×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोटबासीको यो हदसम्मको पीडा, एकै चिहान भएका सबैको सामुहिक दाहसंस्कार (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार

PRIME CA

जाजरकोटबासीको यो हदसम्मको पीडा, एकै चिहान भएका सबैको सामुहिक दाहसंस्कार (भिडियो ब्रिफिङ)

जाजरकोट । यसै पनि एक ट्याबेलेट सिटामोल नपाएर मृत्युबरण गर्नुपर्ने बाध्यताले पिरोलिएका बिकट जाजरकोटका बासिन्दाको जीवनमा खास सुखानुभूति सायदै भयो । भूगोललाई दोष दिएर होला सायद, जाजरकोट सरकारको बिकासे रोजाई कहिल्यै भएन । अनि यहाँका जनताहरु फगत भोटका अंकमात्र बनिरहे, लामो समयसम्म । देशमा व्यवस्था फेरियो, तर जाजरकोटबासीको अवस्था फेरिएन । गाँस, बास र कपासका लागि सधैं–सधैँ लडिरहे जाजरकोटबासी । र पनि जिन्दगी जसोतसो चलिरहेकै थियो । झुप्रै भए पनि घरथियो, एक सरो भए पनि कपडाको जोहो थियो, खोले नै भए पनि पेट भर्न पुगीरहेथ्यो दुई छाक । तर नियति यति धेरै क्रुर भएर आयो, कि उसले दिनभरी काम गरेर थाकेका जाजरकोटबासी, केहि समय आराम गरिरहेका छन् भन्नसम्म दिएन । मध्यरातमा हल्लियो जमिन, ऐया भन्न नपाई आफ्नै घरले किचेर स्वास बन्द गरिदियो ।

छोराले आमा दुख्यो भन्न पनि पाएन, छोरीले बाबा हल्लियो घर भन्न पनि भ्याईन, बुडा बाले ल झन् आत्था दुख्यो भन्न पनि पाएनन् । सन्तानको खुसीका लागि अघिल्लो साँझ बालिएको दियो निभ्यो, सँगै निभ्यो भगवानप्रतिको भरोसा, निभ्यो आसाको दियो, घरसँगै भत्किए सपनाका अग्ला महलहरु । हजुरबुबा आफैं बिते, बाले सन्तान गुमाए, सन्तानले बा गुमाए, परिवार सकियो, पशु चौपाया सकिए, अन्न पुरियो, सबै सकियो । काठको खोंचबाट च्याँ च्याँ गरिरहेको बालकलाई उठाउने कोहि भएन, दलिनले किचिएर खुट्टा गुमाएका ठुलादाजुलाई छुटाउने कोहि भएन । कोहि भएन आमाको सिन्धुर पुछिने भएपछि म छु नि भन्नलाई, कोहि भएन बाँचेका, तिमी नभए म मर्छु नि भन्नलाई । सर्वश्व लग्यो भुकम्पले, सबै भत्कियो, सबै पुरियो ।

भुकम्पले त परिवारमात्र लगेन, बरु बाँचेकाहरुलाई बिचल्ली बनाएर गयो । अहिले पनि बेला बेला थर्काईरहन्छ भुकम्प, हल्लाईरहन्छ थोरै भाग्नावशेष बाँकी रहेको झुपडी, हल्लाईरहन्छ जमिन, अनि हल्लाईरहन्छ बल्ल बल्ल बाँचेको मुटु । भूकम्पले घर भत्काएपछि, भएको अन्न पुरिएपछि, अहिले न ओत दिने एउटा त्रिपाल छ, न बिरामी हुँदा खाने औसधि छ, न भोक लाग्दा पुग्ने खाने कुरा छ । छ त केवल त्रास छ, थोरै बाँकी रहेको स्वास छ, अहँ दिनहुँ पूजा गर्ने भगवानप्रति पनि भरोसा छैन । हेलिकोप्टरमा उडेर यो बिजोग हेर्न आउनेहरुप्रति कुनै अपेक्षा छैन । बस्, भोको भेटले एक पुरिया बिस्कुट खोजेको छ । कठै लालाबालाहरुले एक फाँको च्युरा खोजेका छन् । रात प्रकृतिले चिसो बनाएकी छिन्, न ओढ्ने छ, न ओछ्याउने । सग्लो बचेका घर कुनै छैनन्, आफन्तका लासले गाउँ ढाकिएको छ । टेकेको जमिन पनि थप हल्लिएर यो प्राण लैजाला भन्ने पीर छ ।

हो, हाम्रो प्यारो कर्णालीको जाजरकोट, र हाम्रै प्यारो पश्चिम रुकुम रोहिरहेछन् यतिबेला । देशभित्र देश खोज्दै देश कुरिरहेका छन् देशबासीहरु । आशा अरु केहि छैन, बस सरकारले बाँचेकाहरुको उद्धार गरोस्, भोकाएकाहरुले खान पाउन्, कलिला लालाबालाहरुले कठ्याङग्रिएर मर्नु नपरोस् । र विकल्प छैन फेरी उठ्नुको, त्यसैले उठाउने हातहरु चाहिएका छन्, साथहरु चाहिएका छन् ।

सरकार विरोधका लागि मात्र होइन, राम्रो कामका लागि राम्रो पनि भन्न सक्नुपर्छ हामीले । जाजरकोटमा विपत्ति आएपछि प्रधानमन्त्री प्रचण्डले जे जे गरे, त्यो स्वागतयोग्य छ । एकाविहानै सम्बन्धित ठाउँ पुगेर, जनताको अवस्था बुझेर, आफुले प्रयोग गरेको हेलिकोप्टरमा घाइतेहरु ल्याएर, सहयोगको निर्णय गराएर उनले जे जे गरे, जनताले उनलाई स्याब्बास भनेका छन् । स्थानीय सरकारले पनि गज्जबको काम गरिरहेको छ । संचारमाध्यमहरुले आफ्नो धर्म निर्वाह गरिरहेका छन् । सुरक्षाकर्मीहरु साथ दिईरहेका छन् । दैबले दुख दिए पनि डाक्टरहरु भगवान बनेर सेवा गरिरहेका छन् । कर्पोरेट हाउसहरुले सहयोग सामानहरु, सहयोग राशी पठाईरहेका छन् जाजरकोटमा । आयल निगम, नेपाल टेलिकम, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु सबैले आफ्नो ठाउँबाट भुकम्प पीडीतलाई सहयोग गरिरहेका छन् । सबैसबैलाई सलाम छ । सबै सबैलाई धन्यवाद छ । हामी फेरी उठ्नु छ यो जन्जिरबाट । हामी फेरी उठ्नुछ यो वियोगबाट, यो नमिठो सत्यबाट, यो कहालीलाग्दो वर्तमानबाट ।

पीडा बेहिसाब छ, रोदनको कुनै सीमा छैन । सँगै बाँच्ने, संगै मर्ने कसम खाएका खासम बितेपछि एउटी विधवा नारीको चित्कार सुनिनसक्नुछ जाजरकोटमा । आफ्नो प्राणबाट जन्म दिएको सन्तानले आमासमेत नभनी सदासदाका लागि संसार छोडेपछि आमाको क्रन्दन थामीनसक्नु छ । बुढेसकालमा साथ दिने छोरो बितेपछि आमा बा भक्कानिएका छन् । बा आमा सबै बितेपछि बाँचेका घाइते छोराको बिल्लीबाठ छ । यो मृत्यु कति भयानक हुँदो रहेछ । आफन्तको निधनको पीडा कति गहिरो हुँदो रहेछ । घरसँगै मन भत्किने रहेछ, पशु चौपाया मरेको हेर्न आँखाले नसक्ने रहेछन्, आफन्तको मरेको शरीरको त के कुरा गर्नु ? र त आँखा अविरल बगिरहेछन्, आफन्तको यादमा, हल्लिएको जमिन सम्झेर ।

तर जे नहुनु थियो, त्यो त भईसक्यो । अव पीडाका खाताले भरिएका नागरिकको घाउमा मल्हम लगाउनुछ । सपना मारेर आफैं नरहेकाहरुलाई सदगद गर्ने मात्र होइन, बाँचेकाहरुलाई ज्युँदै मर्न नपरोस् भनेर बचाउनु छ आफु बाँचेको आभास हुनेगरी । र त्यसका लागि पनि उही तपाईं हाम्रो सहयोग चाहिएको छ जाजरकोटबासीलाई ।

बरु एक कप चियाँ कम खाउँ, जाजरकोटबासीलाई सहयोग गरौँ, किनकि अहिले हामीलाई तलतल लागेको भन्दा ब्यग्रसँग जाजरकोटबासीलाई प्यास लागेको छ । प्यासमात्र होइन, अत्यास लागेको छ । बरु यसपालीको जाडोमा पूरानै ज्याकेट लगाउँ, सहयोग गरौँ जाजरकोटबासीलाई । किनकि हाम्रो छानो छ, ओढ्ने ओछ्याउने छ, पूरानै भए पनि लुगा छ, तर जाजरकोटबासीको त आङमा भिरेको एक सरो कपडाबाहेक केहि छैन । चिसिएको मौसममा बेलुकी ओढ्न केहि छैन । त्रिपालले कति नै स्याण्ठ धान्दो हो र ! झरी परे, अझ बिजोग हुने खतरा छ । आएको तलवमा यसपाली थोरै बचत गरौँ, खाने गरेको खानामा थोरै कम गरौँ, आखिर मर्नैपर्ने रहेछ एक दिन, र त बाँचेकाहरुलाई बचाउन सहयोग गरौँ । सरकारले गर्ने सरकारले गरिहाल्छ, हामी आफ्नो हुनुको नाताले सहयोग गरौँ । सरकारले जसरी भनेको छ, जसरी आफु सकिन्छ, त्यसरी सहयोग गरौँ । आफ्नो सन्तान एक पटक लड्दा, दुई दिनसम्म चोट लाग्ने हाम्रो मुटुलाई साक्षी राखेर, सर्वश्व गुमाएका ती कलिला नानीहरु सम्झेर सहयोग गरौँ । भगवानले भगवान बन्ने मौका दिएका पो हुन् कि, भगवान सम्झेर सहयोग गरौँ । जति सकिन्छ गरौँ, जसरी सकिन्छ गरौँ, तर सहयोग अवश्य गरौँ, हाम्रा नानीबाबुहरुलाई, बाँचेका हाम्रा बा आमाहरुलाई, हजुरबुवा, हजुरआमाहरुलाई, बाँचेका सबै नेपालीहरुलाई । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: