काठमाडौँ । भारत विज्ञानको क्षेत्रमा क्रान्तिकारी प्रगतिका साथसाथै लैंगिक समानताको दिशामा पनि दृढ पाइला चालिरहेको छ । हालैका वर्षहरूमा भारतीय महिलाहरूले विज्ञानको सबैभन्दा जटिल र नविन क्षेत्र मानिने क्वान्टम भौतिकशास्त्रमा असाधारण उपस्थिति जनाएका छन् । यो प्रवृत्ति केवल लैंगिक सशक्तिकरणको प्रतिविम्ब होइन, बरु भारतमा गहिरो वैज्ञानिक संस्कार र प्रेरणाको निरन्तरताको प्रमाण हो । जसको मूलमा सतीन्द्र नाथ बोसजस्ता युगान्तकारी वैज्ञानिकको योगदान छ ।
सतीन्द्र नाथ बोसले क्वान्टम यान्त्रिकीको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । बोस-आइन्स्टाइन सिद्धान्तले आधुनिक विज्ञानमा जस्तै भौतिकशास्त्र र अन्तरिक्ष विज्ञानको ढोका खोलिदिएको थियो । उनकै योगदानले विश्व वैज्ञानिक समुदायलाई बोसोन कणहरूको अवधारणा दिएको थियो, जसले हिग्स बोसोन लगायतका गूढ वैज्ञानिक अनुसन्धानहरूलाई सम्भव बनायो । आजको भारतमा विज्ञानको जुन स्तर छ, त्यसको ऐतिहासिक आधार त्यही बोसको खोज र दृढ इच्छाशक्तिमा आधारित छ ।
त्यसै प्रेरणाले आज भारतका विश्वविद्यालय, अनुसन्धान संस्था र स्टार्टअप इनोभेसन प्रयोगशालामा सयौं महिला वैज्ञानिकहरू नेतृत्वको अग्रभागमा छन् । क्वान्टम कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता, नाभिकीय भौतिकशास्त्र, र न्यानो टेक्नोलोजी जस्ता कठिन शाखाहरूमा उनीहरूको सक्रियता उल्लेखनीय छ । भारतीय महिला वैज्ञानिकहरू अब केवल अनुसन्धानकर्तामा सीमित छैनन्, बरु विश्व वैज्ञानिक समुदायका प्रमुख नीतिगत निर्णायकहरूमध्ये एक बनेका छन् ।
भारत सरकार तथा निजी क्षेत्रले पनि महिलालाई विज्ञानमा प्रविष्ट गराउने विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छन्- जस्तै INSPIRE, KIRAN र Vigyan Jyoti जस्ता योजनाहरू, जसले छात्रवृत्ति, अनुसन्धान अनुदान र संरचनात्मक सहयोग प्रदान गर्दै आएका छन् । IIT, IISc, TIFR, र अन्य प्रतिष्ठित संस्थानहरूले महिला वैज्ञानिकहरूलाई समान अवसरका साथ नेतृत्वका भूमिका दिन थालेका छन् ।
यसो हुँदा, भारत अब केवल IT वा अन्तरिक्ष प्रविधिमा मात्र होइन, मूल वैज्ञानिक चिन्तनको नेतृत्वमा पनि उभिन थालेको छ र त्यसको केन्द्रमा छन् महिला वैज्ञानिकहरू, जो बोसको बुद्धि र दृष्टिकोणलाई आफ्नो प्रेरणाको श्रोत मान्छन्। यो परिवर्तन केवल भारतीय विज्ञानको उन्नति मात्र होइन, विश्वभरिका महिलाहरूका लागि मार्गदर्शक शक्ति हो ।