काठमाडौँ । आजको साँझ, जब काम गरेर जागिरबाट कोठामा फर्कँदा लाग्छ ठूलै युद्ध जितेर आए जस्तो, ओहो !
आजको काम धन्न केन्द्र बैठकमा सबैको किस्ता रकम आयो । आज त मज्जाले सुतिन्छ । कर्जा माग पनि भयो, हाकिमले पनि हासेर ‘जानु अब’ भन्नु भयो । सँधै यस्तै दिन आए त !
ओहो ! भोलि त केन्द्र नम्बर ३२ को दुई जना दिदि त भारत जानु भएको छ । कसरी किस्ता मिलाउने ? यही महिनामै जानुपर्ने ? उफ !
मनमा प्रश्नहरुको ओहिरो लागेर आउँदा निद्राले आत्तिएको शरिरलाई ओछ्यानमा अढेस् लगाउँदै सपनामै भए पनि ‘सबैको किस्ता मिलाउन पाए त !’ भन्दै भोलिको दिन सम्झेर सुत्दै कति दिन जागिर जोगाउने ? उफ ! भुसुक्कै निदाएको पत्तो नै भएन ।
हुन त मेरो भन्दा पनि धेरै अरुको समस्या अझ बलियो होलान् । संस्थाको प्रमुख अर्थात सीइओलाई सञ्चालक समितिलाई संस्था बलियो, राम्रो र मजबुत बनाउने रिपोर्ट पेश गर्न र संस्थालाई नाफामुखी बनाउन सकस । दोस्रो व्यक्ति, डिसीइओलाई विभागीय प्रमुखलाई निगरानीमा राखेर कार्ययोजना बनाउने र सञ्चालन समितिलाई टार्गेट बुझाउने अनि खुसी बनाउने सकस ।
अनि, विभागीय प्रमुखलाई कसरी आफ्नो विभागको गतिविधि र जिम्मामा रहेको काम सिध्याएर आफु भन्दा उपल्लो निकायलाई खुसी बनाउने सकस, प्रदेश प्रमुखलाई आफ्नो प्रदेशले लिएको टार्गेट पुर्याउन, एनपिएल मिलाउन र मासिक, त्रैमासिक रिपोर्ट बनाएर पठाउन सकस, प्रदेश स्तरमा काम गर्ने अनुगमन र अन्य कर्मचारीहरुलाई आफ्नो जिम्मामा रहेको शाखाको रिपोर्ट कसरी राम्रो बनाउने ? अनि मासिक टार्गेट र एनपिएल कसरी घटाउने भन्ने सकस ।
यता शाखामा रहने शाखा प्रमुखलाई शाखाको रिपोर्ट कसरी राम्रो देखाउने ? अनि मासिक टार्गेट, एनपिएल कसरी घटाउने ? फिल्डमा रहेका सदस्यहरुको समस्यालाई कसरी समाधान गर्ने ? अझ संघर्षको नाममा विद्रोह गर्नेहरुसँग कसरी जोगिएर हिँड्ने ? भन्ने चिन्ता र सकस ।
फिल्डमा कार्यरत कर्मचारीहरुलाई केन्द्र बैठकमा सहज तरिकाले किस्ता मिलाउन, आफूले लिएको टार्गेट पुर्याउन सकस । त्यसैमाथि सँगैको साथी हाकिम भैसक्दा पनि आफ्नो प्रमोसन नभएर कसरी प्रमोसन हुने ? भन्ने चिन्ता ।
जागिर जोगाउने सकस हुँदाहुँदै पनि घरपरिवार अनि आफन्त र साथिभाईसँग भेटघाट नहुने सकस । अब त केही सुधार होला कि भन्दै दिन बितेको पत्तो नै नहुने ।
त्यसैमाथि दिनहूँ आउने विभिन्न समाचारहरुले झसँग बनाउँछ । कहिले महिला कर्मचारी संस्थामा जागिर जोगाउन ओछ्यान बनेको खबर त कहिले जागिर जोगाउन पैसाको बार्गेनिङ गरेका÷भएका खबर । उफ ! झनै आसेपासे हुक्के, कप्टरे, बैठके र टिकेहरुले आफ्नो जागिर जोगाउन झुटलाई पनि सही भनेको खबरले मन झनै अतालिन्छ ।
आखिर यस्तो सकसको जागिर कहिलेसम्म ? यस्ता समस्याको समाधान सहज नहुने भए, स्थिर नरहे अर्कै विकल्पको खोजिमा निस्कनेको संख्या प्रायः सबै संस्थामा धेरै नै होला । नभए धेरैको मनमा कतै न कतै यो भन्दा राम्रो काम पाए वा राम्रो देश जान पाए हुन्थ्यो भन्ने पक्कै होला । सायद, यो बिग्रिएको देशको अवस्था, बेरोजगारी र आजको कुरितिले जन्माएको परिस्थिति होला ।
टिरिरिरिरिरिङ टिरिरिरिरिरिङ टिरिरिरिरिरिङ….. ल है बिहानको ७ बजिसकेछ, सपना पो देखेछु । खोई ? झोलामा सबै कुरा छ त ? अब त अफिस जानुछ, सपना पूरा गर्न, आजको सकससँगै……
(लेखकः कृष्ण संसार, लघुवित्तकर्मी)