×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षमै विदेश भ्रमणका नाममा दुई अर्ब बढी खर्च, प्रधानमन्त्रीको दुई भ्रमणमै साढे ४ करोड स्वाहा !

PRIME CA
GLOBAL IME BANK

एक वर्षमै विदेश भ्रमणका नाममा दुई अर्ब बढी खर्च, प्रधानमन्त्रीको दुई भ्रमणमै साढे ४ करोड स्वाहा !

८ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमणमा एक बर्षमा दुई अर्ब बढी खर्च भएको छ । स्वदेशका विभिन्न जिल्लाको भ्रमणमा पनि राज्यकोषबाट भएको खर्च अधिक छ । विदेश जाने मन्त्री र कर्मचारीको लर्कोसँगै राज्यको खर्च बढेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा आन्तरिक र बाह्य गरी भ्रमण खर्च बापत दुई अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा करीब १७ प्रतिशत बढी हो ।

प्रधानमन्त्रीका केही विदेश भ्रमणको खर्च यसमा जोडिएको छैन । प्रधानमन्त्रीले एक बर्षमा ६ वटा बढी देशको भ्रमण गरिसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन र अमेरिका भ्रमणमा मात्रै चार करोड ७४ लाख रुपैयाँ खर्च भएको थियो । उक्त भ्रमणमा प्रतिनिधिमण्डलको दैनिक खर्च ३४ लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा भ्रमण शीर्षकमा बजेटले एक अर्ब ५९ करोड मात्रै छुट्याए पनि सरकारले यो भन्दा एक अर्ब ११ करोड रुपैयाँ बढी खर्च गरेको थियो । सरकारले मितव्ययिताको नीति लागू गर्ने घोषणा गरे पनि फजुल खर्च कटौती गर्न नसकेको महालेखाको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा भ्रमण खर्च बापत दुई अर्ब ३० करोड रुपैयाँ खर्च भएको महालेखाको तथ्यांकमा उल्लेख छ । त्यसभन्दा पनि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भ्रमण खर्च बापत एक अर्ब आठ करोड रुपैयाँ मात्रै खर्च भएको तथ्यांक छ ।

गत आर्थिक वर्षमा सरकारले अतिथिको स्वागत सत्कार, उपहारसहितका विविध कार्यक्रममा दुई अर्ब चार करोड रुपैयाँ खर्च भएको देखिन्छ । त्यस्तै, अनुगमन मूल्यांकनमा एक अर्ब १७ करोड रुपैयाँ, विभिन्न सरकारी कार्यक्रमका लागि १० अर्ब २४ करोड रुपैयाँ, सेवा र परामर्शमा एक अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको देखिन्छ ।

विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री र मन्त्रीले दैनिक २५०, विशिष्ट तहका कर्मचारी (सचिव)ले २२५ र सहसचिवले १७५ अमेरिकी डलर भ्रमण भत्ता पाउँछन् । होटल खर्च बापतको अलग्गै रकम पाउँछन् । युरोप, अमेरिका, क्यानडा, कोरिया, जापानलगायतका देशको भ्रमण गर्दा ३३ प्रतिशत थप भत्ता पाउँछन् । सरकारले पाँचवटा वर्ग विभाजन गरेर विदेश भ्रमण भत्ता निर्धारण गर्ने गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ‘अति विशिष्ट तह’मा निर्धारण गरिएको छ । अन्य विशिष्ट पदमा रहेका कर्मचारीहरुका लागि बेग्लै व्यवस्था छ । भ्रमण गर्नका लागि मन्त्रिपरिषद्ले स्वीकृत गर्ने गर्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: