काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको मात्रै निर्यात गरेको देखिएको हो ।
विभागको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ । अघिल्लो आव २०७९/८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात र एक खर्ब ५७ अर्ब १४ करोड छ लाख रुपैयाँ बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँ पुगेको थियो ।
अघिल्लो आवको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ बराबर थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयात १.१६, निर्यात ३.०३, समग्र वैदेशिक व्यापार १.३३ र वैदेशिक व्यापार घाटा ०.९६ प्रतिशतले घटेको हो । गत आवको आयात-निर्यात अनुपात १०.४५ प्रतिशत बराबर छ । गत आवमा सबैभन्दा धेरै भारतसँग व्यापार घाटा देखिएको छ । भारतबाट नौ खर्ब ९६ अर्ब ६८ करोडको वस्तु आयात हुँदा एक खर्ब तीन अर्ब १७ करोड बराबर मात्रै निर्यात भएको छ । जसबाट भारतसँगको मात्र कूल व्यापार घाटा आठ खर्ब ९३ अर्ब ५० करोड रुपैयाँ बराबर छ ।
नेपालको अर्को छिमेकीमुलुक चीनसँग दुई खर्ब ९६ अर्ब १८ करोड ६० लाख रुपैयाँ बराबर व्यापार घाटा छ । चीनबाट दुई खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा २५ अर्ब ८८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको हो । नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकहरुमा संयुक्त अरब ईमिरेट्स तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौँं स्थानमा छ ।
व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ । गत आवमा नेपालले डेनमार्कबाट ३५ करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा ८२ करोड २१ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । जसबाट ४६ करोड ७५ लाख रुपैयाँ व्यापार नाफा देखिएको हो ।
बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ । गत आवमा नेपालले अफगानिस्तानबाट दुई करोड ७६ लाख बराबरको वस्तु आयात गर्दा रु ४९ करोड ३६ लाख बराबरको निर्यात गरेको छ । जसबाट अफगानिस्तानसँग रु ४६ करोड ६० लाख बराबरको व्यापार नाफा भएको छ ।
गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागको तथ्याङ्कअनुसार गत आवमा रु एक खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख बराबरको डिजेल, रु ६८ अर्ब १० करोड २० लाखको पेट्रोल र रु ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ । रु ३९ अर्ब तीन करोड ४३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ । स्मार्टफोनमात्र रु २८ अर्ब ६६ करोड ६२ लाख बराबरको आयात भएको छ ।
त्यस्तै, रु २३ अर्ब ६५ करोड ३९ लाख बराबरको सुन आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट, अलैँची, फलाम तथा स्टिलजन्य, जुसलगायत वस्तु छन् । गत आवमा नेपालले सबैभन्दा धेरै रु १० अर्ब ५७ करोड २४ लाख बराबरको कार्पेट र रु सात अर्ब ९३ करोड ८१ लाख बराबरको अलैँची निर्यात गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्