काठमाडौँ। अहिले आईपीओ जति भरे पनि पर्दैन भनेर सामाजिक संजालमा लगानीकर्ताहरुको गुनासो सुन्छु । हुन पनि बजारमा लगानीकर्ताहरु धेरै आए । जस्तोसुकै आईपीओ पर्यो भने मालामाल भइन्छ भन्ने भ्रम छ धेरैलाई । तर सबै कम्पनीको आईपीओले फाइदा दिँदैन । आईपीओ भर्दा पनि कम्पनी कस्तो हो भन्ने बुझ्नुपर्छ । अहिले कतिपय टाँट पल्टिन लागेका कम्पनीहरु पनि जनताबाट पैसा उठाउन पनि आईपीओ जारी गरिरहेका छन्, जुन सहि हुँदै होइन । तर यसमा लगानीकर्ता सचेत हुनुपर्छ । कतिपय लगानीकर्ताहरु गए पनि त्यहि १००० त हो नि भन्नुहुन्छ । पैसालाई त्यसरी अवमूल्यन गर्नुहुँदैन । लाखौँ लगानीकर्ताले त्यहि १००० त हो नि भनेर बेमतलव गर्दा नराम्रा कम्पनीहरुले पनि जनताबाट करोडौँ रुपैयाँ उठाएका छन् । अझ बुल बजारमा यसरी जनताबाट धेरै नराम्रा कम्पनीहरुले पैसा उठाएका छन् । यो कुरा लगानीकर्ताले बुझ्नुपर्छ । कुरा १ हजारको मात्र होइन, लाखौँ जनताले १-१ हजारको माया मार्दा बदनियत बोक्नेहरु मालामाल भएका छन् । उनीहरुकै कारण बजार धेरैपटक कमजोर भएको छ ।
तर, हाम्रो समयमा आईपीओको माहोल फरक थियो । एक त जस्तो पायो त्यस्तो कम्पनीले आईपीओ ल्याउने आँट नै गर्दैनथ्यो । बजारमा कम लगानीकर्ता भएका कारण पनि आईपीओ पर्थ्यो पनि । कतिपय कम्पनीको आईपीओमा ठुला लगानीकर्ताहरुले हात हालेनन् भने सो आइपीओ बिक्री हुन निकै मुस्किल पर्थ्यो । त्यसबेला हामी केहि ठुला लगानीकर्ताहरुले सार्वजनिक निष्कासनभन्दा १० गुणा बढी आवेदन दिन्थ्यौँ । ५० करोड रुपैयाँको ५० लाख कित्ता सेयरका लागि आवेदन खुल्यो भने हामी ५ करोड कित्ताको माग गर्दै आवेदन दिन्थ्यौँ । २५ प्रतिशत मात्र पाउँदा पनि हामीलाई राम्रो संख्यामा आईपीओ पर्थ्यो । त्यसबाट राम्रो कमाई पनि हुन्थ्यो । अझ आईपीओ भर्ने बेलामा मेरो त नाम नै काफी थियो । त्यसबेला आफ्नो कम्पनीको सेयर किन्ने ठुला लगानीकर्ताहरुसँग बैंक तथा बित्तीय संस्थाले नागरिकता समेत खोज्दैनथिए, नाम नै काफी हुन्थ्यो । ‘निर्मल प्रधानले यति कित्ता सेयर आवेदन दिएको छ रे’ भनेर हल्ला नै चल्थ्यो । निर्मल प्रधानले यो सेयरमा यति कमाई गर्ने भयो भनेर तिनै बैंक तथा वित्तीय संस्थाहरुमा चियाफफ हुन्थे ।
https://www.youtube.com/watch?v=brytRY1aIqc
आईपीओ भर्ने धेरै आईपीओबाटै करोडपति भए । आईपीओबाटै पुस्तौँपुस्तालाई पुग्ने पैसा कमाएका लगानीकर्ताहरु पनि यहि बजारमा छन् । म अझै सम्झन्छु, कुमारी बैंकको आईपीओ खुल्दा मैले २ लाख कित्ता आइपीओ किन्ने व्यवस्था मिलाएको थिएँ । पछि आईपीओमा १०० रुपैयाँ हालेको कुमारी बैंकको सेयर प्रतिकित्ता २ हजार रुपैयाँसम्म बिक्री गरेँ । आईपीओले अर्वपति बनाएका मान्छे पनि यहि बजारमा छन् । मेरो पनि आईपीओबाटै ठुलो पैसा कमाई भयो । लक्ष्मी बैंकको आईपीओबाट पनि मैले मनग्य पैसा कमाएँ । लक्ष्मी बैंकको आइपीओ मैले ४ लाख कित्ता किनेको थिएँ । अर्थात १०० रुपैयाँका दरले मैले लक्ष्मी बैंकको आईपीओमा ४ करोड रुपैयाँ लगानी गरेको थिएँ । सो सेयर पनि मैले राम्रो मूल्यमा बेचेँ र राम्रो पैसा कमाएँ ।
नविल बैंकबाट ९ प्रतिशतमा कर्जा लिएको २ महिनापछि नै मलाई राष्ट्रिय वाणिज्य बैंकले ५ देखि ६ प्रतिशतको दरले सेयर कर्जा उपलब्ध गराउने भयो । सस्तोमा पाएपछि मैले पनि राष्ट्रिय बाणिज्य बैंकबाट नै ऋण लिने निधो गरेँ । त्यसबेला राष्ट्रिय वाणिज्य बैंकको सीइओ ब्रुस नामका व्यक्ति थिए । ब्रुसले नै एक दिन मलाई कल गरेर ५९ करोडसम्म सेयर कर्जा लिन अफर गरे । मैले ब्याज कतिपर्छ भनेर सोधेँ । उनले आफु निर्मल प्रधानलाई ऋण दिन इच्छुक भएको बताएर मलाई ५.५ प्रतिशत ब्याजदर अफर गरे । नबिल बैंकमा ९ प्रतिशतसम्मको ऋण खाईरहेको मलाई ५.५ निकै राम्रो अफर थियो । अझ फाइनान्सहरुले त १३ प्रतिशतसम्म ब्याज लिईरहेका थिए । अझ खास कुरा त ब्रुसले सेवा शुल्कसमेत नलिई ऋण दिने अफर गरेका थिए । ब्याज पनि सस्तो, सेवा शुल्क पनि नपर्ने, २ महिनाभित्र ऋण दिन्छु भन्ने बाचा पनि गरे ब्रुसले । यसै त डुबेको बेला, सेयर बजारबाटै उक्सिन्छु भनेर पूरापूर लागेको बेला, यस्तो अफर मेरा लागि सञ्जीवनी बुटीजस्तै हुन्छ भन्ने लागेको थियो । त्यसपछि मैले ‘हुन्छ’ भनेँ । हुन्न भन्नुपर्ने कारण नै थिएन ।
मसँग अन्य बैंकहरुसँग पनि ठुला ठुला कारोबार गरेको अनुभव छ । म अझै सम्झन्छु, हिमालयन बैंकका २ अफिसर ऋण लिईदिनुपर्यो बह्नेरा मेरो घरमै आएका थिए । उनीहरुले बैंकको संचालक समितिले नै ७५ करोड ऋण तपाईका लागि दिनसक्ने भनेको बताउँदै ऋण लिईदिन आग्रह गरे । बजारमा १२ प्रतिशत ब्याज चलिरहेको थियो, उनीहरुले मलाई १० प्रतिशतमा ऋण दिन्छु भने । ३ महिनाभित्र १० प्रतिशतमा ७५ करोड रुपैयाँ ऋण दिन्छु भनेपछि मैले सो ऋण पनि लिएको थिएँ र सबै रकम सेयरमा लगानी गरेको थिएँ । बैंकहरुले यतिसम्म सुविधा दिन्थ्ये कि यति ठुलो ऋणको काम सक्न पनि बैंकमा धाईरहनुपर्दैनथ्यो । बैंकका मेनेजरहरुले सबै काम घरमै आएर गरिदिन्थे ।
https://www.youtube.com/watch?v=9hZSOPAfreM
सेयर आफैँमा नशा जस्तै रहेछ । कसैलाई केहिको नशा लाग्यो भने उसले जसरी पनि सो नशालाई पूर्ति गर्छ । नशाका लागि उ जे पनि गर्न तयार हुन्छ । मलाई पनि सेयरको त्यस्तै नशा थियो सायद । मैले राष्ट्रिय बाणिज्य बैंकबाट ५० करोड रुपैयाँ ऋण लिएर सबै सेयरमा लगानी गरेँ। मैले सो बैंकबाट ५० करोड ऋण लिएको चर्चा चल्न थालेपछि विभिन्न बैंकहरुले मलाई थप ऋणका लागि अफर गर्न थाले । त्यतिबेला मलाई हिमालयन बैंकबाट ६ प्रतिशत र कुमारी बैंकबाट ६.५ प्रतिशत ब्याजदमार धितोकर्जा लिइदिने अफरहरु आए । बैंकहरुलाई क्लाइण्ट चाहिएको, मलाई ऋण । मैले अफर आएका सबै बैंकसँग डिल गरेँ । सबैसँग ऋण लिएँ । ऋण लिएर भकाभक सेयर किनेँ ।
तर बैंकहरुले मेरो अनुहार हेरेर मात्र ऋण दिएका थिएनन् । उनीहरुको बाध्यता र मेरो बिजनेश मिल्दा नै सो ऋण सम्भव भएको थियो । मेरो काम सेयर बजारमा कारोबार गर्ने मात्र थियो भने उनीहरुलाई सेयर कर्जा प्रवाह गर्नुपर्ने थियो। आजकल कतिपय बैंकका साथीहरुले तपाईंलाई हामीले ऋण दिएका थियौँ, पछि तपाईं उक्सनुभयो भन्नुहुन्छ । म मनमनै मुस्कुराउँछु अनि ‘हो त’ भनेर टारिदिन्छु ।
सुरुसुरुमा मेरो हिसाबकिताबको गतिलो रेकर्ड थिएन । पछि कारोबार निकै ठुलो हुन थालेपछि मैले मेरा कारोबारहरु डायरीमा लेख्न थालेँ । मसँग एउटा डे बुक हुन्थ्यो, अर्को क्यास बुक हुन्थ्यो । लेजर र जर्नल बुकमा म आफैँ रेकर्ड राख्थ्येँ । यसले मलाई मेरा कारोबारहरु सम्झिन सहज बनायो । अहिले पनि मसँग फलानो बैंकको यति कित्ता सेयर छ भनेर अझै पनि सम्झनामा छ । पछि कम्प्युटरको समय आयो । तर अझै पनि मेरा कतिपय कागजातहरु कम्प्युटरमा चढाएको छैन । कहिलेकाहिँ बिर्सेँ भने आज पनि डायरी हेर्छु । लाग्छ, कम्प्युटरका फोल्डर हरुजस्तै मलाई डायरीका पानाहरुले कारोबार सम्झाउन मद्धत गर्छ ।
सेयरका स्क्रिप्टहरुले कहिलेकाहिँ दिमाग हान्छन् । आफुले पहिलोपटक किनेको सेयर आफ्नी पहिलो प्रेमिकाजस्तै हुने रहेछ धेरैका लागि । बिर्सनै गार्हो, त्यसले पीडा दिन छोडे पनि नबिर्सिने । अझ सेयरले पीडा दिएको रहेछ भने त झन् बिर्सिन नसकिने। मैले पनि बिरक्तिएका बेला कहिलेकाहीँ कतिपय स्क्रिप्टहरु नकिन्ने बाचा गरेको छु । निकै महँगोमा किनेको बैंक अफ काठमाण्डूूको सेयर प्रतिकित्ता २०५ रुपैयाँमा र तत्कालीन एनआइसी बैंकको सेयर प्रति कित्ता ८०५ रुपैयाँमा बिक्री गर्नुपरेपछि मैले यी दुुई बैंकको सेयर कहिल्यै नकिन्ने कसम खाएको थिएँ । आज पनि एनआईसी एशियाको सेयर मेरी श्रीमतीको नाममा छ । पहिलोपटक किनेका बैंकका सेयर प्रमाणपत्र अझै पनि मसँगै छ । मैले आज पनि ती प्रमाणपत्रहरुलाई पूजा कोठामा राखेको छु ।
https://www.youtube.com/watch?v=Seu6M7tntp8