×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१७ लाख बढी डिम्याट खाता कसरी भए रित्तो ? ३२ प्रतिशत खातामा १ कित्ता सेयर पनि छैन ! (भिडियोसहित)

कोरोना कालमा देशभर लकडाउन गरियो । देश नै ठप्प भएपछि नेपालीसँग गर्ने काम नै केहि भएन । एक दिन दुई दिन भन्दा भन्दै लकडाउनको अवधि बढिरह्यो, कसैसँग गर्ने काम नै भएन । अन्त लगानी गर्ने ठाउँ नभएपछि पैसावालहरु पनि सेयर बजारमा भित्रिए । ठिकै पैसा भएकाहरु पनि सेयर बजारमा प्रवेश गरे । ठुला लगानीकर्ताले बजारमा पैसा खन्याउन थालेपछि बजारमा कारोबार रकम बढ्न थाल्यो, सेयर बिक्री गर्नेको तुलनामा सेयर खरिद गर्न खोज्नेहरु बढ्न थालेपछि सेयर बजार पनि अस्ति भन्दा हिजो बढी, हिजो भन्दा आज बढीजसरी बढ्न थाल्यो ।
एक त जागिर, व्यापार केहि पनि नभएका बेला, त्यसमाथि सेयर बजारबाट हेर्दा हेर्दै साथीभाई, नातागोता छिमेकीहरुले पैसा कमाएको देखेपछि जो कोहि पनि लोभिए । सबै व्यापार व्यवसाय ठप्प भएका बेला भएका कारण पनि चौतर्फी चर्चा सेयर बजारकै हुन थाल्यो । र त भर्खर जन्मिएको बच्चादेखि बुढी भएकी हजुरआमासम्मका नाममा सेयर भर्ने, भराउने काम भयो ।
यहि बेला ‘ब्याक टु ब्याक’ आईपीओको बाढी नै आयो । सेयर बजार ‘बुलिस’ लयमा भएका बेला आईपीओ जारी गर्दा आईपीओ बिक्री नहुने समस्या नहुने हुनाले कम्पनीहरु पनि यहि बेला आइपीओ ल्याउन बढी लालायित भए । बजारमा यतिसम्म देखियो कि, लगानीकर्ता र आईपीओ जारी गर्ने कम्पनीबीचको मेला चलिरहेको थियो । र त आईपीओ भर्न वा सेयर बजारमा लगानी गर्न डिम्याट खाता खोल्नै पर्ने भयो । अनि त, रातारात डिम्याट खाता खोल्नेहरुको संख्या ह्वात्तै बढ्यो । कोरोना कालसम्ममा १७ लाख हाराहारी डिम्याट खाता थिए । अहिले डिम्याट खाताको संख्या ५५ लाख बढी पुगिसकेको छ ।
१० कित्ता सेयर पर्दा, १२ हातको फुर्ति !
नेपालमा कोरोना भित्रिएका बेला सेयर बजारको चर्चा यसरीसम्म भयो कि धेरैले साथीभाईलाई, ‘ओहो तैले अझैसम्म डिम्याट खाता खोलेको छैनस् ?’ भनेर साथीहरुले खिसी गर्न थालेका थिए । १० कित्ता आईपीओ पर्दा १२ हात उफ्रेर केक नै काटेर फेसबुकमा हाल्न थालेका थिए लगानीकर्ताहरु । अझ लघुवित्तको आईपिओ पर्ने बितिकै १०औं गुणा बढेको देखेका लगानीकर्ताहरुमध्ये कतिले सेयर बेचेर मोबाइल किने, कतिले ल्याबटप किने, कति ट्रेकिङ्ग गए, कतिले रमाइलो गरे । र यो सब रमाइलोले सेयर बजारमा थप नागरिकलाई आकर्षित गर्यो र गरिरह्यो । परिणाम, सेयर बजारबारे चासो नै नराख्नेहरुले पनि डिम्याट खाताचाहिं खोलिराखौं न भनेर डिम्याट खाता खोले । र हिजो भन्दा आज बढी लगानीकर्ता, आज भन्दा भोलि बढी लगानीकर्ता हुँदाहुँदै डिम्याट खाताको संख्या लाखौँ पुग्यो । यो सामाग्री तयार गर्दासम्म डिम्याट खाता खोल्नेको संख्या ५५ लाख ७१ हजार सात सय ९९ पुगिसकेको छ।
र, यहि ५५ लाख लगानीकर्ताको संख्यालाई आधार बनाएर नेताहरुले ५० लाख बढी सेयर लगानीकर्ताहरु छन् भनेर भाषण दिन्छन् कहिलेकाहीं । यहि तथ्यांकलाई आधार बनाएर धेरैले ५५ लाख हाराहारी सेयर लगानीकर्ताहरु छन् भन्ने गरेका छन् । तर खास तथ्यचाहिं के हो भने, डिम्याट खाता झण्डै ५५ लाख ७२ हजार भए पनि त्यसको ३२ प्रतिशत डिम्याट खाता भने निष्क्रिय छन् । ती खाता निष्क्रिय पनि यसरी निष्क्रिय छन् कि ती खाता खुले तर एक कित्ता पनि सेयर ती खातामा आएनन् । अर्थात, ती खातामा आजसम्म १ कित्ताको सेयर कारोबार भएको पनि छैन ।सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांक अनुसार कुल १७ लाख ६३ हजार एक सय १३ डिम्याट खाता आजको दिनमा निष्क्रिय छन्।
१७ लाख खातामा १ कित्ता सेयर पनि छैन !
सिडिएससीका अनुसार १७ लाख ६३ हजार एक सय १३ डिम्याट खातामा आजसम्म एक कित्ता सेयर पनि छैन । न आईपीओको सेयर छ, न ती लगानीकर्ताले दोश्रो बजारमा लगानी गरेका छन् । यी मध्ये केहि खाताबाट आईपीओ भरेको तर कहिल्यै नपर्ने हुनाले ती खाता रित्तो देखिएको पाइएको छ भने अधिकांस खाताबाट आइपीओमासमेत आवेदन नदिएको पाइएको छ । एउटै मान्छेका दुई खातासम्म हुने हुनाले पो यस्तो भएको हो कि भन्ने आशंका गर्न पनि सिडिएससीको तथ्यांकले दिंदैन । सिडिएससीको तथ्यांक अनुसार यस्ता खातामा एकै व्यक्तिका दुई खाता अर्थात डुब्प्लिकेट खाता नगन्य छन् । अर्थात झन्डै १७ लाख बढी डिम्याट खाता आज पनि नामका मात्र खाता छन् ।
सिडिएससीको तथ्यांक अनुसार २०७८ साल माघ मसान्तसम्ममा निष्क्रिय डिम्याट खाताको संख्या १३ लाख २२ हजार ५८ थियो । त्यसपछि खोलिएका डिम्याट खाताहरुमध्ये चार लाख ४१ हजार ५५ खाता निष्क्रिय छन् । अझ पछिल्लो समय खोलिएका डिम्याट खातामध्ये निष्क्रिय रहेका खाताको संख्या झन् ठुलो छ । २०७८ साल फागुन यता खोलिएका कुल ६ लाख ६४ हजार खातामध्ये चार लाख ४१ हजार ५५ खाता निष्क्रिय छन् । अर्थात, ती खाताबाट सेयर कारोबार भएको छैन । अर्थात पछिल्लो समय खुलेका डिम्याट खातामध्ये दुई तिहाई खाता नै निष्क्रिय छन् । यसले सेयर बजारमा लगानी गर्नका लागि भनी डिम्याट खाता खुलिएपनि, सक्रिय लगानीकर्ताको संख्या पनि निकै कम देखाउँछ ।
निष्क्रिय खाता बढी रहनुका केहि खास कारण छन् । एक त ‘बुल’ बजारमा जसले पनि डिम्याट खाता खोल्यो । आईपीओ भर्ने नाममा, ‘सेयर पछि भरौंला, डिम्याटचाहिं खोलिराखौँ न’ भनेर, वा ‘एउटा डिम्याट खाता पनि छैन ?’ भनेर साथीहरुले खिसी गर्लान् भन्ने पीरले पनि धेरैले डिम्याट खाता खोले । अझ केहि समय अगाडी त धेरै मर्चेन्ट बैंकरले नि:शुल्क डिम्याट खोल्ने अभियान नै चलाए । डिम्याट खाता खोल्नेहरुले खोल्न त खोले, त्यसपछि सेयर बजार केहि पनि थाहा छैन, थाहा नभएपछि कारोबार गर्ने कुरै भएन । सेयर बजारबारे चेतना दिने काम सार्है कम भयो । नेप्से र नेपाल धितोपत्र बोर्डलाई यस विषयमा चासो दिने फुर्सद नै भएन । यहि बेला विदेशमा रहेका नेपालीहरुले पनि भकाभक डिम्याट खाता खोले । उनीहरुलाई सम्बन्धित देशमै रहेका नेपालका मर्चेन्ट बैंकरका एजेन्ट र ब्रोकरहरुले सहयोग गरे । र यसरी, अन्तत: सेयर कारोबार नगर्ने तर डिम्याट खाता हुनेहरुको संख्या ह्वात्तै बढ्यो । यतिसम्म कि कतिले त मेरो पनि डिम्याट खाता छ वा मेरो पनि डिम्याट खाता खोलिएको छ भन्ने पनि बिर्सिसके ।
निष्क्रिय खाता संधैका लागि बन्द गर्ने तयारि !
निष्क्रिय खाता राम्रो कुरा हुँदै होइन । यहि तथ्यलाई मनन गर्दै अव यस्ता खाता बन्द गराउने तयारी सिडिएससीले गरेको छ । यस्ता खोलेर मात्र राखिएका तर नवीकरण नगरिएका खातालाई निश्चित मापदण्ड तोकेर बन्द गराउने प्रक्रिया अघि बढेको सीडिएससीले जनाएको छ । यस्ता खाता होल्ड गरेर कुनै पनि फाइदा नहुने निष्कर्षसहित त्यस्ता खाता बन्द गराउने प्रक्रिया सुरु गर्ने तयारीमा सीडिएससी छ । यसका लागि सीडिएससीले नियामक धितोपत्र बोर्डसँग अनुरोध गरिसकेको छ । लगातार तीन-चार वर्षसम्म सक्रिय नभएका तथा नवीकरण नभएका खातालाई निष्क्रिय गर्ने व्यवस्था गर्ने तयारीमा सीडिएससी छ ।
यसो त सेयरमा लगानी गर्छु भन्नेहरुलाई पनि पहिला खोलिएका तर नचलाइएका खाता प्रयोग गर्नुभन्दा नयाँ खोल्न फाइदा हुन्छ । पुरानो डिम्याट खाता खोल्दा वार्षिक १०० रुपैयाँको दरले शुल्क तिर्नुपर्छ । तर, नयाँ खाता बढीमा रु १००मै खोल्न सकिन्छ । अझ कतिपय मर्चेन्ट बैंकरहरुले त अहिले पनि फ्रीमै डिम्याट खाता खोलिदिने गरेका छन् । त्यसैले पनि एकपटक राम्रो फिल्टर हुने हुनाले पूराना निष्क्रिय खाता बन्द गराउने तयारीमा सीडीएससी छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: