काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो ।
आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट आजदेखि यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यो कार्यक्रम पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा क्रमशः सञ्चालन गरिने चुमानको भनाइ छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पहिलोपटक छात्रा बचत कार्यक्रम सुरु गरिएको चुमानले बताएका छन् ।
रामशाह माविमा एक हजार आठ सय विद्यार्थी अध्ययनरन छन् । त्यसमध्ये एक हजार एक सय छात्रा छन् । पालिकाले कक्षा १० सम्म अध्ययनरत छात्रालाई रु एक हजार बचत मौज्दातसहित निःशुल्क बाल बचत खाता खोलिदिने चुमानले बताए । ‘कक्षा १ देखि १० सम्मका छात्राको बाल बचत खाता खोलेर रु एक हजार जम्मा गरिदिन्छौँ ।’, उनले भने, ‘सानैदेखि बचत गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।’
शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बाल बचत खाता सञ्चालनको मुख्य उद्देश्य भनेको सानैदेखि बचत गर्ने बानीको विकास, रुचि तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशील विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पुर्याउने रहेको चुमानले उल्लेख गरेका छन् ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले रामशाह माविबाट सुरु भएको यो कार्यक्रम सबै वडाका सामुदायिक विद्यालयमा सञ्चालन गरिनेछ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दुई हजार पाँच सय छात्रा अध्ययनरत छन् । विद्यार्थीको खाता कुमारी बैंकसँगको समन्वयमा खोलिनेछ । उक्त खातामा प्रतिविद्यार्थी रु एक हजार गाउँपालिकाले बचत गरिदिनेछ । सोबापत कुमारी बैंकले रु २० बजार बराबरको स्वास्थ्य बीमाको सुविधा दिनेछ । कुँवरले भने, ‘यो कार्यक्रमले बचत गर्ने बानीको विकास गर्ने, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्ने, विद्यार्थीको रुचि तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग पुग्नेछ ।’
यसअघि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणलाई अभियानकै रूपमा अगाडि बढाएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ ।
आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति पनि ल्याएको छ । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नम्बर ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने चुमानले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्