×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा अर्को बुल सुरु हुन लागेको हो ? वा अझै १००-२०० अंक घट्दैछ बजार ? (भिडियो रिपोर्ट)

काठमाडौं । Share Market is like a drunk man on the open road, अर्थात सेयर बजार खुला बाटोमा हिँडेको एउटा जड्याहाजस्तै हो, जो कुन बेला कता जान्छ पत्तो हुँदैन । र त गत बुलमा पनि ३२०० हाराहारीमा पुगेको बजार, घटेको घत्यै गरेर १८०६ आसपासमा आई पुन: बढेको छ । यो बीचमा कतिपयले अरवौं कमाए । अझ ठोस भन्दा, झन्डै १०० बढी मान्छे करोडपतिबाट अर्बपति बने गत बुलमा । तर नमिठो तथ्यचाहिं के हो भने, यहि बुलमा हजारौं लगानीकर्ताले अरवौं पैसा गुमाए । नजानी, नबुझी, लहैलहैमा लाग्दा र साथीभाईले कमाए भनेर बजारमा हाम फाल्दा हजारौंको बिल्लीबाठ भएको छ यतिबेला । यतिसम्मकि सेयर बजारमा भएको घाटा सहन नसकेर केहिले आफ्नो ज्यान नै समेत फालेका छन् । र त कसैको कुरा सुनेर सेयर बजारमा लाग्नु पनि गलत मात्र होइन महागलत हो । किनकि सेयर बजार जोखिमको क्षेत्र हो ।
हो, सेयर बजार निर्दयी छ । यसले विचरा यो गरिब छ, यसको पैसा धनीको पोल्टामा हाल्नु हुँदैन भन्दैन । सेयर बजार कठोर छ, यसले जसले सक्यो त्यसैलाई पैसा दिन्छ, जसले जानेन त्यसलाई डुबाई दिन्छ । सेयर बजार झेली पनि छ, कहिलेकाहीं सिधा नियमभन्दा बाहिर गएर उसले आफ्नै नियम बनाउँछ । सेयर बजार धोकेबाज पनि छ, उसले एउटा बाटो देखाएजस्तो गरेर अर्कै बाटोमा आफ्नो लय समात्छ । तर धैर्यता र अनुशासनमा रहे सेयर बजार सुन्दर छ, जसले लाखलाई करोड, र करोडलाई अर्वसमेत बनाउँछ ।
अव त धेरैले बुझिसके, जव जव बैंकको ब्याज उच्च हुन्छ, सेयर बजारले बटम लगाउने तयारी गरिरहेको हुन्छ । जव ब्याजदर एकदम सस्तो हुन्छ, र मान्छेहरु भकाभक ऋण लिएर बजार प्रवेश गरिरहेका हुन्छन्, कारोबारले आकाश छोएझैं हुन्छ, तव बजारले टप लगाउन खोजिरहेको हुनसक्छ । अव त धेरैले यो तथ्य पनि बुझिसके, बजारको आफ्नै लय हुन्छ, आफ्नै गति हुन्छ, र बजार आफ्नै गतिमा अविराम, अविरल दौडीरहन्छ । बजारले कसैको विश्लेषण सुन्दैन, कसैको क्रन्दन सुन्दैन, बजारले कसैको आलाप सुन्दैन, हारगुहार सुन्दैन । भेलु बाजेले पख्नुस त पख्नुस त भनेजस्तै लगानीकर्ताले पख्नुस त पख्नुस त भनेर जति कराए पनि सेयर बजार आफ्नै लयमा दौडीरहन्छ ।
झन्डै ३२०० मा पुगेको बजार आफ्नै लयमा थियो । तर बुलको यात्रामा रहेको बजारलाई पोलिसीले नमज्जासँग डण्डा चलायो । नेपाल धितोपत्र बोर्डले ५१ वटा जोखिमपूर्ण कम्पनीको सूची निकालेपछि सेयर बजारले आफ्नो लयमा ब्रेक लगायो । त्यसपछि नेपाल राष्ट्र बैंकले ४-१२को कर्जा नीति ल्यायो, त्यसले बजारको उल्टो यात्रा सुरु गरायो । अझ विज्ञहरु त यसो पनि भन्छन्, राष्ट्र बैंकको नीतिका विरुद्ध अल्लारे आन्दोलन हुँदा त्यसले बजारलाई झन् झन् घटायो । आज बढ्ला भन्यो, बढ्दैन, भोलि बढ्ला भन्यो बढ्दैन, पोर्टफोलियो घटेको घट्यैछ, बजारले बढ्ने छाँटकाँट नै देखाउँदैन। यस्तो हुँदा हुँदा कतिपय लगानीकर्ताको पोर्टफोलियो आधा भईसकेको थियो । हुँदा हुँदा बजार १८०६ हाराहारीसम्म आइपुग्यो ।
तर बजार घटेर सार्है विरक्तिएका लगानीकर्ताहरु घटेको बजारमा प्रवेश गर्न सकिरहेका छैनन् । यसका केहि कारणहरु छन्। एक त धेरैसंगै पैसा नै छैन। भएको पैसासमेत एभरेजीङ गर्दा गर्दा सकिसक्यो । ऋण खोज्ने स्थिति छैन, बैंकसंगसमेत पैसा छैन। आर्थिक मन्दी र चाडबाडका कारण सरसापटी गर्ने वातावरण छैन । बजार घट्दाको जति पीडा थियो लगानीकर्तालाई, त्यहाँभन्दा बढी पीडा घटेको बेला सेयर किन्न नपाउँदा भएको छ । अव बजार धेरै घट्दैन भन्ने पनि थाहा छ, बजार बढ्नुको विकल्प छैन भन्ने पनि थाहा छ, तर पनि सेयर किन्ने पैसा नै नभएपछि कसकेको ले लाग्यो र ? धेरै सेयर लगानीकर्ताहरु अहिले यहि समस्याबाट गुज्रिरहेका छन् ।
के बजार अव बढ्छ त ?
एउटा विन्दुसम्म घटेपछि बजार बढ्नुको विकल्प छैन । विज्ञहरुका कुरा सुन्दा पनि सेयर बजारको बियरिस चक्र लगभग सकिएको छ अव बजार बुलिस लयको तयारी गर्दैछ । तर सँगै बुझ्नुपर्छ, प्राविधिक रुपमा पनि बजारले बुलिस संकेतको कन्फरमेसन दिएको छैन । त्यसैले हतारिएर भएभरका पैसा सक्काउनु गलत हुनसक्छ । फेरी बजार २००-३०० अंक घट्न सक्छ भन्ने तथ्यलाई कसैले नकार्न सकेको छैन। तर तपाईंसँग पैसा छ भने विस्तारै विस्तारै सो पैसालाई बजारमा लगाउने बेलाचाहिं अव आयो है भन्ने कुरामा कुनै पनि शंका छैन ।
के अव बजार घट्दैन त ? बजार घट्न पुगेको हो त ?
त्यस्तो होइन । जसले जति ठुला कुरा गरे पनि सेयर बजारमा यस्तो हुँदैन । सेयर बजारले कहिले ठुला ठुला ब्याड न्युज पनि पचाउँछ, कहिलेकाहीं ठुला ठुला गुड न्युज पनि सुनेनसुनेझैं गर्छ। कहिलेकाहीं एउटा सानो ब्याड न्युजले पहिरो जान्छ, कहिले एउटा सानो गुड न्युजले सर्किट लाग्छ । त्यसैले बजार अलिअलि बढ्न थालेपछि यत्र, तत्र सर्वत्र विश्लेषकका नाममा देखिने ठिष्लेशकका कुरा सुनेर होइन, आफुले बुझेर लगानी गर्नुपर्छ । अझै पनि अवको बजार घट्दै घट्दैन, १८०६ नै बटम हो भन्न सकिने कुनै अवस्था छैन ।
त्यसो भए बजार कहिले बढ्छ त ?
धेरैको प्रश्न हुन सक्छ यो । बजार १८०६ विन्दुबाट फर्किएको छ । यसको अर्थ बजारले एउटा बटम छोएर फर्किएको हो कि भन्नेचाहिं हो, तर बजारले अझै पनि बुलिस कन्फर्मेसन नदिएका हुनाले बुलिस लय सुरु भयो भन्न सकिने अवस्था छैन । तर एक लयमा बढेको बजार अव घटेर कुन विन्दुसम्म आईपुग्छ भन्ने तथ्य हेरेपछि त्यसले अवको बजार बुलिस लयमा हो वा होइन भन्ने कन्फरमेसन दिन्छ । यदी अव बजारले बुलिस कन्फरमेसन लिएको हो भने बजार बढ्नुको विकल्प छैन। तर त्यसो भएन भने बजार पुन: केहि सय अंक घट्ने कुरामा दुईमत छैन ।
त्यसो भए अव कुर्ने कि किन्ने त ?
बजारले सधैं अवसर दिंदैन। तर सधैंको बजारलाई अवसरका रुपमा लिन सकिने स्थिति पनि रहन्छ । यदी तपाईंसँग पैसा छ, र सो पैसा ऋणको होइन भने अव बजारमा थोरै थोरै गरेर प्रवेश गर्दा पनि हुन्छ भन्ने सुझाव जानकारहरुको छ । तर ऋण नै गरेर, बैंकको १६-१७४ प्रतिशत ब्याज नै तिरेर, मान्छेहरुसँग २ रुपैयाँ ब्याजमा लिएको पैसा भने सेयर बजारमा हाल्ने अवस्था यो नहुन सक्छ । एकैपटक धेरै होइन, अलिअलि गरेर सेयर किन्ने हो भने, अहिले सेयर किन्नेहरुले अवको लगभग ६महिना मा मिठो रिटर्न पाउँछन् भन्ने दाबी विश्लेषकहरुको छ । फेरी अव फाइदा हुने दिन आयो भनेर जस्तो पायो त्यस्तै कम्पनी किनेर हुँदैन । उचालिएका, पछार्न ठिक्क भएर बसेका कम्पनीहरुभन्दा राम्रो वित्तीय अवस्था भएका कम्पनीहरु छान्ने हो भने अवको बजार यात्रा सुन्दर मात्र छैन, सार्है सुन्दर छ ।
सुन नै भए पनि सुनलाई सुनको भाऊमा किन्नुपर्छ, सुन नै त हो नि भनेर दोब्बर, तेब्बर पैसा हाल्नु मुर्खता हो । तर त्यहि सुन सार्है सस्तियो भने किन्नुपनि पर्छ । र त्यहि सुन सस्तियो भन्दैमा भाउ भन्दा कममा बेच्नुपनि मुर्खता हो । त्यस्तै छ सेयर बजार पनि । अघिल्लो पटक यो त सुन कम्पनी हो भनेर धेरै लगानीकर्ताले दिनुपर्ने भन्दा बढी मूल्य दिए धेरै कम्पनीहरुलाई । र त ती धेरै कम्पनीको नियति नेपाल लाइफ इन्स्योरेन्सको जस्तै भयो । कम्पनी राम्रो नै हो, तर मूल्य अचाकली बढी थियो । अझ फलामे कम्पनीलाई कतिपय सुन नै हो भनेर किने । तर आखिर फलाम त जति जलप लगाए पनि आखिर फलाम न हो, अहिले त्यस्ता धेरै कम्पनीहरुका सेयर भाउ नमज्जासँग तल झरेका छन् ।
केहि कम्पनीहरु त यसरी उचालिए कि बजारमा अव ती कम्पनीको उच्चतम मूल्य हामीले कुन दिन देखौंला भन्नु नै बेकार छ । अवको बलमा, अर्को बुलमा होइन तपाईं हाम्रो पुस्ताले नै सेयरको सो भाउ नदेख्ने सम्भावना ठुलो छ । दुख गरेर कमाएको पैसा फोकटमा लोभमा खेर नफालौँ । लोभले लाप, लापले बिलाम हुने ठाउँ, सेयर बजार जस्तो गतिलो उदाहरण पाइने ठाउँ, अर्को कुनै छैन । सँगै सेयर बजार यस्तो ठाउँ हो, जसले तपाईंको लाखलाई करोड बनाउँछ, करोडलाई अरब बनाउँछ । यो अनुशासन भएर खेलिने खेल हो । खेल्न जान्नेहरुका लागि यो पैसा खल्तीमा होइन, बोरामा बटुल्ने ठाउँ हो ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: