काठमाडौँ । चीनले यतिबेला गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । जसको सामना गर्न सरकारले विभिन्न उपायहरू अपनाएको छ । तर, अहिलेसम्म कुनै पनि उपाय प्रभावकारी सावित भएको छैन । वास्तवमा जब चीनको अर्थतन्त्र तीव्र गतिमा बढिरहेको थियो, त्यसबेला चीनले धेरै खर्च गर्यो र आफ्नो व्यवस्थालाई बलियो बनाउन व्यस्त थियो । फलस्वरूप अर्थतन्त्र सुस्त हुँदा हरेक क्षेत्रमा समस्या उत्पन्न भयो ।
चीनमा कारखाना उत्पादन, निर्यात र विदेशी पर्यटकको आगमन घट्दै गएको छ, जसका कारण मानिसहरुले रोजगारी गुमाइरहेका छन् । कोभिड महामारीले चिनियाँ सामानको विश्वव्यापी माग घटाएको छ र चीनको कडा लकडाउनले अवस्था झन बिग्रिएको छ । कडा लकडाउनका कारण चीनले विदेशबाट आएका सिमित माग समेत धान्न सकेन । यी गतिविधिहरूले चीनको श्रमिक वर्गको जीविकोपार्जन खोस्यो । यो वर्गले आफ्नो आम्दानीको २०–२५ प्रतिशत घरजग्गामा लगानी गर्दथे, जुन अहिले बन्द भएको छ । चीनको अर्थतन्त्रले एभरग्रान्डे, कन्ट्री गार्डेन, भान्के, एजाइल, सिचुआन होल्डिङ्स ग्रीनल्याण्ड, चाइना रिसोर्स ल्याण्ड र अन्य धेरैजस्ता घर जग्गा कम्पनीहरूको दिवालियापन देखेको छ ।
केही समयको लागि केन्द्रीय र क्षेत्रीय सरकारहरूले आफ्ना कर्मचारीहरूलाई पहिलेको बचतबाट तलब दिने क्रम जारी थालेको छ । यसले चीनको सुरक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूलाई समेत असर गरिरहेको छ ।
हाल बेइजिङ, चोङकिङ, टियानजिन, सांघाई, हेबेई, हुनान र सिचुआनलगायत १० भन्दा बढी प्रान्त र सहरहरूले प्रशासनलाई छोटो बनाउन थालेका छन् । केहीले नेतृत्वको भूमिका घटाउने योजना बनाएका छन् । यो कदम गत मार्चमा जारी गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको संस्थागत सुधार योजनाको अनुसार चालिएको छ, जसमा गत वर्षको अन्त्यमा केन्द्रीय स्तरमा र यस वर्षको अन्त्यमा स्थानीय तहमा सुधार गर्न आह्वान गरिएको थियो ।
यी सुधारहरू सीसीपीको आयु लम्ब्याउने रणनीति हो भनी विज्ञहरू विश्वास गर्छन् । अष्ट्रेलिया बस्ने चिनियाँ विद्वान ली युआनहुआ विश्वास गर्छन् कि सीसीपीले ठूलो कर्मचारीतन्त्र खडा गरेकोले पनि चीनमा आर्थिक संकट आएको हो । केही सहरहरूमा १० जनासम्म उपमेयरहरू थिए। अधिकारीहरूको भीडभाड र वर्तमान आर्थिक दबाबले यी कटौतीहरू आवश्यक बनाउँदैछ। यसबाहेक, चीनको अर्थतन्त्र हालसम्म गिरावट मै छ । रियल इस्टेट क्षेत्रमा उथलपुथल, जोखिम र सम्पत्ति व्यवस्थापन संस्थाहरू, संघर्षरत शेयर बजार र आसन्न वित्तीय संकटले देखाउँछ कि चिनियाँ अर्थतन्त्र गम्भीर संकटमा छ ।
ली युआनहुआले महामारीको बेला तीन वर्षको लकडाउनले केन्द्र र स्थानीय सरकारको कोष रितिएको औंल्याए। यो आर्थिक संकटले सीसीपीको कर्मचारी प्रणालीलाई या त कोषको अभावले वा कठिनाइले निष्क्रिय बनाएको छ ।