काठमाडौँ । अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)को तेस्रो साधारणसभा सम्पन्न भएको छ । नेपालमा अमेरिकी लगानी भित्र्याउने र दुई देशबीच व्यावसायिक सम्बन्ध स्थापना गर्ने उद्देश्यले स्थापना भएको एमच्यामको साधारणसभामा पछिल्लो एक वर्षको समीक्षासहित भावी कार्ययोजना समेत प्रस्तुत गरिएको हो।
कार्यक्रममा बोल्दै युएस च्याम्बर अफ कमर्स, दक्षिण एसियाका कार्यकारी निर्देशक सिद्धान्त मेहराले नेपालमा स्थापनाको छोटो समयमा एमच्यामले खेलेको भुमिकाको प्रशंसा गरे । एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सन् २०२४ एमच्यामका लागि महत्वपूर्ण वर्ष भएको उल्लेख गर्दै नेपालमा लगानीका नयाँ अवसर सृजना गर्न, नेपाल र अमेरिकाको व्यापारिक सम्बन्ध थप बलियो बनाउने उद्देश्यका साथ क्रियाशील रहेको बताए । एमच्यामले नेपालमा विदेशी लगानीका लागि देखिएका समस्या समाधानका विभिन्न विषयमा पैरवी गर्नुका साथै उच्चस्तरीय भेटघाट समेत गर्दै आएको श्रेष्ठले उल्लेख गरे ।
अध्यक्ष श्रेष्ठले सन् २०२१ मा अजित बिक्रम शाहको नेतृत्व र नेपालस्थित अमेरिकी दूतावासको अभूतपूर्व सहयोगमा स्थापना भएको एमच्याम आज बहुआयामिक र प्रभावशाली व्यावसायिक समूहका रुपमा स्थापित भएकामा खुसी व्यक्त गरे । यस अवसरमा पछिल्लो एक वर्षमा एमच्यामले विभिन्न ५८ पटक औपचारिक रुपमा सदस्यको हितमा पैरवी गरेको जनाएको छ । यसबीचमा २० वटा उच्चस्तरीय भेटघाट, विभिन्न विषयमा ६० वटा आलेखमार्फत पैरवीलाई अघि बढाएको जनाएकोछ । यसबीचमा एमच्यामले कोषमा ३१.५ लाख रुपैयाँ जम्मा भएको उल्लेख गरेको छ ।
एमच्यामले पछिल्लो एक वर्षमा १६ वटा नयाँ सदस्य थप गरेको छ । सन् २०२३ मा ३८ वटा सदस्य रहेकामा अहिले उक्त संख्या बढेर ५४ पुगेको हो । नेपालमा लगानीमैत्री वातावरण बनाउनका लागि सरोकारवाला पक्षसँग विभिन्न समयमा छलफल, अन्तरक्रिया तथा बहस गर्दै आएको एमच्यामका महाप्रबन्धक अमिरराज थापाले जानकारी दिए । एमच्यामले वर्षभरी नै विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रममार्फत सक्रियता जारी राखेको जनाएको छ । गत अप्रिलमा संस्थाले यूएस चेम्बर अफ कमर्शका एम्ब्यासडर अतुल केशवसँग नेपाल-अमेरिकाबीचको व्यापारिकसम्बन्धमा अन्तरक्रिया गरेको थियो भने सदस्यहरुसँग युनाइटेड स्टेट पेटेन्ट एण्ड ट्रेडमार्क कार्यालय र यूनाइटेड स्टेट ट्रेड एण्ड डेभलपमेन्ट एजेन्सीसँग पनि अन्तरक्रिया भएको एमच्यामले उल्लेख गरेको छ ।
त्यसैगरी गत अप्रिलमा एमच्यामका प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्नुका साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वमन्त्री रेखा शर्मा र सचिवालय, ऊर्जा तथा सिँचाइ मन्त्री तथा अमेरिकास्थित स्टेट डिपार्टमेन्टका अधिकारीहरुसँग वासिंटन डिसीमा समेत भेटवार्ता तथा छलफल गरेको एमच्यामको भनाइ छ । एमच्यामले प्रविधिको बढ्दो प्रयोग र सम्भावनालाई मध्यनजर गर्दै सन् २०२४ मा लगानी सम्मेलनको पूर्वसन्ध्यामा टेक पिक आइसिटी सम्मेलनको समेत आयोजना गरेको थियो । एमच्यामले यस अवधिमा युएसएड, विश्व बैंक, यूरोपियन यूनियन, एसियाली विकास बैंकका साथै सरकार र निजी क्षेत्रलाई एकै थलोमा ल्याउन सफल भएको उल्लेख गरेको छ ।
साथै, प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गरी अमेरिकी लगानी भएका कम्पनीहरुलाई नेपालमा प्रबर्धनका लागि सहजीकरणको भूमिका समेत निर्वाह गरेको उल्लेख गरेको छ । एमच्यामले अमेरिकी कम्पनीमा लगाइएको मूल्य अभिवृद्धि करका विषयमा सरोकारवाला पक्षहरुले संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरी सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरेको छ । त्यसका साथै ट्रेड नीतिसम्बन्धी अनुसन्धान, ट्रान्सफर प्राइसिङलगायतका विषयमा समेत काम गरिरहेको जनाएको छ ।
एमच्यामले आफ्ना सदस्यहरुबीच सम्बन्ध सुदृढीकरण र आन्तरिक सञ्जाल विस्तारका लागि लर्निङ सिरिजलाई गत वर्ष पनि जारी राखेको थियो । जसमा नवौँ मेम्बर लर्निङ सिरिज डियर होल्ड कम्पनीमा जनवरी २०२४ मा आयोजना गरिएको थियो भने १०औँ शृंखला सिटी होटलमा आयोजना गरिएको थियो । त्यसैगरी ११औँ शृंखला गत मेमा होटल अलफ्ट र १२औँ शृंखला डाइ काठमााडौँमा अगष्टमा आयोजना गरिएको थियो । १४औँ शृंखला भने फ्लेक्स टेक्समा आयोजना गरिएको थियो । एमच्यामले एक्सपर्ट लर्निङ सिरिजलाई निरन्तरता दिएको छ । यसबीचमा एमच्यामले नेपाल उद्योग परिसंघ (सीएनआई) र द नेपाल प्राइभेट इक्विटी एसोसिएसनसँग पनि सम्झौता गरेको छ । साथै अमेरिकाको व्यापार विभागको द इन्टरशेनल ट्रेड एड्मिनिस्ट्रेसन पनि एमओयू गरेको एमच्यामले जनाएको छ ।
गत सेप्टेम्बरमा एमच्यामले भारतको राजधानी दिल्लीमा आयोजित यूएसआईबीसी कार्यक्रममा सहभागिता जनाएको थियो । एमच्यामले हाल नेपालमा लगानीका लागि विभिन्न छ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । जसमा पर्यटक, आईसिटी, ऊर्जा, उत्पादनमुलक उद्योग, पूर्वाधार विकास र वित्तीय क्षेत्र रहेका छन् । एमच्यामले हाल आफूहरुले ट्याक्स कम्प्लायन्स, स्वेट इक्विटी, आइटी र साइबर सेक्युरिटी बिल, सोर्स कोड अनरसिप, इकमर्श बिललगायतमा नीतिगत रुपमा पैरवी गर्दै आएको छ । साथै नेपालमा सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानी प्रतिबन्धलाई हटाउन र विदेशी मुद्राको कारोबारमा सहजीकरणका लागि पैरवी गर्दै आएको छ ।
एमच्यामले सन् २०२५ मा गर्ने मुख्य कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । जसमा टेक पिक नेपाल, २०२५, नेपाल-यूएस रोड शो, एसएसओडब्ल्यू सम्मेलन, २०२५ लगायत छन् ।