×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘किस्ता तिर्ने समय आईसक्यो, तर विमानस्थलको व्यापार छैन’, नेपालले कसरी तिर्ला एक्जिम बैंकको २८ अर्ब बढी ऋण !

PRIME CA
GLOBAL IME BANK

‘किस्ता तिर्ने समय आईसक्यो, तर विमानस्थलको व्यापार छैन’, नेपालले कसरी तिर्ला एक्जिम बैंकको २८ अर्ब बढी ऋण !

१५ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । देशमा कुनै पनि सडक बन्नु, बाटो बन्नु, पुल बन्नु, विमानस्थल बन्नु वा कुनै पनि भौतिक पूर्वाधार बन्नु राम्रो कुरा हो । पोखरामा अहिले अन्तराष्ट्रिय विमानस्थल बनेको छ, यो त झनै राम्रो कुरा हो । सुन्दर नगरी पोखराबाट नै अव विदेश आवतजावत हुनु पनि राम्रो कुरा हो । तर पोखरा विमानस्थलले थेग्नै नसक्नेगरी लिईएको ऋणले देशको अर्थतन्त्र बर्बादीको बाटोमा गईरहेको छ भने, त्यो नराम्रोमात्र होइन गम्भीर सोचनीय कुरा हो । किनकि थेग्नै नसक्नेगरी ऋणको भारी बोक्दा के हुन्छ भन्ने तथ्य, अहिले लघुवित्तको ऋण तिर्न नसकेर गाउँ नै छोडेर हिंडेका महिलाहरुबाट प्रष्ट हुन्छ । कतै हाम्रो देशको अर्थतन्त्र पनि एउटा महँगो विमानस्थलका कारण गलत मोडमा जाने त होइन ? अनि त्यहि ऋण तिर्न सकेनौँ भनेर कतै हामीले हाम्रो स्वाभिमान दाउमा लगाउनुपर्ने त होइन ? कुरा गम्भीर छ ।
स्वाभिमानकै बार्गेनिङ्गको चिन्ता
पोखरा अन्तराष्ट्रिय विमानस्थल यहि जनवरी १ बाट संचालनमा आएको छ । अर्थात अव अर्को जनवरी १ बाट नेपालले सो विमानस्थल बनाउँदा लिएको ऋणको र ब्याज भुक्तानी प्रक्रिया सुरु गर्नुपर्नेछ । विमानस्थल निर्माण गर्न चिनियाँ एक्जिम बैंकबाट २८ अर्ब रुपैयाँ भन्दा बढी ऋण लिईएको छ । सावाँ र सो सावाँको ब्याज तिर्दा नेपालको खरबौं रुपैयाँ चीन पुग्छ, यो एउटा गम्भीर विषय त हो नै, त्यो भन्दा महत्वपूर्ण कुरा भनेको यो विमानस्थलले सो ऋणको किस्ता तिर्नेगरी कमाई गर्न नसक्ने स्थिति छ, जसका कारण नेपालले सो ऋण तिर्न सक्ने अवस्था रहन्न । त्यसपछि चिनियाँ पक्षले यहि ऋणलाई स्वाभिमानकै बार्गेनिङको विषय त बनाउने होइन ? भन्ने विषय सबै भन्दा महत्वपूर्ण छ ।
झन्डै ५० बर्ष अघि नै पोखरा अन्तराष्ट्रिय विमानस्थलको कन्सेप्ट सोचिएको भए पनि यसको विस्तृत परियोजना प्रतिवेदन भने सन् १९९८ मा तयार भएको थियो । नेपालमा मात्र होइन, चिनियाँ पक्ष विश्वका अन्य थुप्रै राष्ट्रहरुमा पनि यसरी नै ब्याजमा लगानी गर्छ । जव ऋण र ऋणको ब्याज तिर्न सो देशले सक्दैन, तव उसको कुटिल खेल त सुरु हुन्छ नै, यसले सो देशको अर्थतन्त्रलाई बर्बाद पारेको इतिहास पनि छ । केहि समय अगाडी श्रीलंका झन्डै टाँट पल्टेको पनि चिनियाँ ऋणकै कारण थियो ।
कति छ विमानस्थलको ऋण ?
पोखरा विमानस्थलको निर्माण कार्यको छलफल अघि बढ्दा डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । त्यहिबेला चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले काठमाडौँ भ्रमण गर्दा पोखरा विमानस्थल सहितका क्षेत्रमा ऋण दिने प्रतिवद्धता जनाएका थिए । छलफल र सम्झौता प्रक्रिया अगाडी बढेपछि सन् २०१६ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि चीनको एक्जिम ब्याङ्कले २१५.९६५ मिलअन अमेरिकी डलर अर्थात अहिलेको भाउ अनुसार २८ अर्ब ६ करोड रुपियाँ ऋण उपलब्ध गराउने निर्णय लिएको थियो । र नेपाललाई अव यो ऋण कसरी तिर्ने भन्ने तनाव छ । नागरिक उड्डयन प्राधिकरणले पनि सो विमानस्थल निर्माणका लागि डेढदेखि दुई अर्ब रुपियाँसम्म खर्च गरेको र जग्गा अधिग्रहणका लागि सरकारको आठ अर्ब रुपियाँसम्म खर्च गरेको छ । अर्थात यो विमानस्थलमा देशको ठुलै रकम खर्च भएको छ ।
चीनको एक्जिम बैंकबाट झण्डै २ प्रतिशत ब्याज तिर्नेगरी ऋण लिईएको छ । यो ऋणको ब्याज ७ बर्षसम्म तिर्नु नपर्ने भनिएको छ र बाँकी ऋण २० बर्षसम्म तिरीसक्नुपर्ने सम्झौतामा उल्लेख छ । ७ बर्षको ब्याज पनि तिर्नै नपर्ने होइन, ७ बर्षसम्म तिर्नुनपर्ने भनेको मात्र हो । यो सामान्यतया निर्माणसम्बन्धि कामको ऋणमा सबैतिर हुन्छ । सो ब्याज सावाँमै पूँजीकारण हुन्छ । भन्न त कुल रकममध्ये २५ प्रतिशत ब्याज मिनाहा भनिएको छ, तर ७५ प्रतिशत ऋणको ब्याज तिर्दा र सावाँ तिर्दा नेपाललाई निकै गाह्रो हुने देखिन्छ ।
ब्याज तिर्नुनपर्ने समय यो बर्ष सकिन्छ । र अर्को बर्षदेखि ब्याज र किस्ता चिनियाँ बैंकलाई तिर्नुपर्छ । झट्ट सुन्दा तपाईंलाई लाग्दो हो, नेपालमै १७ प्रतिशतसम्म बैंकको ब्याज छ भने यति २ प्रतिशत ब्याज त नेपालले तिरीहाल्छ नि । तर कुरा त्यस्तो होइन, नेपालको ब्याजसँगै चिनियाँ पक्षलाई तिर्नुपर्ने किस्ता रकम ठुलो हुन आउँछ । त्यसमाथि यो ऋणको किस्ता भनेको विमानस्थलकै बिजनेशबाट तिरिनुपर्छ, जुन अहिले असाध्यै गाह्रो छ ।
किस्ता तिर्ने समय आईसक्यो, तर बिजनेश छैन 
त्यसमाथि सार्है राम्रो बिजनेश भए त ऋण तिर्न सकिने अवस्था पनि होला, तर पोखरा अन्तराष्ट्रिय विमानस्थलको हकमा सो तथ्य पनि सम्भव देखिन्न । केहि समय अगाडी भएको विमान दुर्घटनाले पोखरा अन्तराष्ट्रिय सिमानस्थलप्रतिको अन्तराष्ट्रिय विश्वास घटेको मात्र छैन, छिन्नभिन्न नै भएको छ ।  यहि कारण पनि विमानस्थलको बिजनेश बिग्रिने स्थति छ र यहि कारण पनि चिनियाँ ऋण तिर्न थप चुनौती देखिएको छ । अन्तराष्ट्रिय उडानमा देखिएको विमानकम्पनीको उदाशीनता र हिचकिचाहटले पोखरा विमानस्थलमा थप चुनौती थपिएको छ ।
विमानस्थलकै बिजनेशले यो ऋण तिर्न सकिने अवस्था सार्है न्युन छ । यहि कारण बुझेर नै विमानस्थल उद्घाटनकै क्रममा प्रधानमन्त्री प्रचण्डले चीनलाई सो विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गरेका थिए । चीन छिमेकी मात्र होइन, कुटिल छिमेकी हो । उसले सो ऋण मिनाहा गर्यो नै भने पनि त्यसमा उसको ठुलो स्वार्थ हुन्छ भन्ने बुझ्न गाह्रो छैन । र त यो विमानस्थल नेपाली राष्ट्रिय स्वाभिमानप्रति चिनियाँले खेल्ने क्रिडास्थल होला कि भन्ने तनाव नेपालीहरुलाई छ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल बन्नु सार्है राम्रो कुरा हो । तर विमानस्थलका नाममा ऋणको पासोमा परेर नेपाली अर्थतन्त्रमा समस्या हुनु भने गलत कुरा हो । मागेको रोटीले मेरो पेट भरिन्न भनेजस्तै मागेको पैसाले मेरो भूमिमा बनेको संरचनाले मेरो स्वाभिमानमाथि प्रहार हुन्छ भने, त्यो किमार्थ स्वीकार गर्न सकिन्न ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: