काठमाडौँ। राष्ट्रियसभाको बुधबारको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना गर्ने विषयलाई अभियानका रूपमा सञ्चालन गरिने बताएका छन् । ‘विनियोजन विधेयक, २०८२’ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा सभामा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै श्रममन्त्री भण्डारीले स्वदेशमा रोजगारी सिर्जना गर्ने कार्यलाई आगामी दशकका लागि अभियानका रूपमा अघि बढाइने बताएका हुन् ।
रोजगारी र यसको व्यवस्थापन बहुआयामिक विषय भएको बताउँदै उनले आन्तरिक रोजगारीको अवसर सिर्जनामा मन्त्रालय कटिबद्ध रहेको जानकारी दिए । ‘सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगारी सिर्जना गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यो मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने विषय पनि हो’, उनले भने ।
विकासको परिभाषा केवल भौतिक पूर्वाधारमा सीमित नरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मानव विकास, रोजगारी तथा सामाजिक सुरक्षालाई समेत विकासको अभिन्न अङ्गका रूपमा लिनुपर्ने बताए । उनका अनुसार मन्त्रालयले मुलुकको ठूलो बेरोजगार जनसङ्ख्यालाई लक्षित गर्दै गरिबी निवारणमा प्रत्यक्ष प्रभाव पार्ने रोजगारी सिर्जना योजनालाई प्राथमिकता दिएको हो ।
मन्त्री भण्डारीले मन्त्रालयमा आन्तरिक रोजगार व्यवस्थापन महाशाखा स्थापना भइसकेको बताउँदै आगामी दिनमा वैदेशिक रोजगारीका साथै स्वदेशमा रोजगारी सिर्जना र व्यवस्थापनमा केन्द्रित रहने जानकारी दिए । नीतिगत व्यवस्था तथा कार्ययोजना निर्माण गरेर तीनवटै तहको सरकार र विकास साझेदारलाई साथमा लिएर रोजगार पारिस्थितिक चक्र (इकोसिस्टम) निर्माण गर्ने प्रयास थालिएको उनले उल्लेख गरे ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक मौसमी कामदारका रूपमा भारत जानुपर्ने बाध्यतालाई कम गर्न राष्ट्रिय रोजगारी प्रवर्द्धन कार्यक्रममार्फत अल्पकालीन रोजगारीको व्यवस्था मिलाइएको उनले जानकारी दिए । श्रम व्यक्तिको पुँवजीका रूपमा रहेको उल्लेख गर्दै उहाँले सीपले श्रमिकको उत्पादकत्व वृद्धि र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने धारणा राखे ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार गम्भीर रहेकोसमेत स्पष्ट पारे । वैदेशिक रोजगारीमा जाने बिमा तथा सामाजिक सुरक्षालाई अनिवार्य गर्न पहल भइरहेको उनको भनाइ छ । विदेशमा समान काममा समान ज्याला पाउने अधिकारका लागि पनि नेपालले पहल गरिरहेको भण्डारीले बताए ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी, विचौलिया र सिण्डिकेट नियन्त्रणका लागि सरकारले कडा कदम चालेको उल्लेख गर्दै मन्त्री भण्डारीले श्रम तथा रोजगार क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई मन्त्रालयले विशेष प्राथमिकता दिएको बताए । हालै ‘श्रम संसार’ एप सार्वजनिक भइसकेको भन्दै उनले यसलाई वैदेशिक रोजगारीमा रहेका नेपालीको उद्धारमा सहज हुने गरी विस्तार गरिएको सदनलाई जानकारी दिए ।
वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको सीप, पुँजी र ज्ञानलाई देशको उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रयोग गर्नेगरी पुनःएकीकरण कार्यक्रम र सुरक्षित आप्रवासन कार्यक्रमलाई प्राथमिकतामा राखिएको मन्त्री भण्डारीले बताए । आगामी वर्षदेखि सबै स्थानीय तहबाट सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्