Skip to content
LAXMI SUNRISE BANK

Exclusive : अनलाइन गेमको लतमा फसेकी सुनिताले यसरी चोरिन् बैंकका ग्राहकको खाताबाट करोडौँ रकम (स्थलगत)

अर्थ सरोकार

काठमाडौँ । फागुनको दोश्रो साता । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाईघाट शाखा सदाझैँ सामान्य रुपमा चलेको देखिन्थ्यो । बैंकमा नियमित काम भईरहेको थियो । सुनिता बानियाँ वर्किङ्ग डेस्कमै थिइन् । अरु कर्मचारी पनि आ-आफ्नो काममा व्यस्त देखिन्थे । बानियाँ  सुरुमा सिटी फाइनान्समा काम गर्थिन् ।

एक्कासी सुनिता बानियाँ हस्याङ्ग फस्याङ गर्न थालिन् । झोला प्याक गरिन्, र एक्कासी बैंकबाट निस्कीइन् ।

उनका साथीहरुलाई लाग्यो- केहि अर्जेन्ट पर्यो कि ! तर उनले देखाएको व्यवहार केहि फरक थियो, त्यो दिन । केहि बिग्रिएजस्तो, नदेख्नुपर्ने मान्छे देखेजस्तो, केहि बितिहालेको जस्तो ।

नभन्दै, भएको त्यस्तै रहेछ । आफुले ठगी गरेको बैंकका एक ग्राहक बैंक आएपछि उनी बैंकबाट भागेकी रहेछिन् । जसको रकम फिक्स्ड डिपोजिटमा राखेको भनेर बानियाँले आफैँ चलाएकी थिइन्, उनै व्यक्ति सो फिक्स्ड डिपोजिटको स्लिप लिन आएपछि आफ्नो पोल खुलेसँगै उनी भागेकी रहेछिन् ।

ग्राहकले आफ्नो फिक्स्ड डिपोजिट लिन आएको बताए । पैसा सुनितालाई दिएको बताए । त्यसपछि सोधीखोजी भयो । बुझ्दै जाँदा ती ग्राहकको पैसा फिक्स्ड डिपोजिटमा राखिदिएको भन्दै बानियाँले आफैँ चलाएकी रहेछिन् ।

बानियाँले बैंकमा रकम जम्मा गर्न आउने व्यक्तिको रकम आफैँ चलाउने गरेको थाहा पाएपछि बैंकको शाखाका प्रबन्धकले हेड अफिसमा फोन गरे । पछिल्लो समय बैंकका धेरै शाखामा यस्ता बदमासी भएको देखिरहेको हेड अफिसको टोली तुरुन्त गाईघाट पुग्यो र अनुसन्धान गर्न थाल्यो ।

अनुसन्धानका क्रममा उनले फिक्स्ड डिपोजिटमा राखेको रकम आफैँ चलाउने मात्र होइन, गाउँठाउँका व्यक्तिहरुसँग बैंकमा राखिदिने भन्दै पैसा लिएर आफैँ चलाउने र तिनलाई नक्कली भौचर थमाउने समेत गरेको भेटियो ।

‘सुनिता बानियाँको बारेमा रिपोर्ट हेड अफिस आएपछि हामीले ब्रान्चमा इन्भेष्टिगेसका लागि पठायौँ । बानियाँले फिक्स्ड डिपोजिटको रकम आफैँ चलाउने, बैंकको नक्कली भौचर दिएर उठाइएको रकम आफैँ चलाउने गरेकोसमेत पाइयो ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘त्यसपछि उनी विरुद्ध प्रहरीमा जाहेरी दिईयो । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

अनलाइन गेमिङको लतले सबथोक बिगार्यो

सो फाइनान्स नेपाल इन्भेष्टमेन्ट बैंकमा मर्ज भयो । पछि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बन्यो । त्यसपछि पनि उनी त्यहीँ काम गर्थिन् । हाल उनलाई बैंकले निलम्बन गरेको छ ।

सुनिता बानियाँले यसो गर्नुको पछाडी उनको गेमिङ र बेटिङ्ग लत थियो । अनलाइनमा जुवा खेल्ने र गेम खेल्ने उनको केहि समय अगाडी नै थुप्रै पैसा गुमाईसकेकी थिइन् । अनलाइन गेमिङको लत बसेकी उनी आफूले कमाएजति सबै पैसा बेटिङ्ग र गेमिङमा उडाउँथिन् । आफ्नो पैसाले नपुगेपछि उनले आफन्तहरुबाट सापट लिन थालिन्, पैसाले नपुगेपछि चिनजानकाहरुसँग सुनसमेत सापट लिएर पैसा निकालेर गेम खेलिन् । तर, सबै पैसा सोहि गेम र बेटिङ्गमै सकियो ।

आफ्नो र आफन्तको पैसा सकिएपछि उनले पैसाको जोहो गर्न अनेक जुक्ति निकालिन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले केहि समय यता न्युनतम १ वर्षको मात्र फिक्स्ड डिपोजिट लिने नियम बनाएको थियो । अर्थात् बैंकमा पैसा राखेपछि एक बर्षपछि मात्र सो व्यक्ति पैसा लिन बैंक आउँथ्यो । यहि व्यवस्थालाई देखेर उनी एक बर्षसम्म ‘देखाजाएगा’ भन्ने शैलीमा सो रकम आफैंले चलाउन थालिन् । अर्थात बैंकमा फिक्स्ड डिपोजिट राख्न आउने केहि बृद्धहरुको रकम उनी आफैंले चलाउन थालिन् । बैंकको सिष्टममा सो रकम नचढाई उनले ती बृद्ध-बृद्धाहरुलाई ‘एक बर्ष पछि आउनु है’ भनेर पठाउँथिन् । कतिलाई त नक्कली भौचर बनाएर पठाउँथिन् । तर, भौचर पठाएका एक ग्राहक फिक्स्ड डिपोजिटको स्लिप लिन आएपछि उनको पोल खुल्यो ।

ग्राहकको रकम पनि चोर्थिन् सुनिता

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार फिक्स्ड डिपोजिटमा पैसा राख्न आउनेहरुको रकम आफैंले चलाउने मात्र होइन, उनी बैंकको निष्क्रिय खाताबाट रकम आफ्नो नाममासमेत ट्रान्सफर गर्थिन् । बैंकमा निष्क्रिय रहेको खातामा पहुँच बनाएर सुरुमा त्यहाँको फोन नम्बर परिवर्तन गर्थिन्, आफ्नो फोन नम्बर वा बिगारेर फोन नम्बर राख्थिन्, र पैसा आफ्नो खातामा राख्थिन् ।

तर फिक्स डिपोजिट प्रकरणमा अनुसन्धानका लागि आएको बैंकको हेड अफिसको टोलीले यो सबै थाहा पायो । अनुसन्धान टोलीले कुल १ करोड २९ लाख ४८ हजार रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेर प्रहरीमा जाहेरी दियो । जाहेरी दिएपछि उनी पक्राउ परिन् । प्रहरीले पटक पटक गरी विभिन्न मितिमा अनुसन्धानका लागि अदालतबाट म्याद थपेर थप अनुसन्धान गरिरहेको छ ।

घटना लुकाउन चाहान्थ्यो बैंक, अर्थ सरोकारले ब्रेक गरेपछि बाहिरियो घटना

यो घटना करिव आधा महिना अघिको हो । घटनाबारे तथ्य लुकाउन बैंकले राम्रै कसरत गरेको रहेछ । स्थानीयबीच यो प्रकरणले राम्रै चर्चा पाए पनि घटना सार्वजनिक रुपमा आएको थिएन । प्रहरीले पनि औपचारिक रुपमा बानियाँ पक्राउको खबर सार्वजनिक गरेन । जवकि यस्तो घटनामा प्रेस विज्ञप्ति नै जारी गरेर जानकारी दिने चलन छ ।

बैंकले पनि सबैको पैसा फिर्ता गरेकाले ग्राहकहरुले पनि यो घटना बाहिर ल्याएनन् । तर सोमबार विहानै एक बैंकरले घटनाको जानकारी अर्थ सरोकारमा गराए । स्थानीय थप केहि स्रोतहरुसँग भेरिफाई गरेपछि अर्थ सरोकारको टिम तुरुन्तै गाईघाट ‘मुभ’ भयो । जिल्ला प्रहरी कार्यालयले पनि घटनाको पुष्टी गर्यो । बैंकका सूचना अधिकारीले ‘जानकारीमा छैन’ भनेर झुट बोले पनि घटना स्थानीय रुपमा धेरै चर्चित रहेछ । मंगलबार विहानै अर्थ सरोकारले यो खबर ब्रेक गरेपछि अहिले चौतर्फी रुपमा यो घटनाको चर्चा भईरहेको छ ।

थुप्रै छन् यस्ता घटना, जोखिममा छ जनताको करोडौँ रुपैयाँ !

यसो त यस्तो घटना भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा न यो पहिलो घटना हो, न एक मात्र घटना हो । मंगलबारमात्रै कपिलवस्तु स्थित तौलिहवा शाखामा पनि यस्तै घटना भएको छ । ग्राहकको रकम चोरेर आफ्नो खातामा जम्मा गरेका बैंकका पियन रिशव कार्कीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । यो घटनाले बैंकले कोर बैंकिङ सिष्टमको पहुँच पियनलाईसमेत दिने गरेको पाइएको छ ।

बैंकका अन्य शाखामा पनि यसरी ग्राहकको रकम चोरिएको घटनाबारे बैंकमा खबर पुगेको छ र केहि घटनामा बैंकले अनुसन्धान सकिसकेकोसमेत छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK