काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाले एक लाख भन्दा कम बचत राखेका बचतकर्तालाई रकम फिर्ता दिएको छ । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थापक अध्यक्ष रहेको उक्त सहकारीले बागलुङमा एकलाखमुनीका सबै बचतकर्तालाई पैसा फिर्ता दिएको हो ।
हाल सहकारीले एक लाखभन्दा कम रकम जम्मा गरेका पोखराका १ सय ५८ जना बचतकर्तालाई रकम फिर्ता गर्न थालेको छ ।
सहकारीका अनुसार हालसम्म ६ सय १३ जना बचतकर्ताको करिब ५ करोड रुपैयाँ फिर्ता गरिसकिएको छ । सोमबार पोखराका ५ सय २७ जनामध्ये एक सय ५८ बचतकर्ताको रकम फिर्ता गर्ने काम भइरहेको सहकारीले जनाएको छ । उनीहरुको करिब एक करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको सहकारीले जनाएको छ ।
उक्त सहकारीमा बागलुङ, गलकोट, बुर्तिवाङमा गरी कुल १ हजार ५ सय ७४ जना र पोखरामा ५ सय २४ बचतकर्ता छन् । सहकारीको एक अर्ब ९५ करोड रुपैयाँ हिनामिना भएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । हाल एक लाख भन्दा कम बचत रहेका बचतकर्तालाई पैसा फिर्ता गर्ने काम भइरहेको छ भने बढी बचत हुने बचतकर्तालाई बागलुङ, पोखरा, चितवन र काठमाडौँमा घरजग्गा दिइने भएको छ ।
हाल उक्त सहकारी ठगी प्रकरणमा सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली पुर्पक्षका लागि कारागारमा छन् । उनका दाइले सहकारीका बचतकर्तासँग मिलापत्र गरेका छन् ।