कोरोनाकालमा आएको सेयर बजारको बुलले नेपालीलाई सेयर बजारबारे धेरै बुझायो । केहि सिमित मान्छेहरु करोडपतिबाट अरवपति बने, अधिकांस नयाँहरुलाई बजारले चुर्लुम्म डुबायो। किनकि अनुभवी मान्छेहरुलाई बजारमा बढेका बेला बेच्न पनि जान्नुपर्छ भन्ने थाहा थियो । र त बजार २८०० देखि माथि लाग्दा उनीहरु सेयर बेच्दै थिए, नयाँहरु किन्दै थिए । अझ अवस्था यस्तो थियो कि अव बजार घट्न पनि सक्छ भनेर कसैले भन्यो भने, सेयर किनिरहेकाहरु त यसै उफ्रिने नै भए, सेयर बेच्न भ्याईदैन कि भन्नेहरुले सामाजिक संजालमा भाडाका भेडाहरु परिचालन गरे, बजार घट्न सक्छ, बेच्न पनि जान्नुपर्छ है भन्नेहरुलाई छानीछानी श्रद्धान्जली दिए । बजारको पिकमा सेयर किन्नेहरुलाई उनीहरुलाई नै साथ दिए । तर सिमित मान्छेले बजारबाट पैसा बटुलेर लगे, बाँकी सबैले गुमाए । सेयरबजारबारे अध्ययन गरेकाहरुले कमाए, भैंसी बेचेर सेयर किन्नेहरु, सागको मुठो बेचेर सेयर बजारमा लगानी गर्नेहरु अधिकांस डुबे । अरबमा पतिले पसिना बगाएर पठाएको पैसाले बेतालका सेयर किन्दा बेच्नेहरु अर्वपति भए, किन्नेहरुका पति अझै अरबमा छन् ।
अझ बुल बजारले सबैभन्दा गलत मानक आईपीओको केसमा स्थापित गर्यो । आईपीओ भनेपछी जुन कम्पनीको किन्दा पनि हुन्छ भन्ने भ्रमका कारण आएजति आईपीओ, भनेजति मूल्यमा लगानी गरे लगानीकर्ताले । यहि मौकामा सबै हिसाबले सिद्धिएको कम्पनी महँगोमा जनतालाई भिडाएर साहुहरु उम्किए, कति उम्किदैछन्, कोहि उम्किने दाउमा छन् । नियामक नेपाल धितोपत्र बोर्डलाई पनि थाहा छ, आईपीओ निस्कासन गरिरहेका धेरै कम्पनीहरु कम्पनी नामका मात्र कम्पनी छन् । यीनीहरुसँग न क्षमता छ, न योजना । छ त केवल खोक्रा आस्वासन, हुँदै नभएको तथ्यलाई बंग्याएर जनता झुक्याउने तथ्यांक अनि महँगोमा सेयर बेचेर भाग्ने स्पष्ट योजना ।
शिवम सिमेन्टको इन्साईडर प्रकरण अहिले पनि बोर्डमा विचाराधीन छ । नेपाल रिपब्लिक मिडियाको सेयरमा कुन हदसम्म चलखेल भईरहेको छ र भयो भन्ने तथ्य बुझ्नेलाई छर्लंग छ, नबुझ्नेलाई त्यहि सुन भएको छ, जुन एक दिन लसुनको भाउमा पनि नबिक्ने निश्चितप्राय छ । निश्चित सेयर खेलाडीहरुले नमज्जाको चलखेल गरेको र उनीहरु अहिले जेल जाने बाटोमा छन् भन्ने खबरहरु बाहिरिए पनि अहँ, घोराहि सिमेन्टलाई हिरा देख्नेहरु अनि नबिल बैंकजस्ता राम्रा कम्पनीमा धमिरा देख्नेहरु सेयर बजारमा कहिल्यै चेतेनन् । हुन त सबै चेत्ने हो भने चलखेल गर्नेहरुका दिन गईहाल्छन् नि, भीरबाट खस्न खोजेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न त कहाँ सकिन्छ र !
अव प्रसङ्गमा आउँ,
कुराकानी गरौँ बजारमा आउन लागेको अर्को एउटा कम्पनीको आईपीओका बारेमा । कम्पनी हो सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड । अझ आईपीओ आउन लागेको हो प्रिमियम मूल्यमा । हुने नहुने तथ्यांक देखाएर जनताको आँखामा छारो हाल्ने बदनियत बोकेर, मनपरी रुपमा जनतालाई सेयर भिडाएर साहुहरु मोटाउने खेलमा लागेको भन्दै अहिले सो कम्पनी भएको ठाउँका स्थानीयले सो कम्पनीको आईपीओ नै बहिष्कार गरेका छन् । रोल्पामा खानी र दाङको तुलसीपुरमा उद्योग सञ्चालन गरिरहेको सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले २९ साउनदेखि स्थानीयलाई साधारण सेयर (आईपीओ) मा आवेदन खुलाएको त छ, तर सो आईपीओ किनेर भएका दुईचार हजार पनि घट्छ भन्ने तथ्य धेरै लगानीकर्ताले बुझेर होला सायद, गाउँलेहरुले सो आईपीओ नै बहिष्कार गरेका छन् ।
सोनापुरले कम्पनीको कुल जारी पूँजीको ५ प्रतिशतले हुन आउने १५ लाख ३७ हजार ५२५ कित्ता उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका सम्पूर्ण स्थानीयका लागि निस्कासन गर्ने धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । तर, आईपीओ खुलेको १० दिनसम पनि १२५ जना आवेदकले १४ हजार ३ सय ४० कित्ता सेयरका लागि मात्रै आवेदन दिएका छन् । अझ ती आवेदकहरुमध्ये पनि अधिकांशले नबुझी सेयर भरेका छन् । कतिले फर्जी सेयर भरेका होलान्, त्यसको लेखाजोखा हुन नै बाँकी छ ।
घोराही र तुलसीपुर उपमहानगरपालिकासहित दाङका सम्पूर्ण स्थानीय र रोल्पाका सम्पूर्ण स्थानीय तहका जनताले आवेदन दिन पाउने आईपीओमा कम चासो देखिनुको मुख्य कारण हो, वित्तीय सचेतना र कम्पनीले दिएको दुख । नेपाल रिपब्लिक मिडियादेखि घोराही सिमेन्टको आईपीओ आउँदासम्म स्थानीयले, लगानीकर्ताले बुझिसके, यस्ता कम्पनीको नियत के हुन्छ भनेर । दुखजीलो गरेर कमाएको पैसा स्वाहा पार्ने रहर कसलाई पो हुन्छ र ! कम्पनीको आईपीओमा स्थानीयले ११ भदौसम्म आवेदन दिन सक्नेछन् । तर सो मितिसम्म आउनुपर्नेजति आवेदन नआउने देखिन्छ । यसो भएको खण्डमा भदौ २६ गतेसम्म सेयर भर्ने अवधि थपिनेछ । तर जागरुक जनताले सो सेयर नभर्ने निश्चितजस्तै देखिन्छ ।
यस्तो छ कम्पनीको आइपीओ योजना !
कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा आयोजना प्रभावित स्थानीयलाई सेयर निष्कासन गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पाएको छ । तर स्वयम् धितोपत्र बोर्डका अधिकारीहरुको बुझाई सबै कम्पनी राम्रा हुँदैनन् भन्ने नै छ । तर नियमानुसार आएको कम्पनीलाई स्वीकृति दिनुपर्ने बाध्यताले थिचिएको बोर्ड स्वयम् भन्छ- जनता आफैं जागरुक हुनुपर्छ । एउटा कुनै कम्पनीको सेयर नबिके बल्ल यसबारे चेत खुल्थ्यो । अहिले लगानीकर्ताले नै कन्फर्म घाटा हुन्छ भन्ने जान्दाजान्दै सेयर किन्छन्, अनि बोर्डले के गर्नु ?
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजारको ४० प्रतिशतले हुने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका (प्रिमियमबाहेक) १ करोड २३ लाख २०० कित्ता साधारण सेयर उद्योग प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएको छ, जसमध्ये जारी पूँजीको ३५ प्रतिशतले हुने १ करोड ७ लाख ६२ हजार ६७५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसको १० प्रतिशतले हुने १० लाख ७६ हजार २६८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि २९ साउनबाट नै निस्कानस खुला गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि पनि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसा मूल्य तय गरिएको छ ।
अव त विदेशमा बस्नेले पनि ब्नुझ्नुपरने थियो, नाफाका लागि यस्ता सोनापुरजस्ता कम्पनीको आईपोओ भर्नु र काठमाडौँ जान जनकपुरको गाडी चढ्नु के ठिक थियो, वा हो ? । विदेशमा पैसा फल्दैन । खाना छुट्याइएको छ भन्दैमा सढेगलेको खाँदा झाडापखाला लाग्छ । त्यस्तै कोटा छुट्याइएको छ भनेर कमजोर कम्पनीको सेयर किन्नु कति ठिक, कति बेठिक, लगानीकर्ता आफैं सचेत हुनुपर्ने थियो । तर विदेशमा कामको चटारोले आएजति आईपीओमा झटारो हान्ने नेपाली बानीले धेरै यस्ता आईपीओमा फसिसकेका छन् । र त वैदेशिक राजगारीमा रहेका नेपालीहरूले माग भन्दा बढी आवेदन दिइसकेका छन् ।
सर्वसाधारणमा निष्कासन गरिने सेयरको ५ प्रतिशतले हुने ५ लाख ३८ हजार १३४ कित्ता सेयर सामूहिक लगानी कोषको लागि र थप ५ लाख ३८ हजार १३३ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । तर अहँ यो कम्पनीका कर्मचारीले पनि यो सेयर किन्ने छाँटकाँट देखिएको छैन । किन्नैपरे मालिकको मान राखिदिनका लागि मात्र हो । किनकि उनीहरुलाई थाहा छ, कम्पनीको हविगत के छ र हाकिमको योजना कस्तो छ भन्ने । बाँकी रहने ८६ लाख १० हजार १४० कित्ता सर्वसाधारणका लागि निष्कासन हुने हो । यो सेयर पूर्ण रुपमा बिक्री गराउनका लागि कम्पनीले अनेक हतकण्डा अपनाउने निश्चित छ । तर अहँ, कसैगरी पनि यो सेयरमा जनताको रुची हुने छाँट छैन ।
कम्पनीमा गलतचाहिं के छ त ? कहाँ कहाँ झुक्याईदैछ सेयर लगानीकर्ता ?
कुरा स्पष्ट छ, वित्तीय विवरणमा शंका छ, ब्याज पूँजीकरण गरेर नाफा देखाइएको छ, जुन साँचो अर्थमा नाफा नै होइन । कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपैयाँ सञ्चित घाटामा थियो । साधारण सेयर निस्कासन गर्ने उद्देश्यसहित कम्पनी आव ०७६/७७ मा पब्लिक लिमिटेड कम्पनी गएलगत्तै सोही आवदेखि नाफामा गएको देखिन्छ । बीचमा कोरोना आयो, मन्दी आयो, मान्छेले घर बनाउन छोडे तर सिमेन्ट कम्पनी नाफामा गयो रे ! यो भन्दा ठुलो झुट अरु केहि हुन सक्छ ? प्रिमियममा आईपीओ निष्कासन गर्न लगातार ३ आर्थिक वर्षदेखि नाफामा रहेको र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएर एक आर्थिक वर्षको कारोबार पुरा गरेको हुनुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा छ । त्यहीअनुरुप कम्पनीले स्पष्ट योजना बनाएर जनताबाट पैसा उठाउने निधो गरेको छ । यहि माष्टरप्लान अनुसार आर्थिक वर्ष ०७६/७७, आर्थिक वर्ष ०७७/७८ र आर्थिक वर्ष ०७८/७९ मा कम्पनी नाफामा लगियो । नियामकले हेर्ने भनेको त नाफा न हो, दियो स्वीकृति कागज हेरेर । उसको क्षेत्राधिकारभित्र पर्दैन रे हेर्ने, लगानीकर्ता डुबेको त्यहि सेयर किनेर ।
उद्योगले ब्याज पूँजीकरण गरेकाले देखाइएका आर्थिक वर्षमा नाफा भएको स्पष्ट देखिन्छ । ती तीन आर्थिक वर्षमा कम्पनीले करिब ८० करोड रुपैयाँ ब्याज पूँजीकरण गरेर अंकगणितमा खेली आईपीओको स्वीकृति पाएको सो कम्पनीले यहि आधारमा आफ्नो कम्पनी आईपीओमा गएको भनेको छ । कुनै कम्पनीले भौतिक निर्माणका लिएको ऋणमा लाग्ने ब्याज सो निर्माण कार्य नसकिएसम्म पूँजीकरण गर्न पाउँछन् । अझ सजिलो भाषामा भन्दा सो अवधिमा तिरेको ब्याज खर्चमा देखाउनुपर्दैन । यहि ‘लुपहोल’को फाइदा उठाएर कम्पनीले नाफा देखाएको छ । तर सेयर लगानी गर्नुपूर्व हामीले सम्झनुपर्छ अव उद्योग सञ्चालनमा आएसँगै त्यसलाई क्रमशः भुक्तानी गर्दै जानुपर्ने हुन्छ । अनि जव तपाईंले सो कम्पनीको सेयर किन्नुहुन्छ, अनि कम्पनी घाटामा जान्छ । त्यसपछि साहुको नाफा तिब्र गतीमा, तपाईंको पैसा सलल बागमतीमा, भएन त झ्याउँ ?
जनता झुकाएर पैसा उठाउने दाउ !
नयाँ सेयर लगानीकर्ताले बुझ्नुपर्छ पूँजीकृत गरिएको ब्याज पनि कम्पनीको दायित्व नै हो । उद्योग सञ्चालनमा आएसँगै नियमित ऋण भुक्तानी तालिका र पूँजीकृत ब्याजको भुक्तानी तालिका फरक फरक हुन्छ । तर लुपहोललाई टेकेर वित्तीय विवरणमा चलखेल गरी जनताको आँखामा छारो हालेको यो कम्पनीले विवरणपत्रमा कुल लागत ८ अर्ब ७१ करोड दाबी गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७८/७९ मा कम्पनीको दिर्घकालीन बैंक कर्जा ३ अर्ब ७० करोड १४ लाख ७४ हजार र अल्पकालीन बैंक कर्जा १ अर्ब ७९ करोड ९१ लाख २४ हजार रुपैयाँ रहेको दाबी गरेको छ । खासामा दीर्घकालीन प्रकृतिको कर्जामा मात्रै ब्याज पूँजीकरण गर्न पाइन्छ । अझ त्यसमध्ये पनि क्षमता विस्तारका लागि लिएको ऋणको ब्याज मात्रै पूँजीकरण गर्न पाइन्छ । तर, कम्पनीले सबै कर्जाको ब्याज पूँजीकरण गरेर वित्तीय विवरणमा ठुलो चलखेल गरेको छ । यो चलखेल थाहा नपाउनेहरु सेयर किन्न लालायित छन्, कतिले किनिसके । तर सर्वसाधारणले सेयर किनेपछि साहुहरु कम्पनीबाट केहि समयपछि निस्किन्छन् र खोक्रो कम्पनी जनताको हातमा हुँदा हातमा सून्यबाहेक केहि लाग्दैन भन्ने तथ्य धेरैले बुझेका छैनन् ।
कम्पनीका प्रतिनिधिहरुलाई यस विषयमा सोध्दा उनीहरुको जवाफ गोलमटोल आउँछ । तर उनीहरुले भनेको तथ्य विवरणपत्रमा देखिंदैन । यसको सिधा अर्थ हो, यो कम्पनीमा गम्भीर चलखेल भएको छ । जनतालाई फसाउने काम हुँदैछ ।अझ अर्को तथ्य त के हो भने कम्पनीले पछिल्लो ३ आर्थिक वर्षमा सेयरधनीलाई लाभांश दिएको छैन । ३ बर्षसम्म दुध नदिने गाईलाई तपाईं के भनेर पाल्नुहुन्छ ? त्यहि पैसामा तन्न दुध दिने गाई किन्न सकिने बजारमा दुध नदिने गाई किनेर राखिरहनु मुर्खता होइन र ? कम्पनीले चुक्ता पूँजी १ अर्ब ८४ करोड ५० लाख १९ हजार तोकेको छ । कम्पनीको सञ्चित नाफा तथा जगेडाभन्दा बढी पूँजीकरण गरिएको ब्याज छ । यसले पनि कम्पनीको ब्याजदर पूँजीकरण माथि शंका गर्नुपर्ने ठाउँ दिएको छ ।
अझ अर्को खास कुरा त के पनि छ भने अल्पकालीन ऋणको ब्याज पूँजीकरण गर्न पाइँदैन । तर, ०८० असार मसान्तमा कम्पनीको चालु सापटी २ अर्ब ८८ करोड ३८ लाख रुपैयाँ छ । अन्तिम लेखापरीक्ष नै नभएको गत आर्थिक वर्षको २०७९/८० को वित्तीय विवरणमा पनि ब्याज पूँजीकरण गर्नुले कम्पनीले संस्थागत सुशासनको धोती लगाएको प्रष्ट हुन्छ ।कम्पनीको वित्तीय विवरणमा डेडिकेटेड फिडरबापत तिर्नुपर्ने रकमलाई पनि नाफामा देखाइएको पाइएको छ, जुन झुटको मात्र होइन जनताको आँखामा छारो हालेर लुटको अभ्यासको नमुना पनि हो । तर सेयरमा १० कित्ते नीति हुँदासम्म जस्तो कम्पनीको पनि सेयर बिक्री हुने अवस्था देखिएकोले अन्डरराइटिङ प्रभावकारी हुन सकेको छैन । यो कुरा स्वयम बोर्ड पनि स्वीकार्न तयार छ । तर बोर्ड पनि किन्नेले सेयर किनिदिएपछि हाम्रो के लाग्छ र भन्ने आशयको तर्क गर्छ ।
तीन बर्षदेखि आम्दानी घटेको घट्यै, तर तीन बर्षदेखि नाफामा देखाइएको छ कम्पनी !
यो कम्पनी २०६५ साल जेठ ३१ गते दर्ता भएको कम्पनी हो । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा ८६ बिघा क्षेत्रफलमा फैलिएको प्लान्टबाट जेठ २०६९ बाट सिमेन्ट र क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको यो कम्पनीले सोनाश्रीलगायत ६ वटा ब्राण्डमा सिमेन्ट उत्पादन गर्छ । कम्पनीको विवरणपत्रमा उल्लेख भए अनुसार कम्पनीको ओपीसी सिमेन्ट उत्पादन क्षमता वार्षिक क्षमता १ लाख ७२ हजार ०७२ मेट्रिक टन, पीपीसी सिमेन्ट उत्पादन क्षमता वार्षिक ५ लाख ४९ हजार ४८० मेट्रिक टन र पीएससी सिमेन्ट उत्पादन क्षमता वार्षिक ४९ हजार ९२४ मेट्रिक टन पुगेको छ भने क्लिङ्कर उत्पादन क्षमता वार्षिक २ लाख १३ हजार ३५७ मेट्रिक टन र विद्युत उपभोग २२ हजार केभीए पुगेको छ ।
३ बर्षदेखि घटीरहेको छ बिक्री, एकै बर्षमा तीन गुणा विक्री घटाउने भन्दै जनताको आँखामा छारो हाल्दैछ कम्पनी !
कम्पनीको बिक्री तीन बर्षदेखि घटिरहेको छ, तर कम्पनीले निरन्तर तीन बर्षदेखि कम्पनी नाफामा गएको देखाएको छ । तथ्यले प्रमाणले विगतका वर्षहरुमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी घट्दो क्रममा रहेको प्रष्ट पार्छ । आर्थिक बर्ष २०७७/७८ २ अर्ब ९२ करोड १९ लाख आम्दानी गरेको कम्पनीको आम्दानी २०७८/७९ मा २ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ मात्र छ । अझ आर्थिक बर्ष २०७९/८० सम्म आईपुग्दा कम्पनीको आम्दानी १ अर्ब ७७ करोड ५३ लाख थियो । तर कम्पनीले आर्थिक बर्ष २०८०/८१मा ४ अर्ब ८९ करोड ५५ लाख ५० हजार आम्दानी गर्ने प्रक्षेपण गरेको छ, जुन आकासको फल, आँखा तरी मर भनेजस्तै हो । निरन्तर बिक्री घटिरहेको कम्पनीले यो आर्थिक बर्षमाचाहिं के त्यस्तो गर्छ होला वा गर्न सक्छ होला जसको कारण उसको बिक्री २.७५ गुणा बढी होला र ! यो भन्दा ठुलो झुट अरु केहि हुन सक्छ ?
विवादित कम्पनीले गरेको छ प्रक्षेपण प्रमाणित !
अझ खास कुरा त अर्को पनि छ । कम्पनीको प्रक्षेपित वित्तीय विवरण एनबीएसएम एण्ड एसोसिएट्सले पुनरवलोकन गरी प्रमाणित गरिएको छ । यो कम्पनीका पार्टनर निल बहादुर सारुमगर नेपाल धितोपत्र बोर्डमा पूर्व सदस्य पनि हुन् । त्यसैले पनि बोर्डबाट स्वीकृति पाउन कम्पनीलाई गाह्रो भएन । बोर्डले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बाट प्रतिनिधित्व गर्ने सीएको नेतृत्वमा अध्ययन गरेपछि मात्रै स्वीकृति दिन्छ । आइक्यानबाट प्रतिनिधित्व गर्ने व्यक्ति आइक्यानको उपाध्यक्ष हुन्छ । निलबहादुर सारु मगर आफैं आइक्यानको चुनावमा राम्रो प्रभाव पार्ने व्यक्ति भएकाले उनी संग्लग्न कम्पनीले गरेको काममा मुसुक्क हाँसेर खुसुक्क सहि धस्काउनु बाहेक बोर्डमा रहेका ती सिएसँग पनि विकल्प रहन्न । र त उच्च रुपमा विक्री आय बढ्ने प्रक्षेपण तथ्यमा आधारित नहुँदा नहुँदै पनि सबैले आँखा चिम्लिएको देखिन्छ ।
साहुको ऋण तिर्न र सापटी फिर्ता गर्न जनताबाट उठाईदैछ पैसा !
यो कम्पनीले आईपीओबाट उठाएको पैसा बैंकको ऋण तिर्न र सप्लायर्सको बाँकी भुक्तानी चुक्ता गर्न प्रयोग गर्दैछ । कम्पनीले विभिन्न बैंकको १ अर्व बढी ऋण तिर्न बाँकी छ । कम्पनीले आईपीओबाट २ अर्ब ८९ करोड ६१ लाख ७० हजार रकम संकलन गर्ने र त्यसमध्ये १ अर्ब कम्पनीको चालु दायित्व अन्तर्गतको सप्लार्यर्सको रकम भुक्तानी गर्ने कुरा स्पष्ट पारिसकेको छ । जनताबाट उठाएको थप पैसा अर्थात ८९ करोड ६१ लाख ७० चालु प्रकृतिका सम्पत्तिहरु चुनढुङ्गाको उत्खनन् तथा खरिद, अन्य सम्पूर्ण कच्चा पदार्थ, प्याकिङ मेटरियल, कोइला र इन्धनको खरिद/पैठारी गरी मौज्दात कायम गर्न लगानी गर्ने कम्पनीको दाबी छ ।