×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकमा पोष्ट मर्जरको लफडा-३ : डेपुटी सिइओ खनालले बैंक छोड्न लागेका हुन् ? यस्तो छ विवादको नालीबेली…

PRIME CA

कुमारी बैंकमा पोष्ट मर्जरको लफडा-३ : डेपुटी सिइओ खनालले बैंक छोड्न लागेका हुन् ? यस्तो छ विवादको नालीबेली…

२८ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौं । यतिबेला कुमारी बैंकको पोष्ट मर्जर लफडा चर्चामा छ । बैंकभित्र २ कर्मचारी युनियन भएपछि एकातर्फ इगोको लडाईँ छ भने अर्कोतर्फ २ कर्मचारी युनियनकै कारण बैंकका कर्मचारी नै दुई कित्तामा बाँडिएपछि कर्मचारी–कर्मचारी, र कर्मचारी–व्यवस्थापनबीच टसल देखिएको हो । तत्कालीन एनसीसी बैंकबाट आएको कर्मचारी युनियनले खुलेरै बैंकका डेपुटी सिईओविरुद्ध आन्दोलनको चेतावनी दिईसकेको छ भने तत्कालीन कुमारी बैंकको कर्मचारी युनियनपनि आफ्नो युनियन नै एकमात्र युनियन होस् भन्ने चाहिरहेको छ । दुई युनियनबीचको विवादलाई बैंकका डेपुटी सिईओ रामचन्द्र खनालले मलजल गर्दा टसलले झन् उग्र रुप लिएको छ । यतिसम्मकी स्थिति डेपुटी सिईओ र सिइओमध्ये कसले बैंक छोड्ने भन्नेसम्म आइपुगिसकेको छ ।

त्यो सरुवाको प्रयास, जसले बैंकको विवाद उत्कर्षमा पुर्यायो…

अहिले बैंकमा देखिएको विवाद एक सरुवासँग बढी जोडिएको देखिन्छ । मर्जरलगत्तै बैंकका डेपुटी सिइओ रामचन्द्र खनालले नयाँ बानेश्वरस्थित बैंककी ब्रान्च मेनेजर तृप्ती रानालाई सुदूरपश्चिम सरुवा गरिदिए । आफुलाई परेको अन्यायविरुद्ध तत्कालीन एनसीसी बाट आएको युनियन देखिएको र आफ्नै युनियनले भने ख्याल नगरेपछि उनले तत्कालीन एनसीसी बैंकबाट आएको कर्मचारी युनियनमा जोडिने निधो गरिन् ।

यसो त यतिबेलासम्म रानाको सरुवा रोक्न बैंकमा राजनीतिक फोन समेत आउन थालिसकेको थियो । राना नेपालकी एक मन्त्रीकि आफन्तसमेत हुन् । तर पनि खनाल रोकिएनन् । राजनीतिक पावरको प्रेसर र तत्कालीन एनसीसी बैंकबाट आएको कर्मचारी युनियनमा जोडिएको झोकमा डेपुटी सीईओ खनालले सुदूरपश्चिम सरुवा भएको ३ महिनापछि ब्रान्च मेनेजरको भूमिकाका रहेकी तृप्तीलाई अपरेशन इन्चार्जमा घटुवा गर्दै कुमारीपाटी शाखामा सरुवा गरिदिए । त्यसपछि विवादले झनै उग्र रुप लिएको देखिन्छ ।

रानाको विषयलाई लिएर खनाल र राना आवद्ध संगठनको सम्बन्ध बिग्रनु स्वभाविक थियो । रानामात्र होइन, खनालले छानी–छानी आफ्ना मान्छेलाई सरुवा गरेर पूर्वाग्रही बनेको आरोप तत्कालीन एनसीसीबाट आएको युनियनले लगाउँदै आएको थियो । विवाद यहाँसम्म पुगिसक्दा पनि खनाल रोकिएनन् । केही समयअघि भएको मेनेजर्स मिटमा खनालले राना आवद्ध भएको संगठन खारेज हुनुपर्ने आशयको अभिव्यक्ति दिए । त्यसपछी त झन् आगोमा घ्यु थपिएझैँ भयो । आफ्नो युनियन खारेज गर्न खोजेको भन्दै युनियनले विज्ञप्ति नै निकालेर खनालविरुद्द आन्दोलनको चेतावनी दियो । उनै रानालाई काठमाडौंबाट सुदुरपश्चिम सरुवा गरेको प्रकरण हुँदै उनी आवद्ध युनियन खारेज गर्नुपर्ने आशय दिएपछि झन् उग्र भएको कुमारी बैंकको लफडा अब कि डेपुटी सिइओले बैंक छोड्ने, कि सिइओ रमेश राज अर्यालले बैंक छोड्ने भन्ने तहसम्म पुगेको छ ।

खनालले बैंक छोड्न लागेको चर्चा !
बैंकमा खासै भईपरी आउने विदा नलिने खनाल यो बीचमा विदामा बसे । उनी एक दिन विदामा बसेका के थिए, उनी अर्को बैंकमा अन्तरवार्ताका लागि गएको चर्चा चल्यो । उनले सिद्धार्थ बैंक र एनआईसी एशियाबाट अफर लेटर नै लिईसकेको चर्चासमेत छ यतिबेला ।

उनले बैंक छोड्न लागेको चर्चामा अर्थ सरोकारले भेरिफाई गर्न खोजेको थियो । सुरुमा हामीले खनाललाई नै यस विषयमा सोध्यौँ । उनले आफू कतै अन्तरवार्ताका लागि नगएको दाबी गरे । बरु कुरैकुरामा अन्य बैंकका साथीहरुले ‘कि हामीकहाँ आउनुस्’ भनेर कुरा उठाएको भने सत्य रहेको बताए । ‘केही साथीहरुले कि हाम्रो बैंकमा आउनुस् भन्नुभएको हो । तर, अन्तरवार्ताका लागि कतै गएको वा अफर लेटर लिईसकेको भन्ने हल्ला गलत हो ।’, उनले भने ।

बजार चर्चा अनुसार उनी एनआईसी एशिया बैंक जान खोजेका छन् । बैंकमा खनाल आएको खण्डमा एसिइओ दिन सकिने भन्दै बैंकका उच्च अधिकारी र खनालबीच सामान्य इन्फर्मल कुरा भएको एनआईसी एशियाका अधिकारी पनि स्वीकार्छन् । हाल एनआईसी एशियाका सिइओ रोशन न्यौपाने र खनालबीच सार्है राम्रो सम्बन्ध छ । यहि कारण पनि बजारमा चलेको यो हल्लाले प्रशय पाएको देखिन्छ ।

खनाल सिद्धार्थ बैंक जाने चर्चा पनि छ । उनी सिद्धार्थबाटै कुमारी आएका हुन् । तर सिद्धार्थमा खनालसँगै काम गरेका केहिले आफ्नै बैंकमा सँगै उही तहमा काम गरेका खनाल अव आफुभन्दा माथिल्लो तहमा आउने भएपछि खनालको आगमन ठिक नहुने भन्दै प्रतिक्रिया दिएको पाईएको छ । यद्यपी खनाल सिद्धार्थ जानसक्ने विषयमा सिद्धार्थका उच्च अधिकारी र खनालबीच कुराकानी भएको स्वयम् सिद्धार्थका एक उच्च अधिकारी स्वीकार्छन् । ‘हामी राम्रो मान्छेको खोजीमा छौँ । खनालजी त्यसको विकल्प हो भन्ने कुरामा शंका छैन ।’ सिद्धार्थका ती अधिकारीले अर्थ सरोकारसँग भने– ‘अफर लेटर नै लिएको कुरा गलत हो । तर, खनालजीप्रति सिद्धार्थ बैंक पोजेटिभ नै छ ।’

यता कुमारी बैंकका सिइओ रमेश राज अर्याल पनि खनाल अर्को बैंकमा जान लागेको विषयमा आफुलाई केही पनि थाहा नभएको दाबी गर्छन् । अन्य बैंकबाट अफर लेटर नै लिईसकेको चर्चाबारे प्रश्न गर्दा अर्यालको जवाफ छ– ‘थाहा नभएको विषयमा बोल्नु हुँदैन । मलाई यस विषयमा कुनै जानकारी छैन ।’

भिआरएसको चर्चा र खनालको पर्खाई
बजारमा कुमारीले भिआरएस ल्याएर खनाललाई विदा गर्न खोजेको चर्चा पनि छ । स्वयम् खनाल पनि भिआरएस आएको खण्डमा बैंकमा नबस्ने मुडमा रहेको देखिन्छन् । तर, यता बैंकका सिईओ रमेशराज अर्याल भने तत्काल बैंकले भिआरएस नल्याउने बताउँछन् । ‘अस्ति भर्खर भिआरएस ल्याईएको छ । त्यसैले तत्काल फेरि भिआरएस आउँछ र आउनुपर्छजस्तो लाग्दैन ।’ तर, खनाल निकटहरु भने नेपाल बंगलादेश बैंक–नबिल बैंकको मर्जरको केसमा पनि मर्जर अघि र पछि भिआरएस आउने देखिएकोले कुमारीमा पनि खनाल त्यही पर्खाईमा रहेको बताउँछन् ।

रमेश राज अर्यालले बैंक छोड्ने सम्भावना कति ?
तत्कालीन एनसीसीबाट आएका रमेश राज अर्याल मात्र साढे २ बर्षका लागि बैंकको सिइओ बनेका छन् । उनी अहिले नै बैंक छोड्ने मुडमा नभए पनि कार्यकाल नबढाउने बरु बैंकिङ नै छोड्ने मुडमा रहेको चर्चा पनि छ । तर, उनले बैंक छोड्दा र खनाल बैंकमा रहँदा खनालले तत्कालीन एनसीसीबाट आएका कर्मचारीलाई दुख दिने भन्दै कर्मचारीहरु अर्याललाई बैंक नछोड्न दबाब दिइरहेका छन् । बैंक छोड्ने सम्भावनाबारे प्रश्न गर्दा अर्याल बाहिरी कुराले आफुलाई असर नगर्ने दाबी गर्छन् । ‘एउटाले एउटा कुरा भन्छ, अर्कोले हो क्यार भन्छ, हुँदाहुँदै अनावश्यक हल्ला फैलिन्छ । यो पनि त्यस्तै कुरा हो । बोर्डले दिएको जिम्मेवारी पूरा गर्ने हो । सबैलाई मिलाएर लाने हो । अरु केही सोचिएको छैन ।’, उनले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: