काठमाडौं। गुल्मीको मदाने गाउँपालिका-३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । ३९ वर्षीय उनी बिहान उठे देखि रातिसम्मको समय बारीमै सदुपयोग गर्छन् । उनले घाँसखेतीबाट मनग्य आम्दानी गरेको बताएका छन्।
‘अब घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु । २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेको छु । जग्गामा किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेको छु ।’ उनले भने ‘रसियन कम्फे विशेषगरी बङ्गुर र कुखुराको आहाराका लागि प्रयोग हुने गर्दछ । अन्य घाँस पनि गाईभैँसीलाई फाइबर, प्रोटिन र भिटामिनयुक्त रहेका छन् । यसका कारण गाईभैँसीलाई दाना कम दिएर पनि दूध बढी उत्पादन हुने गर्दछ ।’
गत वर्षदेखि बिरुवा बिक्री गर्न सुरु गरेका उनले हालसम्म रु १० लाख ५० हजारभन्दा बढीको बिरुवा बिक्री गरेका छन् । उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटबल, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुमपश्चिम, रोल्पा, दाङ, हेटौँडा, मोरङलगायत स्थानमा बिक्री हुने गर्दछ । अधिकांश बिरुवा उनले अनलाइन मागका आधारमा पठाउने गरेका छन् । प्रतिबिरुवा रु दुईदेखि ५० सम्मका बिरुवा उनीसँग छन् । अहिलेको वर्षायाममा बिक्री गर्नका लागि उनीसँग रु ४० लाख बराबरका घाँसका बिरुवा रहेका छन् । उनले गत वर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँसखेती विस्तार गरेका छन् ।
मासिक ८२ हजारको जागिर छाडेर आएँ
खत्रीले १३ वर्ष दुबईको कम्पनीमा काम गरे । उनले भने ‘दुबईमा मेरो मासिक रु ८२ हजार आम्दानी हुन्थ्यो । प्रत्येक शुक्रबार र शनिबार विभिन्न ठाउँमा घाँसखेती र बाख्रापालन गरेको ठाउँमा घुम्न जान्थे । त्यही देखेर गाउँमा घाँसखेती गर्न मन लाग्यो ।’
सात लाखबाट सुरु गरेको घाँसखेती व्यवसाय अहिले झण्डै ४० लाखको भएको छ । अहिले घाँसका साथसाथै होलिस्टिन जातका तीन गाई र तीन भैँसी पनि पालेका छन् । साथै एक सय ३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गरेका छन् । अबको केही समयपछि बाख्रापालन गर्ने सोच बनाएको खत्रीले बताए । ‘घाँसलाई मल चाहिन्छ, त्यो बाख्रा, गाईभैँसीबाट प्राप्त हुन्छ’, उनले भने, ‘गाई बाख्रालाई आवश्यक घाँस आफ्नै बारीमा उत्पादन हुन्छ ।’
व्यवसायका लागि उनले श्रीमतीको साथ पाइरहेको बताए । ‘विदेशको पैसाभन्दा यहाँको दुःख धेरै प्यारो छ’, खत्रीले भने, ‘अब विदेश नजाने गरी व्यवसाय सुरु गरेको हुँ ।’ उनले अन्य युवाहरूलाई स्वदेशमा प्रशस्त सम्भावना रहेको भन्दै गाउँमै कर्म गर्न सुझाव दिए ।
घाँस खेती गर्नका लागि उनले कतैबाट पनि अनुदान नलिएको बताए । ‘अनुदानले मानिसलाई परनिर्भर गराउँछ’, उनले भने, ‘सरकारले अनुदान बाँड्ने होइन, बजारीकरणमा सहयोग गर्ने हो ।’ जग्गाको भाडामात्र वार्षिक रु एक लाख बुझाउने उनले प्रत्येक वर्ष एक हजार पाँच सयले रोजगार पाएको बताए। मदाने-३ का वडाध्यक्ष चेतबहादुर सेनले आफूहरू खत्रीजस्तै व्यावसायिक किसानलाई प्रोत्साहन गर्न लागि परेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्