काठमाडौँ । ‘भिजिट भिषा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठकमा विरोध जनाए । बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरू भयो । सभामुख देवराज घिमिरेले बैठक सुरू गरे लगत्तै विपक्षी दलले पुनः विरोध जनाए ।
बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी आधा घण्टाका लागि स्थगित भयो । बैठक स्थगन भएपछि सांसदहरूले फुर्सद पाए । केही सांसद सञ्चारकर्मीलाई प्रतिक्रिया दिन थाले भने कोही आपसमा छलफल गर्न थाले ।
कोही सांसद चमेनागृहमा चिया पिउन गए भने केही नियमित काम भन्दै सिंहदरबारतर्फ लागे । प्रतिनिधिसभाको बैठक अवरोधपछि स्थगित भएसँगै प्रतिनिधिसभाका केही सांसद भने राष्ट्रियसभाको बैठक अवलोकन गर्न छिरे ।
राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे नै सुरू भएको थियो । तल्लो सदनमा अवरोध भए पनि माथिल्लो सदन नियमित चल्यो । फुर्सदको सदुपयोग गर्दै प्रतिनिधिसभाका केही सदस्यहरू माथिल्लो सदनमा उपस्थित भएको दृश्य प्रत्यक्ष प्रसारणमा पनि देखियो ।
प्रतिनिधिसभा सदस्यहरू राष्ट्रियसभाको नियमित बैठक कक्षमा नभई दर्शकदीर्घामा उपस्थित थिए । प्रतिनिधिसभा सदस्यहरूले राष्ट्रियसभाको दर्शकदीर्घामा उपस्थित भई त्यहाँको काम कारबाहीको प्रत्यक्ष अवलोकन गरेका छन् ।
राष्ट्रियसभाको बैठक चलिरहँदा सांसदहरू सुहाङ नेम्वाङ, राजेन्द्रकुमार राई, प्रभु हजारा र सराज अहमद फारूकीको दर्शकदीर्घामा उपस्थित थिए । यो दृश्य देखेपछि पत्रकारले सांसद नेम्वाङलाई सोधे -राष्ट्रियसभामा तपाइँहरू किन जानुभएको ? उनले संक्षिप्त जवाफ दिँदै भने, ‘माथिल्लो सदनमा के कसो हुँदो रहेछ भनेर जानकारी लिन गएका हौँ ।’ उनले माथिल्लो सदनको नियमित काम कारबाही र गतिविधिका बारेमा जानकारी लिने उद्देश्यका साथ गएको प्रतिक्रिया दिए ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा छन् । राष्ट्रियसभा स्थायी सदन हो भने प्रतिनिधिसभाको कार्यकाल भने पाँच वर्षको रहन्छ । संविधानतः दुवै सदन एक अर्काका परिपूरक पनि हुन् । सरकारको नीति तथा कार्यक्रम र बजेट भने संयुक्त सदनमा प्रस्तुत हुन्छ ।
यस्तै, अर्का सांसद सराज अहमद फारूकीले पनि नियमित काम कारबाहीको बारेमा जानकारी लिने उद्देश्यले राष्ट्रियसभामा गएको बताए । ‘हामीले धेरै पहिलेदेखि नै माथिल्लो सदनको काम कारबाहीको बारेमा जानकारी लिने इच्छा राखेका थियौँ । त्यो आज पूरा भयो’, उनले भने । फुर्सदको समयलाई सदुपयोग गरेर दर्शकदीर्घामा नै बसेर राष्ट्रियसभाको बैठकका बारेमा जानकारी लिएको उनले जानकारी दिए । उनले राष्ट्रियसभाको बैठक र सञ्चालन तरिका भने प्रतिनिधिसभाको जस्तै भए पनि रमाइलो लागेको बताए ।
प्रतिनिधिसभाका चार जना सांसद दर्शकका रूपमा उपस्थित हुँदा राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राख्दै थिए । सांसद फारूकीले आफूहरू केही समय राष्ट्रियसभा बैठकको प्रत्यक्ष जानकारी लिई बाहिरिएको बताए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको काम कारबाही नियमित र उस्तै रहने गर्छ । यद्यपि बहस छलफलका हिसाबले तल्लो सदनभन्दा माथिल्लो सदन थप व्यवस्थित मानिन्छ ।