झोलेहरुले चन्दा मागेका माग्यै छन् । आर्थिक मन्दीका कारण उपभोक्ताहरुको क्रय शक्ति घटेको छ । बजारमा भीडभाड छ, तर व्यापार छैन । कोरोनाले थालाउनु थालायो, तर त्यहाँभन्दा बढी तनाव बैंकको ब्याजदरले दिएको छ यतिबेला व्यापारीहरुलाई । र त व्यापारीहरु सटर नै बन्द गरेर भनिरहेका छन्, ’व्यापारी चुस्नेगरी ब्याज बढाउने बैंकहरु मुर्दाबाद !’

देशको अर्थतन्त्र धरासायी अवस्थामा पुग्न लागेको चर्चाका बीच व्यापारीहरु यतिबेला सडकमा छन् । तरलताको अभावका कारण बैंकको ब्याज बढेको बढ्यै छ । ब्याज ८.२५ मा हुँदा अफिसमा आई–आई, बैंकमा बोलाई बोलाई, चिया खुवाई, खुवाई, मुसुमुसु हाँसेर, हातै जोडेर, लौन न यति पैसा लगिदिनुपर्यो भनेर ऋण दिने अनि सो पैसा ब्यापारमा लगाईसकेपछि आज पनि ब्याज बढ्यो भन्या छ, अर्को महिना पनि ब्याज बढ्यो भन्या छ, गर्दा गर्दै १८ प्रतिशत ब्याज लेउ भन्नु त गलतमात्र होइन, अन्याय भयो, अन्याय मात्र पनि होइन, अत्याचार भयो भनेर व्यवसायीहरु कराईरहेका छन् ।

बढ्दो ब्याजदरले कुन उचाईमा पुगेर विश्राम गर्ने हो, कसैलाई थाहा छैन । दशैं आयो, व्यापार भएन, तिहार आयो, व्यापार भएन, छट सिद्धियो तर तनाव सिद्धिएन । भान्सामा प्याजले रुवाएभन्दा बढी व्यवसायमा ब्याजले रुवाएको छ । कोरोना, र नाकाबन्दीभन्दा जटिल समय भोगिरहेका छन् व्यापारीहरु । डेंगीले ज्यान गलाएको भन्दा बढी पीर बैंकको ब्याजले बिजनेश थालाएको पीर छ व्यवसायीहरुलाई ।

कारोना महामारीले खाएको झण्डै दुईवर्षपछि व्यवसाय तंग्रिन मात्रै के थालेका थिए, बैंकको बढ्दो ब्याजदरले व्यवसायी फेरी थलिएका छन् । एकातिर व्यापार नचल्नुको पीडा छ, अर्कोतिर चर्को महंगीमा बैंकको ब्याज र किस्ता तिर्नुको पिर । तर पनि सरकार टुलुटुलु हेरेर मात्र बसेको छ ।

हुन त यो देशमा गर्नेले जे पनि गरेका छन् । आयात प्रतिबन्ध हुँदा पनि प्रतिबन्धित सामान कुन दुलोबाट नेपाल भित्रिए तीनैले जानुन्, नेताहरुको चाकडी गरेर बैंकका हाकिम थुमथुमाउने हैसियत राख्नेहरुले महिनौं भयो ब्याज तिरेका छैनन्, तर गरीखान्छु भन्ने व्यापारीहरुलाई आजकल क्लाइन्टको भन्दा बढी फोन बैंकका कर्मचारीले गर्छन्, श्रीमतीले बरु घर छिटो आउनु है भन्न छाडीसकिन्, बैंकले छिटो ब्याज बुझाईदिनु है भनेर मस्किन छोडेको छैन । एकातिर ब्यापार छैन, अर्कोतर्फ बैंकको सहयोग छैन । र त न्युरोडका व्यवसायीले केहि समय अगाडी व्यापार नचलेरै देहत्याग गरे, कोटेश्वर बस्ने एक व्यवसायीले पनि बैंकको ऋणले थालिएपछि केहि महिनाअघि देह त्याग गरे । तर कठै सरकार कसै सुन्दैन ।

र त अति होइन अत्याचार नै भयो भन्दै अहिले देशैभरीका उद्योगी–व्यवसायीहरु बढ्दो ब्याजदरको विरोध गर्दै सडक तताउन थालेका छन् । केहीदिन अघिमात्रै रुपन्देहीमा उद्योगी व्यवसायीहरु कालोपट्टीसहित सडकमै उत्रिए । सटर बन्द गरेर, कालो ब्यानर लिएर उत्रिएका उनीहरुले सरकारमाथि औंला ठड्याएर भने–‘व्यापारी मार्न पाईदैन, व्यवसायी विरुद्धको नीति चाहिँदैन’, ‘चर्को ब्याजदर खारेज गर, एकल मूल्य कायम गर’ ।

तर सरकारले सुनेपो ! व्यवसायीहरुको यस्तो समस्यामा पनि केहि वास्ता नगर्ने सरकार देख्दा लाग्छ, बजारमा भएका तेल जति सरकारले कानमा हाल्न लगेकाले पो तेलको मूल्य आकाशिएको हो कि !

पेल्न पनि कति पेलेको बैंकले । मान्छे तोरी भएको भए तेल निस्कीसक्थ्यो । व्यवसायीहरु मकै थिए भने, पिठो बनिसक्थेजसरी । आज पनि फोन गरेको, ङच्च हाँसेको छ, मिठो स्वरमा ब्याज हालिदिनुस् है, टार्गेट यस्तै छ के गर्नु हजुर भनेको छ । तर ब्याजदरचाहिं बढेको छ, बढेको छ, बढेको छ । सामान बिक्ने क्रम घटेको छ, ग्राहक आउने संख्या घटेको छ, व्यापार गर्ने कन्फीडेन्स घटेको छ, तर बैंकको ब्याजचाहिं फेरी पनि बढेको छ, बढेको छ, बढेको छ ।

८.२५ मा लिएको ऋण, ९ पुग्यो, १० पुग्यो, १२ पुग्यो, १४ पुग्यो, १५ पुग्यो, १६ पुग्यो, १७ पुग्यो, हुँदा हुँदा १८ पुग्यो । ट्याक्सीको बिग्रेको मिटर बढेझैं, बैंकको ब्याज बढेको बढ्यै छ । अनि विचरा व्यवसायीहरुले कति सहनु ?

सहनुको पनि सिमा हुन्छ । र त्यहि सिमा पार भएपछि यति बेला कतिपय ठाउँमा त उद्योगी व्यवसायीहरुले बैंक बहिष्कार अभियान नै चलाएका छन् । बढ्दो बैंकको ब्याजरको विरोध गर्दै सुर्खेतका व्यवसायीहरुले त बैंकमै धर्ना दिन पुगेका छन् । व्यवसायीहरुले ज्ञापनपत्र बुझाउँदै माग सम्बोधन नभएसम्म बैंकको तिर्नुपर्ने किस्ता र ब्याज दुवै नतिर्न भन्दै आह्वान नै गरिदिएका छन् । मर्ता को क्या नहीं कर्ता भनेको सायद यहि हो कि ?

ऋण दिने बेलामा सात पटक हात जोड्ने बैंकहरु, लौ न यसपाली व्यापारबट्टा सबै बिग्रियो, यसपालीको ब्याज र किस्ता अर्कोपाली तिर्छु भनेर १७ पटक हात जोड्दा पनि सुन्दैनन् । बरु मुसुक्क हाँस्छन्, के गर्नु हजुर यस्तै छ, हाम्रो पनि टार्गेट छ, तपाईंले ब्याज नतिरे सम्पति लिलामी गर्नु भन्ने माथिको आदेश छ । तपाईं त आफ्नै हो नि, तर के गर्नु बैंकले आफ्नो भन्दैन भन्छन्, चिप्लेकिराभन्दा बढी चिप्लो कुरा गर्छन् तर घुमाउरो पारामा धम्क्याउँछन् ।

विहानविहान उठेर भजन गाउनुपर्ने बेलामा ब्याज बढ्यो भनेर मेसेज पठाउँछन् । भात खाने बेलामा भातको गाँसै छोड्नुजसरी, सर कता हुनुहुन्छ, ब्याज हिजो पनि हाल्दिनुभएन भनेर कराउन फोन गर्छन् । ब्याजको पीरले ज्यानमा सुकेनास लागिसक्यो, बैंक मोटाएका मोटायै छन् । बैंकलाई त प्रत्येक क्वाटरमा बैंकको अवस्था सबैभन्दा अब्बल देखाउनुछ, हेर, हामीले यति कमायों, उति कमायौं, भनेर झ्याली पिट्नुछ, वाह…वाही कमाउनु छ । चाहे ऋणी मरुन् वा बौलाएर हिँडुन्….बालै भएन ।

अवस्था यतिसम्म आईसकेको छ कि व्यवसायीहरु अव हामी यही स्थितीमा व्यापार गर्न सक्दैनौ भन्ने अवस्थामा पुगिसकेका छन् । ठाउँ ठाउँबाट उद्योगी व्यापारीहरुले व्यवसायबाट हात खडा गरिसके । ऋणको व्यवहार बिग्रिएपछि न्युरोडका व्यवसायीले मर्न ठिक ठानेको घटना त एउटा प्रतिनिधि घटना थियो, अवस्था यस्तै रहे, अझै कति मर्ने हुन् थाहा छैन । कतिका घर उजाडिए, कतिका परिवार सडकमा पुगे, व्यापार गरेर तपाईंलाई पाल्छु भनेको छोरो गुमाए बाबु आमाले । तर अहँ, नागरिकको पीडाप्रति सरकारको नजर कहिल्यै फेरिएन।

खै किन हो कुन्नि, समय सबैको आउंछ र अहिलेका ऋणीहरु भोलि पनि चाहिन्छन् है भन्ने कुरा नै बैंकले बिर्सेझैं भान हुन्छ आजकल । नाफाको लालचा बोकेर आफ्नै पारामा एकोहोरो दौडमा दौडिएका बैंकहरुले आफुसँगै लिएर हिँड्नुपर्ने ग्राहक र ऋणी कति पछाडी छुटे पत्तो नै पाएनन् । र त अहिले व्यवसायीहरु भनिरहेका छन्– ‘अब अत्ति भयो, यस्तै चल्ने हो भने हामी हाम्रा सटरका तालाचाबी सरकार, बैंक वा राष्ट्र बैंक कसको जिम्मा लगाउनुपर्ने हो उसैको जिम्मा लगाउछौँ ।’

हो, आफुले लिएको वा खाएको ऋण तिर्नुपर्छ, यो कर्जा नीतिको सर्वव्यापी मान्यता हो । तर आफ्नालाई पोस्ने र लाचार व्यापारीलाई सोस्ने काम कदापी ठिक होइन । बैंकमा हुँदै नभएको सम्पत्ती देखाएर लिएको करोडौँ मूल्य बराबरको खराब कर्जा कति छ ? कसैले लेखाजोखा राखेको छ ? तीमध्ये कति मन्त्री वा नेताका मान्छे होलान्, कति सञ्चालक समितिकै आफन्त होलान्, कति कर्मचारीका दाईभाई वा नातेदार पर्ने पनि होलान्, त्यसको जिम्मा कसले लिने ? त्यो त्यही व्यापारीले सुकामोर जोडेर ब्याज र किस्ताका नाममा तिरेको पैसा होइन ? अनि त्यही व्यापारीलाई मासिक १५ हजारका लागि मृत्युको संघारमा पुर्याउनु कत्तिको न्यायोचित हुन्छ ? आजे नसोचे अव भोलि ढिला हुँदैन र ?

बैंकलाई ऋणी चाहिन्छ, ऋणीलाई बैंक चाहिन्छ । ऋणीले पनि बैंकको नीति नियम अनुसार लिएको ऋण तिर्नुपर्छ । र बैंकले पनि ऋणीलाई कागजका पन्ना हेरेरमात्र होइन, व्यापार हेरेर व्यवहार गर्नुपर्छ । कसैका कारण कोहि मर्नुहुँदैन, बैंकका कारण ऋणी र ऋणीका कारण बैंक समस्यामा पर्नुहुँदैन । अनि यस्तो स्थितिमा सरकार दौरामा र्याल चुहाएर बस्नु हुँदैन । ऋणीलाई बैंकले अनावश्यक कस्नु हुँदैन । व्यवसायी पनि व्यवसायीक धरातलबाट खस्नु हुँदैन । बस् यति बुझे, सरकारले सुने, समस्याको समाधान त्यतिधेरै पर छैन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी