काठमाडौँ । फागुन २१ गतेको चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएका मतपेटिका पुनः प्रयोग गर्न मिल्ने अवस्थामा रहेको भन्दै निर्वाचन आयोगले नयाँ मतपेटिका खरिद गर्न नपर्ने जनाएको हो ।
मतपेटिका बाहेक अन्य आवश्यक सामाग्री खरिदका लागि निर्वाचन बजेट समेत तयार पारिसकिएको आयोगले जनाएको छ ।
उक्त बजेट आयोगले अर्थ मन्त्रालय पठाइसकेको छ । आयोगले तयार गरेको निर्वाचन बजेट अनुसार फागुन २१ गते चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त बजेट अर्थ मन्त्रालयले स्वीकृत गर्न बाँकी छ ।
हाल आयोगले चुनावका लागि चाहिने सामाग्रीहरुको सूची तयार गर्दैछ । अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेसँगै आवश्यक सामाग्री किन्न सुरु गर्ने आयोगले तयारी गरेको छ ।





			
						







