×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० वाणिज्य बैंकमध्ये १६ बैंकको नाफा घट्यो, हिमालयन बैंकले बढी नाफा गरे पनि नबिल बैंक सबैभन्दा अब्बल !

PRIME CA

२० वाणिज्य बैंकमध्ये १६ बैंकको नाफा घट्यो, हिमालयन बैंकले बढी नाफा गरे पनि नबिल बैंक सबैभन्दा अब्बल !

७ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालका अधिकांश वाणिज्य बैंकहरुको नाफा घटेको छ । बैंकहरुले प्रकाशित गरेको पछिल्लो ६ महिनाको अपरिष्कृत वित्तीय विवतरण अनुसार २० वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकको नाफा घटेको हो । पुष मसान्तसम्मको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको नाफा ९.९४ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा १६ वटा बैंकको नाफा घट्दा ४ वटा बैंकहरुको नाफा भने बढेको छ । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले पुष मसान्तसम्ममा २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् । जबकी, गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ३१ अर्ब ९४ करोड २३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका थिए ।

कुनकुन बैंकको नाफा बढ्यो ?
बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, एभरेस्ट बैंक र कृषि विकास बैंकको नाफा बढेको छ । जसमध्ये सबैभन्दा धेरै नाफा हिमालयन बैंकको बढेको छ । यसअवधिमा हिमालयन बैंकले १ अर्ब ५० करोड ३९ लाख ७४ हजार खुद नाफा आर्जन गरेको छ । जुन, बैंकको गत आर्थिक वर्षको तुलनामा ५७.५३ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ९५ करोड ४७ लाख ४ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा ३२.१३ प्रतिशत बढेको छ भने एभरेष्ट बैंकको खुद नाफा ७.८८ प्रतिशत बढेको छ । योसँगै गत आर्थिक वर्षको समीक्षा अवधिमा १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ ।

कुनकुन बैंकको नाफा घट्यो ?
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा २० वाणिज्य बैंकहरुमध्ये चार बैंकको नाफा बढ्दा बाँकी रहेका १६ वाणिज्य बैंकहरुको खुद नाफा भने घटेको छ । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये एनआईसी एसिया बैंकको खुद नाफा ४१.४८ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल बैंक लिमिटेडको खुद नाफा ४९.६० प्रतिशतले घटेको भने प्रभु बैंकको खुद नाफा ३९.९७ प्रतिशतले घटेको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपाल एसबिआई बैकको खुद नाफा २८.६० प्रतिशतले घटेको छ भने एनएमबि बैंकको खुद नाफा २७.६२ प्रतिशतले घटेको छ । यता ग्लोबल आइएमई बैंकको खुद नाफा २६.५७ प्रतिशतले घट्दा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २५.६८ प्रतिशतले घटेको छ । त्यस्तै, माछापुच्छ्रे बैंकको खुद नाफा २१.४५ प्रतिशत, कुमारी बैंकको खुद नाफा १४.३१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा १३.६३ प्रतिशतले घटेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सानिमा बैंकको खुद नाफा ११.४२ प्रतिशतले घटेको छ भने सिटिजन्स बैंकको खुद नाफा ६.९६ प्रतिशतले घटेको छ । त्यस्तै, समीक्षा अवधिमा नबिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराईज बैंक र स्ट्याण्डर्ड चार्टर्ट बैंकको खुद नाफा क्रमशः ६.२८ प्रतिशत, २.१० प्रतिशत, १.६६ प्रतिशत र १.५५ प्रतिशतले घटेको छ ।

नबिल बैंकको नाफा सबैभन्दा धेरै
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकको रहेको छ । यसअवधिमा बैंकको नाफा सबैभन्दा धेरै ३ अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नाफा घटे पनि नबिल बैंकले सबैभन्दा बढी नाफा रहेको बैंकको शीर्ष स्थान कायम गरेको छ । त्यस्तै, सबैभन्दा धैरै नाफा कमाउने बैंकको दोस्रो स्थानमा प्राइम कमर्सियल बैंक रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफा २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ रहेको छ भने सबैभन्दा धेरै नाफा रहेको बैंकको तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको खुद नाफा २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, सोही अवधिमा सबैभन्दा कम नाफा नेपाल बैंक लिमिटेडको रहेको छ । यस अवधिमा नेपाल बैंकको नाफा सबै वाणिज्य बैंकहरु भन्दा कम अर्थात ५९ करोड ५१ हजार रुपैयाँ रहेको छ ।

किन घट्यो बैंकहरुको नाफा ?
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश बैंकहरुको नाफा घट्नुको मुख्य कारण सर्वोच्च अदालतले एफपीओ र मर्जरको कर तिर्नुपर्नेगरी गरेको फैसलालाई लिइएको छ । बैंक तथा बीमा कम्पनीहरुले दायर गरेको रिट खारेज गर्दै अदालतले कर तिर्नुपर्नेगरी फैसला सुनाएपछि बैंकहरुले मोटो रकम कर तिर्नुपरेपछि बैंकहरुको नाफा प्रभावित भएको हो ।

त्यस्तै, बैंकहरुको नाफा घट्नुको अर्को कारण खराब कर्जामा वृद्धि भएको जानकारहरु बताउँछन् । मुलुकको अर्थतन्त्र संकटमा परेको र व्यापार-व्यवसाय धरासायी हुँदा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुले कर्जा नतिरेपछि बैंकहरुको खराब कर्जा बढ्न गएको र सोहीको प्रभावस्वरुप समीक्षा अवधिमा अधिकांश बैंकहरुको खराब कर्जा बढेकाले नाफामा दबाब पर्न गएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: