Skip to content
LAXMI SUNRISE BANK

‘अल्छीलाग्दो बुल आउँदैछ’- रामहरि नेपाल (अन्तर्वार्ता)

सुदर्शन श्रेष्ठ

काठमाडौँ । सेयर बजारप्रति सबैतिर माहोल बनिरहेका बेला नेप्से परिसूचकमा भने खासै ‘चार्म’ देखिएन । बजारमैत्री अर्थमन्त्री, बजार बुझेका र बजारप्रति सकारात्मक गभर्नर हुँदा उत्साहित बनेका सेयर लगानीकर्ता अपेक्षा गरे अनुसार बजार नबढेपछि निरास छन् । अझ गभर्नरको नियुक्ति लगत्तै मौद्रिक नीतिको समीक्षामार्फत ५० लाख भन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार १२५ बाट १०० मा झारिंदा ‘अब बजार बुम बुम’ भन्नेहरु पनि बजारको गति देखेर दिक्दार बनेका छन् । त्यसैमाथि एकपछि अर्को गर्दै आइरहेका पोजेटिभ न्युजलाई समेत बजारले ‘रेस्पोन्स’ नगरेपछि बुल नै सकियो कि भन्ने चिन्ता छ धेरैलाई ।

अर्कोतर्फ सबैतिर बजारप्रतिको माहोल सकारात्मक रहेका बेला बजार नबढ्नुले बजारप्रति थप शंका उब्जाएको छ । आखिर सबैथोक बजारमैत्री हुँदा पनि सेयर बजार किन बढेन ? बुल सकिएको हो ? यही प्रश्न हामीले सेयर बजारका विश्लेषक रामहरी नेपाललाई सोधेका छौँ । प्रस्तुत छ, रामहरी नेपालसँग गरिएको कुराकानीको सम्पादित अंशः 

सबै माहोल पोजेटिभ हुँदा पनि बजार किन बढेन ? 
बजारमा क्यापिटल छरिएका कारण भार कमजोर भएको हो । जब लगानीकर्ता भन्दा धेरै कम्पनी थपिन्छन्, तब पूँजी बजारको दायरा फराकिलो हुन्छ तर भार कमजोर हुन्छ, जसरी नदी फराकिलो हुँदा पानीको धार कमजोर हुन्छ । अहिले सेयर बजारमा भएको पनि त्यही हो । भार कमजोर हुँदा बजार अपेक्षा गरे अनुसार बढ्न सकिरहेको छैन । थोरै थोरै नेप्से बढेको त छ तर बजार बढेको जस्तो लाग्दैन ।

अर्कोतर्फ बजारमा ठूला लगानीकर्ता थोरै छन् । नयाँ लगानीकर्तालाई पूँजी बजारप्रति आकर्षित गर्ने पोलिसीहरु पनि अपेक्षा अनुसार आएनन् । त्यसैमाथि बजारमा अहिले ट्रेडरको उपस्थिति राम्रै छ । त्यसैले पनि बजार बढ्ने धार कमजोर भएको हो । 

अब त बजार बढ्छ भन्ने पनि कन्फिडेन्स आएन नि ! होइन ? 
खासमा बजारका इन्भेष्टर र ट्रेडरले आफ्नो उद्देश्य स्पष्ट पहिचान गर्नुपर्छ । विगतमा इन्भेष्टरलाई पनि बजार बढेर फाइदा हुने र ट्रेडरलाई पनि बजार बढेरै फाइदा हुने सिनारियो थियो । अर्थात, ट्रेडर र इन्भेष्टरमा खासै तात्त्विक भिन्नता थिएन । तर, अहिले भिन्नता देखिन थालेको छ । अहिले लङ्ग टर्मलाई हेरेर भ्यालु इन्भेष्टिङ्ग गर्नेलाई बजारले न्याय नै गर्छ । तर, ट्रेडरको हकमा नेप्सेमा सूचीकृत भएका कम्पनीहरुलाई फिल्टर गर्न सक्नेले मात्रै कमाउने स्थिति छ । 

अब कन्फिडेन्सकै कुरा गर्दा यो कुनै कम्पनीको हकमा लागू हुन्छ तर यसले समग्र नेप्से बढ्न चाहिँ रोकिँदैन । आईपीओबाट आएका नयाँ कम्पनीहरुले सर्किट हानेकै रेकर्ड देखिन्छ । यसर्थ पनि नेप्से बढ्ने क्रम रोकिँदैन । तर, लगानीकर्ताले होल्ड गरेका कम्पनी नेप्सेजसरी नबढ्ने वा अन्डर पर्फम गर्न रोगचाहिँ पोर्टफोलियोमा लाग्न सक्छ । बजार पनि एकमदै सफ्ट र स्लो तरिकाले बढ्छ । धेरैलाई त बुल नै सकियो, बियर सुरु भयो भन्ने पनि लाग्न सक्छ । तर, अन्तिममा बजारचाहिँ माथि नै जान्छ । यद्यपि नेप्से बढ्ने तर स्टकहरु नबढ्न सक्छन् । 

त्यसो भए अब के गर्ने ?
अब इन्भेष्टमेन्ट गर्ने, रेगुलर रुपमा बजारमा पैसा लगाइराख्ने र एभरेजिङ गर्ने लगानीकर्ताले लङ्ग टर्ममा कमाउँछन् । अर्कोतर्फ एकदमै स्टक फिल्टर गर्ने, लो क्यापमा खेल्ने त्यसमा पनि प्रोमोटरको लक कायम भएका स्टकहरुबाट ट्रेडरहरुले फाइदा लिन सक्छन् ।

यही स्थिति रहे त बुल टाढा धकेलिने देखियो नि ! अपेक्षा गरिएको बुल कहिले आउँछ ? 
बुल त आउँछ, तर बिस्तारै आउँछ । १८०० देखि २२०० को बीचमा किन्न छुटेकाहरुका लागि राम्रो अवसर छ । बुल सकिएको हो वा बुल नआउने भएको भए अहिलेको जस्तो बजार सस्टेन हुँदैनथ्यो । अहिले बजार नबढेको सत्य हो तर बजार ठाटो रुपमा घटेको त छैन नि ! यद्यपि बजार हो, बढ्न पनि सक्छ, घट्न पनि सक्छ । त्यसका लागि हामी तयार हुनैपर्छ । त्यसैमाथि हामीले बजारप्रति राष्ट्र बैंकको मनसाय बुझिसक्यौँ, बजारमैत्री नै नीति आउँछ भन्ने पनि थाहा भइसक्यो । त्यसैले बुल आउँछ नै तर २०२० को जस्तै बुलको अपेक्षा गर्नेहरुका लागि यो बुल चाहिँ ‘अल्छि लाग्दो बुल’ हुनसक्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK