×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मार्केट ब्रिफिङ : यी हुन् बजारलाई अझै माथि लैजाने ‘सम्भावित ५ गुड न्युज’, ‘बीचमा बिग करेक्सन’को सम्भावना कति ?

अर्थ सरोकार

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार

PRIME CA

मार्केट ब्रिफिङ : यी हुन् बजारलाई अझै माथि लैजाने ‘सम्भावित ५ गुड न्युज’, ‘बीचमा बिग करेक्सन’को सम्भावना कति ?

काठमाडौँ । सरकार फेरिएपछि, अर्थमन्त्री फेरिए । अर्थमन्त्री फेरिएपछि मन्त्रालयमा काम गर्ने तरिका फेरियो । व्यवसायीहरुलाई लुटेरामात्र देख्ने सरकारको नजर फेरियो । सेयर बजारलाई हेर्ने तरिका फेरियो । सेयर बजारलाई हेर्ने सरकारको तरिका फेरिएपछि लगानीकर्ताको मनोविज्ञान फेरियो । अन्य नियामकसँग अर्थमन्त्रीको सामिप्यतामा आएको समस्याको अवस्था फेरियो । नियामकको पनि हिमचिम फेरियो, नियामकको सरकारलाई हेर्ने नजर फेरियो । नियामकलाई सरकारले र सरकारलाई नियामकले गर्ने सहयोगको तरिका फेरियो । सबैथोक यसरी फेरिए, कि मानौं अव सब ठिक हुँदैछ । र सब ठिक हुँदैछ भन्ने लागेपछि सेयर बेच्ने हतारिएका लगानीकर्ताको मुड फेरियो । लगानीकर्ताको मुड फेरिएपछि ब्रोकर हाउसमा रौनताका फेरियो । नेप्से इन्डेक्सको लय फेरियो, रातो-रातो बनेर सधैँ लगानीकर्ताको सात्तो लैजाने बजारको रंग फेरियो । र फेरिँदैछन् सेयर बजारका अन्य थुप्रै आयामहरु पनि ।
बजारमा अझै बाँकी छन् सम्भावित गुड न्युज
सेयर लगानीकर्ताहरुले धेरै पछि नाफाको स्वाद चाखेका छन् यतिबेला । धेरै पछि पोर्टफोलियो हरियो भएको हेर्न पाएका छन् लगानीकर्ताले । एकाध स्वाभाविक र सामान्य करेक्सन छोडेर सेयर बजार मापक नेप्से परिसूचक निरन्तर बढिरहेको छ । लगानीकर्ता हौसिएका छन् । घटेका बेला ‘ए-किन न हो, किन्ने बेला यहि हो, अहिले नकिने कहिले किन्छौ, किन्ने रातोमै हो भनेर’ जो जति चिच्याए पनि, आफैँ विज्ञजसरी जो जो -‘कहाँ हुनु बजार त अझै घट्छ, १२०० सम्मै आउँछ’ भनेर कथित विज्ञता प्रस्तुत गरिरहेका थिए, उनीहरु नै बजार झन्डै २०० भन्दा माथि पुगिसकेपछि सेयर किन्न हतारिएका छन् । खैर, बजार केहि सामान्य करेक्सनहरुलाई छिचोल्दै अझै माथि जाने आधारहरु प्रशस्तै छन् । आखिर त्यस्ता सम्भावनाहरु के के हुन् त ?
१. सेयर लगानीकर्ता ढुक्क छन्, अव बजारलाई गाह्रो हुने खालको मौद्रिक नीति आउँदैन । बिगतमा पनि स्थिति देशको अर्थतन्त्रमा थिएन बरु नियामकको नेतृत्वको सरकारप्रतिको नजरमा थियो भन्ने सबैले बुझिसके । अव सेयर बजारलाई गाह्रो हुने खालको नीति राष्ट्र बैंकले बनाउँदैन भन्ने कुरामा लगानीकर्ता ढुक्क छन् । लगानीकर्तामात्र होइन अर्थमन्त्री विष्णु पौडेल स्वयम् यो कुरामा ढुक्क छन् । उनले सेयर लगानीकर्तालाई भेटेर नै भनेका छन्- म भएसम्म तपाईंहरुलाई गाह्रो हुनेगरी काम हुन दिन्न । यता नेपाल राष्ट्र बैंक यस विषयमा सचेत छन् । अहिलेको एमालेसहितको गठबन्धनलाई सकेको सहयोग गर्नुपर्छ भन्ने राम्रो हेक्का छ उनलाई । र यहि तथ्यका बीच लगानीकर्तामा आएको कन्फीडेन्सले खास मान राख्छ बजारमा ।
२. अर्थमन्त्रीमात्र होइन, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सेयर बजारका लगानीकर्तालाई गाह्रो हुने विषय कहीं कतैबाट नआओस् भनेर सचेत छन् । कुनैबेला सेयर बजारलाई सट्टाबजार भनेका प्रचण्ड, सेयर बजार त सट्टाबजार होइन सत्ताले सहयोग गर्नुपर्ने बजार रहेछ भन्ने तथ्यसम्म पुगेका छन् । सत्ताले सेयर बजारलाई सहयोग नगरे सत्ता हल्लिने हैसियतसम्म राख्दोरहेछ सेयर बजारले भन्ने तथ्य प्रचण्डले राम्रोसँग बुझेका छन् । यसको पछिल्लो उदाहरण, प्रचण्डले अर्थमन्त्री र गभर्नरलाई बोलाएर बुधबार सेयर बजार र समग्र अर्थतन्त्रबारे छलफल गरे । अर्थमन्त्री जनार्दन शर्मा मन्त्री हुँदा मुस्किलले अर्थ मन्त्रालय पुग्ने गभर्नर, प्रचण्डसँगै प्रधानमन्त्री निवासमै भेटिए । यसले पनि सरकार र राष्ट्र बैंकको सम्बन्ध सार्है राम्रो भएको छ भन्ने बुझ्ने गाह्रो छैन ।
३. सरकारको दबाब, व्यवसायीको दबाब र स्थिति पनि सहज भएकाले अव ब्याज घट्नुको विकल्प छैन । हुन त ब्याज पुष देखि नै घट्नुपर्ने हो । तर त्यतिबेला सरकार पूरानै थियो । सरकार पूरानै भएपछि सोच र योजना पनि राष्ट्र बैंकको समेत पूरानै थियो । नयाँ सरकार आएपछि सरकारका प्रधानमन्त्रीले नै राष्ट्र बैंकलाई सकेसम्म ब्याज घटाउन निर्देशन दिईसकेका छन् । अर्थमन्त्रीले राष्ट्र बैंकमाथि हस्तक्षेप गर्दैनौं त भनेका छन्, तर सो भनाई नै राष्ट्र बैंकमाथि पूरै हस्तक्षेप भएर, चालुपूँजी कर्जासम्बन्धि निर्देशिका परिमार्जन गर्न लगाएर, बेलुकी आएको ब्रिफिङ हो । त्यसैले अव राष्ट्र बैंकले व्यवसायी वा सेयर बजारका लगानीकर्ताका विरुद्ध कुनै कदम चाले, सिधै सके प्रचण्ड, नसके अर्थमन्त्रीसम्म पुगे समस्या समाधान हुन्छ भन्ने तथ्य धेरैले बुझिसके । त्यसैले पनि बजार माथि नाजानुपरने कारण छैन । र जसले जति जे भने पनि मुख्य कुरो बैंकको ब्याज हो । ब्याज घटिसकेपछि सेयर बजारमाथि जान्छ भन्ने कुरामा दुईमत रहेन ।
४. बजारमा लगानीयोग्य रकम मनग्य जम्मा हुन थालिसकेको छ । अव बजारमा सेयर मूल्य माथि जाने यो अर्को कारण हो । बैंकहरुले सेयर कर्जा दिन अहिले पनि आफु तयार भएको बताईरहेका छन् । ब्याज पनि घटेपछि र बजारमाथि जाने स्पष्ट आधार देखेपछि घटेको ब्याजमा सेयरकर्जा लिनेहरु पक्कै बढ्छन् । यस कारण पनि बजारमा अव पैसा धेरै आउँछ । र सेयर बजार बढ्ने देखिन्छ ।
५. अर्कोतर्फ चालुपूँजी कर्जा सम्बन्धि निर्देशिका परिमार्जन भएको छ । व्यवसायीलाई यसले थप सहज भएको छ । अर्थात चालुपूँजी कर्जा भनेर बैंकबाट पैसा लिएर सेयर बजारमा हालेकाहरुले अव हतारहतार सेयरबाट पैसा झिक्नुपर्दैना । यो तथ्य पनि सेयर बजारका लागि सकारात्मक छ ।
६. सेयर ब्रोकर लाइसेन्स खोल्ने प्रक्रियामा अदालतले धितोपत्र बोर्डकै पक्षमा फैसला सुनाउँछ भन्ने संकेत देखिएको छ । परिमार्जन भएको यससम्बन्धि नियमावलीविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गर्नुले पनि यसको स्पष्ट संकेत गर्छ । र त सेयर ब्रोकर नयाँ आउने, नयाँ स्टक नयाँ आउने लगायतका कारणले पनि बजारलाई नयाँ खालको कन्फिडेन्स दिन्छ । योसँगै सेयर बजारलाई राम्रो हुनेगरी थप नीतिगत व्यवस्थाहरु पनि आउने क्रममा छन् । यसले पनि सेयर बजारलाई बलियो नै बनाउने देखिन्छ ।
सँगै, बजार हो । सेयर बजार घट्न पनि सक्छ भन्ने कुरालाई नकार्न भने सकिन्न । देशको अर्थतन्त्रको स्थिति उही हुँदा पनि एक मन्त्री फेरिएकै कारण यति धेरै सेयर बजार बढ्यो वा कसरी बढ्यो भन्नेहरुले एउटा तर्क गर्न थालेका छन्- ‘बजारमा ठुलो करेक्सन’को सम्भावना छ । तर के त्यस्तो सम्भावना छ त ? अहँ ! विज्ञहरु यो तर्क मान्न तयार छैनन् । धेरै बढेपछि केहि सामान्य करेक्सन आउनु बजारको नियम नै हो । तर ठुलो करेक्सनको सम्भावना तत्काल देखिंदैन । बरु २२ माथि सेयर बजार पुगेपछि केहि समय साइडवेज चल्छ कि भन्ने सम्भावना प्राविधिक रुपमा देखिन्छ । १८०० देखि किनिएका सेयरको प्रफिट बुक र पिकमा फसेकाहरुले सावाँ आयो, अव बाटो लाग्छु भनेर बेचे भने पनि केहि समय सेयर किन्ने र बेच्नेहरु उही रुपमा हाबी हुँदा केहि समय बजार तल पनि नआउने र माथि पनि नजाने हुन सक्छ । तर यसले बजारलाई तल नै ल्याउँछ भन्ने कुराचाहिं विश्लेषकहरु मान्न तयार छैनन् ।
त्यसो भए के अव बजार बुलिस नै हो त ?
यो कुरामा भने विज्ञहरुको फरक मत छ । बजार बुलको तयारी गरिरहेको छ । तर बजारले बुलिस लयको कन्फरमेसन भने दिईसकेको छैन । यसका लागि थप केहि समय कुर्नुपर्ने हुन सक्छ । तर बजारको यात्रा बुलतिरै हो भन्ने कुरामा कुनै पनि शंका छैन । मुख्य कुरा कन्फीडेन्स न रहेछ । लगानीकर्ताको आत्मविश्वास माथि भएपछि साँढे त उफ्रेको उफ्रयै गर्ने रहेछ । र अहिले बजारमा त्यहि भएको छ ।
भनेको के अव सेयर किन्ने समय हो त ?
सेयर किन्ने समय त एकुमुलेसन फेजमा थियो । जुन बेला बजार १९०० हाराहारी थियो । त्यो बेला किन, किन भन्दा खिसिट्युरी गर्नेहरुले अहिले खास नाफाको स्वाद पाएनन् । अव त बजार केहि बढीसक्यो । एउटा करेक्सन कुर्छु भन्ने तर्क पनि ठिकै होला । बजार बढ्ने लयमा भएका बेला म किनेर प्रफिटको टार्गेट राखेर अघि बढ्छु भन्ने सोच पनि ठिकै हो । तर ओहो बर्बाद नै भयो, ट्रेन नै छुट्यो, खत्तम नै भयो, साथीहरुले छाप्नु पैसा छाप्ने भए, म चाहिं हेरेको हेर्यै हुने भएँ भनेर आत्तिएर भोलि नै, आज नै भए भरको पैसाले सेयर किन्नु भने प्रत्युत्पादक हुन सक्छ । बाँकी त जसको पैसा, उसकै मर्जी ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: