×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअप : राष्ट्र बैंकले डिजीएम बन्न नै ‘अयोग्य’ भनेका कंडेल कसरी भए ज्योति बिकास बैंकका डेपुटी सीइओ ?

अर्थ सरोकार

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार

PRIME CA

फलोअप : राष्ट्र बैंकले डिजीएम बन्न नै ‘अयोग्य’ भनेका कंडेल कसरी भए ज्योति बिकास बैंकका डेपुटी सीइओ ?

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । हाल ज्योति बिकास बैंक लिमिटेडमा डेपुटी सीइओ रहेका पारश राज कंडेल नेपाल राष्ट्र बैंकले आफ्नो इन्सपेक्सनका क्रममा ‘डीजीएम’ बन्न नै अयोग्य ठहर गरेका व्यक्ति भएको खुलासा भएको छ । २०७६ सालमा ज्योति विकास बैंकको स्थलगत सुपरिवेक्षणमा आएको नेपाल राष्ट बैंकको टिमले दर्जनौ अनियमितताका फेहरिस्त राष्ट बैंकमा बुझाएको थियो । त्यसमध्येकै एक थियो, बैंकमा डिजिएम नियुक्त गरिएका पारसराज कंडेल योग्यता ।
तत्कालीन हाम्रो विकास बैंकसग मर्जरका क्रममा कंडेल ज्योति विकास बैंक आइपुगेका थिए र उनलाई सिधै डिजिएम नियुक्त गरिएको थियो । तर उनको योग्यता सिए मात्र हो, र आजका दिनमा उनीसँग माष्टर्सको समकक्षकतासमेत छैन । यसरी हेर्दा उनको कानुनी योग्यता प्लस टु मात्र देखिन्छ । त्यतिबेला ज्योति विकास बैक आफैले बनाएको कर्मचारी सेवा नियमावलीमा मास्टर्स डिग्री वा सो सरह पास गरेको व्यक्ति मात्र डिजिएम बन्न सक्ने उल्लेख थियो । त्यसैले कडेललाई डिजिएम बनाउदा राष्ट बैंकले निरिक्षण गरेर अनियमितता भएको भन्दै प्रष्टिकरणसमेत सोधेको थियो ।
तर नियामक निकाय राष्ट बैंकले अनियमित भन्दै प्रष्टिकरण सोधेको बिषयलाई ज्योति बैंकले धोती लगाइदिएको छ । राष्ट बैंकको प्रतिवेदनलाई चुनौति दिदै उसले डिजिएममा अयोग्य भएको व्यक्तिलाई कामु सिईओ समेत नियुक्त गरिदियो । तर राष्ट बैकका हाकिमहरु आफ्नै निर्देशनलाई त्यसरी चुनौति दिदै गरेको मनलाग्दीमा मौन बसेका छन् । राष्ट्र बैंकले सोधेको प्रष्टीकरणपछि हतार हतार बैंकको बोर्डले कंडेललाई जोगाउन भन्दै कर्मचारी विनियमावली परिवर्तन गरेको पाइएको छ ।
तत्कालिन सिईओ मनोज ज्ञवालीलाई हटाएर योग्यता नै नपुगेका कडेललाई कामु सिईओ बनाउनुमा अर्बौ रुपैया कर्जा दिलाउने र केही धितोका सम्पत्ति आफुले कुम्ल्याउने नियतले काम गरेको बैंककै अन्य संचालकहरुको भनाइ छ । र बैंकको सीइओ बन्ने योजनामा रहेका कंडेलले खड्काको हरेक योजनामा साथ दिएको संचालकहरुकै दाबी छ । 
कंडेलको तलव नै अचम्मको !
‘अचम्मको कुरा के छ भने कंडेल हाम्रो विकास बैंकमा हुंदा २ लाखभन्दा कम तलबमा काम गर्थे । तर ज्योति विकास बैंकमा गाभिएर डिजिएम नियुक्त हुँदा पनि उनको तलब समान नै रहयो । तर केही महिनामै उनलाई कामु सिईओको जिम्मेवारी दिदा सिईओ मनोज ज्ञवालीले खाइपाइ आएको तलब र सुविधा नै दिनेगरी निर्णय भयो । २ लाख तलब खाने व्यक्तिलाई सिधै ६ लाख तलब पाउने जिम्मेवारी दिएपछी कंडेलले अध्यक्ष खड्काले भनेको जुनसुकै काम पनि आँखा चिम्लेर सही गर्न थालेका हुन् ।’ बैंकका एक संचालकले अर्थ सरोकार डटकमसँग भने, ‘त्यतिमात्र नभई कडेललाई कामु जिम्मेवारी दिइएवापत पाएको ३ लाखभन्दा बढी तलब सुविधामध्ये आधार रकम खड्का समुहलाई बुझाउने गरी सहमति गरिएको समेत कर्मचारीवृत्तमा चर्चा छ । यद्यपी यो चर्चाको पुष्टी हुन सकेको छैन ।
अहिले ज्योतीमा श्रीचन्द्र भट्ट सिईओ नियुक्त भैसकेका छन । उनलाई पनि ४ बर्षे नियुक्ती दिए पनि २ बर्षमा नै गलहत्याएर कडेललाई सिइओ बनाउने योजना अनुरुप काम भैरहेको ती संचालकको दाबी छ । जस अनुसार बैंक स्थापनाकालदेखि कम्पनी सचिब रहेका र कानुनी पृष्ठभुमिका मदनकुमार महतलाई हटाएर कडेललाई कम्पनी सचिब नियुक्त गरिसकिएको छ । बैंकभित्र भएका यस्ता कामले आफ्नो दाबीलाई पुष्टी गर्ने उनको भनाइ छ । त्यतिमात्र हैन, डिजिएममा योग्यता नपुगेका कडेललाई अनेक जालझेल गरेर डेपुटी सिईओ समेत नियुक्त गरिसकिएको छ । जुनियर एसिस्टेन्टमा नियुक्तिका लागि भरमार बिज्ञापन गर्ने बैंकले डेपुटी सिईओमा भने आन्तरिक भन्दै नौंटंकी गरेर कडेललाई नियुक्ति दिइएको थियो ।
राष्ट्र बैंकको निर्देशनलाई धोती लगाईदियो ज्योति बिकास बैंकले…
‘ज्योतिमा रिक्त डेपुटी सीईओ छनौटको लागि एउटा कमिटी बनाइएको थियो । जसमा सीईओ श्रीचन्द्र भट्ट, एजिएम रामहरि आचार्य र मेनेजर बलदेव थापा सदस्य थिए । आश्चर्यलाग्दो कुरा यही छ की बहालवाला एजिएम र बहालवाला मेनेजरले बहालवाला २ जना डिजिएमको अन्तरवार्ता लिएर डेपुटी सिइओ नियुक्ति गरिदिए । सस्थागत सुशाशनको योभन्दा ठुलो धज्जी के हुन सक्छ ? के खरिदार र नायब सुव्बाले जाच लिएर उपसचिबको नियुक्ति गर्ने चलन शुरु भएको हो ? डेपुटी सिइओ छनोट प्रक्रिया खुला नगरिनु, बिज्ञ छनोटकर्ता नराखिनु र कडेललाई नियुक्ति गर्नकै लागि कर्मचारी नियमावली नै संशोधन गरिनुमा ठुलै पैसाको खेल भएको बुझिन्छ । कडेललार्इै उपयोग गरेर करोडौ घोटाला गर्ने योजना अनुसार काम भैरहेको छ । यसमा कडेलचाही सिमित पैसाको लोभमा उपयोग भैरहेका छन ।’ बैंकका अर्का संचालकले अर्थ सरोकारसँग भने, ‘राष्ट बैंकले नियमावली अनुसार योग्यता पुग्दैन भनेर कडेललाई डिजिएमबाट हटाउन निर्देशन दिइसकेको थियो । तर बैंक सन्चालक समितिले राष्ट बैंकको निर्देशन धोती लगाइदिदै कडेललाई मिल्ने तरिकाले नियमावली नै सशोधन गरिदियो । एउटा व्यक्तिका लागि सस्थाको नियमकानुन नै परिवर्तन गरिदिने समुहले आफुलाई फाइदा खान केके पो गर्ला ? अनुमान गर्न सकिन्न ।’
ती संचालकका अनुसार डिजिएममा अयोग्य भएका कडेल डेपुटी सिइओका उमेदवार बने र अर्का प्रतिस्पर्धी उनीभन्दा सिनियर डिजिएम सुशीलकुमार शर्मा थिए । सिभिल बैंकको ब्रान्च मेनेजर र त्रिवेणी विकास बैंकमा केही समय करारमा काम गरेको साथै हाम्रो विकास बैंकमा २ बर्ष मात्र अनुभव भएका कडेलभन्दा २६ बर्ष नेपाल एसबिआई बैकमा काम गरेका र ज्योतिमै पनि ४ बर्षदेखि डिजिएम रहेका शर्माको छनोट हुनुपर्ने अधिकाश कर्मचारीको राय थियो । तर सेटिङ अनुसार बनाएको छनोट समितिले शर्मालाई भन्दा कडेललाई ४ नम्बर बढी दिएर डेपुटी सिईओ बनाएको छ । शर्माभन्दा कडेलको नम्बर कसरी बढी आयो भन्ने कुरामा छनोट समितिका कसैसग पनि कुनै जवाफ छैन । डेपुटी सिईओ नियुक्तिको फाइल हेर्ने हो भने त्यहाभित्र भएको बदमासि छताछुल्ल हुने निश्चित छ ।
सिईओ श्रीचन्द्र भट्टले कडेललाई नियुक्ति गर्दा राष्ट बैंकले आपत्ति जनाउन सक्ने भन्दै बोर्डमा कुरा उठाए पनि कडेलले गभर्नर महाप्रसाद अधिकारीसँग आफ्नो व्यक्तिगत र पारिवारिक सम्बन्ध ‘अच्छा’ रहेको चन्दै बोर्ड बैठकमा नै भनाई राखेका थिए । उनले केन्द्रीय बैंकसँग ट्युनिङ्ग मिलाउने आफ्नो दक्षता,क्षमता र जिम्मामा शङ्का नगर्न भनेपछि अधिकांश बोर्ड सदस्यहरू त्यतिबेलै दङ्ग परेका थिए ।
के भन्छन् कंडेल ?
यता पारस राज कंडेलले भने आफु ज्योति बिकास बैंकको कर्मचारी विनियमावली अनुसार नभई ज्योति र हाम्रो बिकास बैंकबीचको मर्जरको प्रक्रियामा आएर डीजीएम भएको दाबी गरेका छन् । आफ्नो क्वालिफिकेसनमाथि राष्ट्र बैंकले प्रश्न उठाएको स्वीकार गर्दै कंडेलले अर्थ सरोकार डटकमसँग भने, ‘ज्योतिको कर्मचारी विनियमावली अनुसार क्वालिफिकेसन भएन भनेर इन्स्पेस्क्सन रिपोर्टमा उल्लेख गरेको हो । तर म हाम्रो बिकास बैंकबाट सुरुमा नै डीजीएम हुने भनेर सम्झौता भएको र सोहि अनुसार आएकाले मलाई ज्योतिको कर्मचारी विनियमावली लाग्ने कुरा भएन । अहिले सो विनियमावली परिवर्तन भएको छ र सो अनुसार मेरो योग्यता पुग्छ ।’
कंडेलको कुराले पनि ज्योतिका एक संचालकको दाबीलाई थप पुष्टी गरेको छ । राष्ट्र बैंकले पनि त नबुझी कहाँ इन्स्पेसनमा लेखिदियोहोला र ? के राष्ट्र बैंकमा इन्सपेक्सन गर्ने टोलीलाई मर्जरबारे थाहा नभएको होला र ? अनि के राष्ट्र बैंकले लेखिदिइसकेपछी त्यसप्रतिको दायित्व बैंकसंग हुँदैन ? के राष्ट्र बैंकले तिम्रो क्वालिफिकेसन पुगेन भनेर लेखिसकेको स्थितिमा कंडेलले नैतिकताका आधारमा बैंक छोड्नु पर्दैनथ्यो ? के कंडेललाई नै राम्रो हुनेगरीमात्र एउटा पब्लिक लिमिटेड कम्पनीले नियामकको प्रष्टीकरणलाई धोती लगाएर विनियमावली परिवर्तन गर्न पाउँछ ? योग्यता नपुगेका व्यक्तिलाई रातारात डबलभन्दा बढी तलव बढाउनुको नियत के हो ? प्रश्न अनेक उठेका छन् । तर राष्ट्र बैंक आफ्नै इन्सपेक्सन टोलीले लेखेको प्रतिवेदनमा कंडेलको योग्यता माथि प्रश्न उठेको अवस्थामा कंडेल डेपुटी सीइओ भएकोसमेत टुलुटुलु हेरेर बसेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: