×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकसेवाको परीक्षामा ७ पटक नाम निकालेका चालिसेको टिप्स- ‘६ महिना घोटिएर पढ्नु, नाम ननिस्किने कुरै हुँदैन’ (अन्तर्वार्ता)

PRIME CA

लोकसेवाको परीक्षामा ७ पटक नाम निकालेका चालिसेको टिप्स- ‘६ महिना घोटिएर पढ्नु, नाम ननिस्किने कुरै हुँदैन’ (अन्तर्वार्ता)

१८ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । लोकसेवा परीक्षामा नाम निकाल्नु अहिले धेरैका लागि फलामको चिउरा चपाएझैँ छ । वर्षौँसम्म लोकसेवाका नाममा तयारी कक्षा पढेर पनि नाम निकाल्न नसकेका कयौँ उदाहरणहरु तपाई हामीमाझ नै छन् । तर, गलकोट नगरपालिका–८ बागलुङका ३२ वर्षीय राजन प्रसाद चालिसेले १४ महिनामा सात पटक लोकसेवाको परीक्षामा नाम निकालेका छन् । वि.सं २०७९ भदौदेखि लोकसेवाको तयारी गरेका चालिसेले हालसम्म ७ पटक लिखित परीक्षामा नाम निकालेका हुन् ।

यसअघि चितवनमा ‘प्लस टू’मा गणित र बिबिएस प्रथम वर्षमा अध्यापन गराउँदै आएका चालिसेले विश्वव्यापी महामारी कोभिड–१९ मा जागिर गुमाउनुपर्यो । त्यसपछि लोकसेवाको तयारी गरेका उनले १४ महिनामै लोकसेवामा सात पटक सफलता हासिल गरे । यसअवधिमा उनले तथ्यांक सहायक (स्थानीय)मा वैकल्पिक, तथ्यांक सहायक पाचौँ, संघको गणक (खरिदार सरह)को चौँथो, संघको अधिकृत (वैकल्पिक), तथ्यांक अधिकृत (सातौँ), संघीय लोकसेवाको सुपरीवेक्षक (पाचौँ तह) र मेडिकल रेकर्डर पाचौँ तहमा नाम निकालेका छन् । हाल उनले बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय, हेटौँडामा तथ्यांक अधिकृत, सातौँको जागिर रोजेका छन् ।

उनै चालिसेसँग अर्थ सरोकारले लोकसेवाको परीक्षा र सफलताका बारेमा कुराकानी गरेको छः

१. लोकसेवाको परीक्षा पास गर्न साह्रै गाह्रो हुन्छ भन्छन्, तपाईको अनुभव कस्तो रह्यो ?
लोकसेवाको परीक्षा बाहिर सुनिए वा हल्ला चलेजस्तो गाह्रो हुँदैन । अब सुरुमै गाह्रो हुन्छ, सक्दिन होला भनेर सोच्यो भने त त्यसै पनि गाह्रो हो तर गर्छु भन्नेहरुका लागि त्यति गाह्रो चाहिँ होइन । मलाई पनि सुरुमा त गाह्रो हुन्छ होला जस्तो लागेको थियो । तर, पढ्न सुरु गरेपछि सोचेजस्तो गाह्रो लागेन ।

२. खासमा लोकसेवा पास गरेर सरकारी जागिर नै खानुपर्छ भन्ने चाहिँ किन लाग्यो ?
म पहिला चितवनमा प्राइभेट जागिर गर्थें । ८ कक्षादेखि १२ कक्षामा गणित र बिबिएस प्रथम वर्षको स्टाटिस्टिक विषय पढाउँथे । तर, कोरोना महामारीका बेलामा विद्यालय नै बन्द भएपछि जागिर गुम्यो । त्यसपछि मलाई जागिर त सरकारी नै खानुपर्ने रहेछ भन्ने लागेर लोकसेवाको तयारी सुरु गरेको हुँ ।

३. लोकसेवा पास गर्न चाहिँ कति समय पढ्नुपर्ने रहेछ ?
लोकसेवा पास गर्नलाई सबैभन्दा पहिलो त आफू मानसिक रुपमै तयार हुनुपर्छ, पढ्न चाहिँ ६ महिना दायाँबायाँ नगरी पढ्नुपर्छ । ध्यान दिएर पढेको ६ महिनाले लोकसेवाको परीक्षामा नाम निकाल्न सकिन्छ । कसैले पहिलो पटकमै नाम ननिकाल्न पनि सक्छन् । तर, हार मान्नु हुन्न, पहिलो पटकको अनुभव र त्यसपछिको तयारीले सहजै सफलता मिल्छ ।

४. अहिले लोकसेवाको लागि तयारी कक्षा पढ्ने चलन छ, परीक्षा पास गर्न तयारी कक्षा पढ्नै पर्छ र ?
त्यस्तो होइन, कक्षा लिने नलिने भन्ने त आ–आफ्नो इच्छा हो । तर, तयारी कक्षा नपढ्दा पनि नाम चाहिँ निकाल्न सकिन्छ । तयारी कक्षामा पनि पढाई हुने भनेको किताबकै कुरा हो, त्यही कुरा आफूले घरमै बसेर पनि पढ्न सकिन्छ । तयारी कक्षा नपढी लोकसेवा पास गर्न सकिन्न भन्ने चाहिँ होइन ।

५. तपाईले चाहिँ तयारी कक्षा पढ्नु भयो कि नाई ?
अहँ, तयारी कक्षा चाहिँ मैले पढिन । खासमा मैले तयारी गर्दा चितवनमा काठमाडौँ वा अन्य सहरमा जस्तो लोकसेवाको तयारी कक्षा पढाउने संस्था थिएनन् । त्यसैमाथि अध्यापन गराइरहेको भएर पनि धेरै आईडिया थियो । त्यसैले मैले तयारी कक्षा चाहिँ पढिन । मिहेनत चाहिँ गरेँ, सफलता पनि मिल्यो ।

६. लोकसेवाको तयारी गरिरहेकाहरुलाई के भन्न चाहनुहुन्छ ? सजिलै लोकसेवा पास गर्ने केही टिप्स छन् ?
सबैभन्दा पहिला आफ्नो मनोबल बढाउनुस् । एकपटक नाम ननिस्किदैमा हतोत्साहित नहुनुस्, तयारी गर्न नछोड्नुस् । निरन्तरको प्रयासले अवश्य सफल भइन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: