×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारका लगानीकर्ताका लागि कुन पार्टीको घोषणापत्रमा के छ ? सम्पूर्ण नालीबेली…(भिडियो)

दशैं, तिहार र छट सकिएपछि ५ बर्षमा आउने अर्को महान चाड चुनाव सुरु भएको छ । धेरैका लागि चुनाव यस कारण पनि महान चाड बनेको छ कि, दशैंमा किनेर खानुपर्ने मासुभात चुनावमा फ्रीमा खान पाइन्छ । दशैंमा कसैले उपहार पठाए मात्र हो, नत्र किनेरै खानु पर्ने दारुपानीको व्यवस्था चुनावी माहोलमा चोकचोकका होटल रेष्टुरेन्टहरुमा हुन्छ । फ्रीको मासुभात, फ्रीको पेट्रोल, झण्डा हल्लाएवापत नोटको गड्डी ।  बिकेका झोले कार्यकर्ता र तीनका ठेकेदारहरुलाई भ्याईनभ्याई छ यतिबेला ।

५ बर्षसम्म ठुला कुरा गर्ने, फलानो नेताले यसो गरेन र उसो गरेन भन्ने, फेसबुकमा रोइलो गर्ने, टिकटकमा कराउने, युट्युबमा चिच्याउने, अनि ५ बर्षपछिको चुनावमाचाहिं कोहि मैले त रुखबाहेक केहि देखिन भन्ने, कोहि रुखै देखिन भन्ने, कोहि जति कुरा गरे पनि भोट त सुर्यमा नै धस्काउने हो भन्ने, कोहि सूर्य नै देखिन भन्ने । बाउ कांग्रेस भए, आफु पनि कांग्रेस, बाउ एमाले भए आफु पनि एमाले । हजुरबुबाले भित्तामा टाँसेको हलो चिन्ह देखेर हुर्केको नाती आज पनि हलोकै समर्थक । अनि फेरी अर्को ५ बर्ष नेताले गरेनन, सकेनन् भनेर चिच्याउने, कराउने ।
अर्को पुस्ता छ बैकल्पिक शक्तिमाथि विश्वास गर्ने । जो अहिले घन्टी र लौरोमा आश देखिरहेका छन् । स्वतन्त्रले जित्नुपर्छ भनिरहेका छन् । अझ काला कांग्रेस र एमाले भन्दा पनि यीनका समर्थकलाई बढी चुनाव लागेको छ यतिबेला । नलागोस् पनि किन, बर्षौंदेखि पूराना नेताका रबैयाले आजित छ नयाँ पुस्ता । र त कोहि अफिसबाट बिदा मागेर स्वतन्त्रलाई जिताउने भनेर डढेलधुरा पुगेका छन्, कोहि जो जिते पनि स्वतन्त्रले नै जित्ने हो र जित्नुपर्छ भनेर चुनावमा होमिएका छन् ।
अझ स्वतन्त्रको क्रेज त यति छ नि, अहिले बजारमा यसपाली वर्ल्डकप कसले जित्छ भनेर सोध्दा पनि यसपाली त स्वतन्त्रले नै जित्छ भन्ने युवाहरुसमेत भेटिएका छन् ।
तर हरेक ५ बर्षमा आउने चुनावले जति उत्साह ल्याउँछ, चुनाव सकिएपछि जनताको दुख ज्युका त्यूँ रहन्छ । नेताका भाषण र घोषणापत्रमा जे जस्तो लेखिए पनि ठुलो आश छैन जनतामा । सानो हुँदा रहरले रुमाल लुकाई खेल्ने नेपालीहरु, ठुलो हुँदा बध्याताले दुख लुकाई खेल खेल्न बाध्य छन् । किनकि जनताले पनि अव बुझिसके नेताका आश्वासनले पेट भरिन्न, नेताका भाषणले आङ छोपिन्न । जसले जिते पनि, तिनकै आसेपासेलाई काम हो, जनताको दुख उस्तै हो ।
हुन त अरुका प्रेमपत्र पढेर आफुले लभ गर्नु र दलका घोषणापत्र ह्रेरेर भोट दिनु उस्तैउस्तै हो । यी कसैको भर छैन । र पनि भोट त कसैलाई हाल्नु नै छ । र तिनका घोषणापत्रमाथि आशा गर्नु नै छ । आखिर आशाको त्याँदोमा त बाँचेको छ जिन्दगी । होइन र ?
सेयर बजारका कुरा 

सेयर बजारका लगानीकर्ताका लागि कुन दलका घोषणापत्रमा आश्वासनका कस्ता पोकाहरु छन् भन्ने विषयतिर लागौं । अर्थतन्त्रको मरुदण्डका रुपमा रहेको सेयर बजारलाई कुन दलले कति प्राथमिकतामा राखेका छन् त, त्यो हेरौं । स्वतन्त्रका कुरा केहि छिनमा गरौंला ।

सेयर बजारप्रति कति सकारात्मक छ एमाले ? 

कसैले आग्रह पूर्वाग्रह नराखी भन्दा हुन्छ, सेयर बजारप्रति सकारात्मक छ नेकपा एमाले । नेकपा एमालेकै तर्फबाट अर्थमन्त्री बनेका विष्णु पौडेलको सेयर बजारप्रतिको सकारात्मकतालाई हेर्ने हो भने एमालेले सेयर बजारलाई हेर्ने नजर सकारात्मक नै छ । एमालेकै तर्फबाट अर्थमन्त्री बनेका युवराज खतिवडाले सेयर बजारलाई हेर्ने दृष्टिकोण खास सकारात्मक नभएको देखाए पनि उनले गरेका केहि राम्रा कामले अहिले पनि सेयर लगानीकर्ताहरुले उनलाई धन्यवाद नै दिन्छन् । तर सँगै सेयर लगानीकर्ताले बिर्सेका छैनन् र बिर्सदैनन सायद, एमालेकै सरकारका पालामा सेयर लगानीकर्ताहरु टुकुचा खोलाको किनारमा आमरण अनसन बस्नुपरेको थियो ।

यसपाली नेकपा एमालेले आगामी पाँच वर्षका लागि प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरिसकेको छ । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा पूँजी बजारका विषयलाई पनि प्राथामिकता दिइएको छ । एमालेको घोषणापत्रमा पूँजी बजार तथा वित्त बजारको व्यवस्थापनका लागि पार्टी भित्र छुट्टै संयन्त्र तयार गरिनेछ भनिएको छ । सेयर बजारका समस्यालाई समाधान गर्न पार्टी तयार भएको सन्देश घोषणापत्रमार्फत दिन खोजिएको छ ।

एमालेको घोषणापत्रमा देउवा नेतृत्वको बर्तमान गठबन्धन सरकारले देशको आर्थिक क्षेत्रमा फैलाएको बेथिति र अराजकताका कारण आर्थिक परिसूचकहरु निराशाजनक स्थितिमा पुगेको उल्लेख गरेको छ । नेपाली पूँजी बजारको अवस्था दयनीय बनेको उल्लेख गर्दैै घोषणापत्रले वित्तीय प्रणालीको सुधार र पूँजी बजारको व्यवस्थापनका विषयलाई उच्च प्राथामिकतामा राखेको छ ।

हुन त एमाले अध्यक्ष केपी ओलीले सेयर बजारका बारेमा अरु नेताले गलत भन्दा त्यसको खण्डनसमेत गरेका हुन् । सेयर बजारलाई व्यवस्थित बनाउनुपर्छ भन्ने कुरामा उनी सकारात्मक पनि छन् । तर अहिले नेप्से, र सेबोन दुवैमा सो पार्टीका तर्फबाट नेतृत्व छैन । यसले ती घोषणापत्रमा उल्लेखित सेयर बजारसम्बन्धि विषयले सार्थकता पाउने कुरामा शंका गर्ने ठाउँ भने प्रशस्तै छ ।
माओवादीको घोषणापत्र कस्ता छन् सेयर बजारका एजेण्डा ?
माओवादी त्यहि पार्टी हो, जसका अध्यक्ष प्रचण्डले कुनै बेला सेयर बजारलाई सट्टाबजार भनिदिए । चौतर्फी विरोध भएपछि प्रचण्डले आफ्नो बोली त सच्याए तर सेयर लगानीकर्ताका लागि उनी बोलीको दुश्मन बने । अहिले अध्यक्ष प्रचण्ड बाबुराम भट्टराईको पकड भएको क्षेत्रबाट बाबुरामलाई साथ लिएर उठेका छन् । बाबुराम तिनै नेता हुन्, जसले सेयर बजारलाई जुवाघर भनेकै कारण सेयर लगानीकर्ताको खरबौं सम्पत्ति सिद्धिएको नमिठो इतिहास साक्षी छ । र माओवादी त्यहि पार्टी हो, जसका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले सेयर बजारलाई हावा भरिएको बेलुन भने । चौतर्फी आलोचना भएपछी उनले पनि सो भनाईलाई सच्याए ।
तर संगै विर्सनुहुँदैन, माओवादी त्यहि पार्टी हो, जसका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले सेयर बजारको बिकासका लागि धितोपत्र बोर्डलाई खुब सहयोग गरे । नयाँ स्टक ब्रोकर लाइसेन्स खुलाउन, नयाँ स्टक एक्सचेन्ज खुलाउनमात्र होइन, सेयर बजारलाई राम्रो हुने हरेक खालका काममा खुब सहयोग गरे अर्थमन्त्री शर्माले । यसका लागि जनार्दन शर्मा धन्यवादका पात्रसमेत छन् ।
अव कुरा गरौँ माओवादीको चुनावी घोषणापत्रमा पूँजीबजारका कुराका विषयमा । माओवादी केन्द्रले पनि आफ्नो घोषणापत्रमा पूँजीबजारका एजेण्डा समावेश गरेको छ । घोषणापत्रमा पूँजीबजारका विषयलाई सम्बोधन गर्दै माओवादीले  पूँजी  बजारको आधुनिकीकरण तथा संरचनागत सबलिकरणको विषयलाई उच्च प्राथामिकता दिने प्रतिबद्दता गरेको जनाइएको छ । घोषणापत्रमा पूँजीबजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने उल्लेख गरिएको छ । घोषणा पत्रमा गैरआवासीय नेपालीहरूलाई नेपालको पुँजीबजारमा लगानी खुला गर्ने कार्यलाई तिव्र गतिमा अघि बढाउने विषयलाई समेत प्रथामिकता दिइएको छ । ‘बैंक तथा वित्तीय संस्था, बिमा तथा पुँजी बजारबाट परिचालित स्रोत र तिनको कारोबारबाट बढीभन्दा बढी जनसब्ख्याले लाभ प्राप्त गर्नसक्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने व्यवस्था गरिने छ,’ घोषणा पत्रमा लेखिएको छ ।
कुनैबेला पैसा कमाउनेहरुलाई पूँजीपति दलालमात्र देख्ने र सेयर बजारलाई सट्टाबजार देख्ने माओवादी केन्द्रले आफ्नो घोषणापत्रमा सेयर बजारका लागि राम्रो काम गर्छु भनेर उल्लेख गर्नु नै सकारात्मक कुरा हो । यसका लागि माओवादीलाई धन्यवाद भन्नैपर्छ।  अझ धन्यवाद त त्यो बेला भनौंला, जव घोषणापत्रका सेयर बजारसम्बन्धि ती बाचाहरु हुबहु कार्यान्वयन हुनेछन् ।
अव कुरा गरौँ गगन थापाले पटक पटक हुनेखानेको पार्टी भनिरहने नेपाली कांग्रेसको ,
कांग्रेसले पनि आफ्नो घोषणापत्रमा सेयर बजारका विषयलाई पनि प्राथमिकता दिएर समावेश गरेको छ । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पुँजी बाजारबारे मौन रहेको कांग्रेसले, यसपटक सेयर बजारका लगानीकर्ताको पावर राम्रैसँग बुझेछ क्यार,  यसपटक भने सेयर बजारबारे आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
कांग्रेसले जारी गरेको घोषणापत्रमा ‘धितोपत्र सम्बन्धी ऐन तथा कानूनमा सरोकारवालाहरुसँग छलफल गरी पुँजी बजार सम्बन्धी ऐन कानून तथा विनियमावलीहरुमा समसामयिक सुधार गर्ने, धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त निकायको रुपमा विकास गर्ने र पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने पहल लिइने छ’ भन्ने व्यवस्था गरेको छ ।
नेपाली कांग्रेस अहिले सत्तामा छ । कांग्रेसकै नेतृत्वमा धितोपत्र बोर्ड पुगेका रमेश हमालले अहिले सकेको कमाल गरिरहेका छन् । यसका लागि पनि सेयर लगानीकर्ताले नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् ।
अव कुरा गरौँ घन्टी र लौरोको,
सेयर बजार सबैभन्दा बढी बुझेका र सेयर बजारका लागि लडेका नेता राष्ट्रिय स्वतन्त्र पार्टी र लौरो अभियानबाट पनि उठेका छन् । चितवनमा हरि ढकाल रवि लामिछाने नेतृत्वको पार्टीबाट घन्टी चिन्ह लिएर उठेका छन् भने नयन बास्तोला, दिनेश हुमागाईंजस्ता उम्मेदवार लौरोबाट उठेका छन् । सेयर बजारबारे यीनीहरुलाई अलि बढी थाहा छ।  लगानीकर्ताका समस्या पनि यीनलाई बढी थाहा छ । अरुले घोषणापत्रमा लेखेका सेयर बजारसम्बन्धि एजेन्डा त यीनका नशा नशामा छन् । र त सेयर बजारको सतह बुझेकाहरुले चुनाव जितेको खण्डमा उनीहरुले गर्ने लविङले पनि राम्रै अर्थ राख्नेछ भन्ने कुरामा कुनै शंका छैन ।
हुन त कुरा सबैको सुन्ने हो, तर निर्णय आफुले लिने हो । अहिले अरुका कुरा सुनेर भोट हाल्ने र भोलि तिनैलाई गाली गर्नुभन्दा भोट हाल्नुअगाडी १० पटक सोच्नु ठिक हुनेछ । जसले जित्छ-जित्छ लाग्छ, उसैलाई भोट दिनुभन्दा पनि राम्रालाई सबैले भोट हालेर उसलाई जिताउँदा परिणाम राम्रो निस्कने हो । काठमाडौँका बालेन्द्र शाह र धरानका हर्क साम्पाङ्ग, उदाहरण साक्षी छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: