×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नक्कली सर्टिफिकेट देखाएर अध्यक्ष भएका नेपाल लाइफका संघाईबारे छानविन भएन, बर्षौंदेखि सीआइबीमा केस अलपत्र’

PRIME CA

‘नक्कली सर्टिफिकेट देखाएर अध्यक्ष भएका नेपाल लाइफका संघाईबारे छानविन भएन, बर्षौंदेखि सीआइबीमा केस अलपत्र’

अर्थ सरोकार

३ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं । नेपालको प्रहरी अनुसन्धान गर्ने मामलामा एशियाकै उत्कृष्ट रहेको चर्चा बेला बेलामा सुनिने गरेको छ । अझ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरेका कतिपय उत्कृष्ट कार्यले नेपालको प्रहरी कतिसम्म सक्षम छ भन्ने देखाउँछ । तर सीआइबीले नै पछिल्लो समय कतिपय विषयमा आँखा चिम्लिंदा एकातर्फ सीआइबीप्रति जनताको विश्वास घट्दै गएको छ भने अर्कोतर्फ गलत गर्नेहरुले प्रसय पाईरहेका छन् । कतिपय उजुरी तथा सूचनाहरुलाई सीआइबीले मतलव नगर्दा गलत गर्नेहरु खुलेआम गलत नै गरिरहेका छन् । त्यसमाथि पनि कर्पोरेट क्षेत्रमा हुने गलत कामको अनुसन्धानमा सीआइबीको विशेष भूमिका हुन्छ । बैंकिङ कसुरदेखि नक्कली सर्टिफिकेट काण्डसम्म सीआइबीले पटक पटक ठुलै सफलतासमेत हात पारेको छ । तर सीआइबीभित्र त्यस्ता केहि उजुरी र मुद्धाहरु पनि छन् जसको सीआइबीले अनुसन्धान नगर्दा कर्पोरेट क्षेत्र नै बदनाम भएको छ । तीनै मुद्धामध्येको एक हो- नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोबिन्द लाल सांघाईको नक्कली सर्टिफिकेटको केस ।

४ बर्षसम्म पनि भएन अनुसन्धान…

४ बर्षमै त मान्छे पढेर पनि ब्याचलर सक्काउँछ । तर सीआइबीले गोबिन्द लाल सांघाईको सर्टिफिकेट नक्कली हो भन्ने उजुरी विभिन्न आधारसहित प्रस्तुत गर्दा पनि सीआइबीले अनुसन्धान नै गरेन । नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्षको सर्टिफिकेट नक्कली भएको सो उजुरी अहिले पनि केन्द्रीय अनुसन्धान ब्युरोमा सुरक्षित छ । तर ठुलो व्यापारिक घराना भएकै कारण उनीमाथि अनुसन्धान हुन नसकेको नेपाल लाइफकै कर्मचारी बताउँछन् । नेपाल लाइफभित्रको भद्रगोलको समाचार अर्थ सरोकारमा पढेर अर्थ सरोकारको सम्पर्कमा आएका नेपाल लाइफकै एक उच्च अधिकारी भन्छन्- ‘अध्यक्षकै सर्टिफिकेट नक्कली छ । यससम्बन्धमा सीआइबीमा उजुरी पनि परेको छ । तर संघाइलाई कसले कारवाही गर्ने ? कसले अनुसन्धान गर्ने ? कसको आँट नेपालमा यति ? ‘नक्कली सर्टिफिकेट देखाएर अध्यक्ष भएका नेपाल लाइफका संघाईबारे छानविन भएन, बर्षौंदेखि सीआइबीमा केस अलपत्र छ ।’

उनका अनुसार यस प्रकरणमा ४ बर्ष अघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी परेको थियो । अख्तियारले यस सम्बन्धमा के कसो भएको हो भनेर बीमा समितिमासमेत पत्र पठाएको थियो । तर बीमा समितिभित्र नै यो केस थामथुमपारियो । उता सीआइबीमा पनि यो केसमा अनुसन्धान अगाडी नबढाउनका लागि ठुलै प्रेसर गयो । जसका कारण आजसम्म यो केसको अनुसन्धान भएको छैन । ‘सीआइबीमा अझै पनि सो केस सुरक्षित छ । तर पनि न अनुसन्धान हुन्छ न केहि ।’ ती अधिकारीले अर्थ सरोकार डटकमसँग भने-‘सानालाई ऐन, ठुलालाई चैन भनेको सायद यहि रहेछ ।’

यसो त संघाईको प्रकरण यो मात्र होइन । उनले जनताको जीवनमाथि खेलबाड गरेको भन्दै उनको उद्योगमाथिसमेत सिल गरिएको थियो । तर पावरकै भरमा त्यहाँ पनि उनले सबै केस मिलाए । शक्ति र पैसाको आडमा सबै कुरा मिलाएर मनपरी गर्ने गरेको आरोप उनीमाथि छ । यो प्रकरणमा पनि त्यस्तै भएको हुनसक्ने धेरैको शंका छ । ‘ एउटा सामान्य व्यक्ति भएको भए अनुसन्धान गरेर, उ जेल गएर पनि जेलबाट निस्किने बेलासमेत भईसक्यो । तर संघाईले छुन सक्ने रहेनछ नेपालको प्रहरीले ।’

पावरका भरमा अलपत्र परेको त्यो प्रमाणको बाटो देखाउने उजुरी…

प्रचलित कानुन अनुसार बीमा कम्पनीको संचालक बन्न कम्तीमा स्नातक उतिर्ण गरेको हुनुपर्छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यरो (सीआइबी) र अख्तियारमा पठाईएको सो उजुरीमा नेपाल लाईफ ईन्स्योरेन्सका सञ्चालक गोविन्द लाल संघाईले आईए र बिए को सर्टिफिकेट नक्कली बनाएको उल्लेख छ । सो सर्टिफिकेट उनले भारतमा किनेर ल्याएको र सोकै आधारमा नेपालमा संचालक समितिको अध्यक्ष बनेको आशय प्रस्तुत गरिएको छ । तर सो उजुरीबारे छानविन भएको छैन । यसो त उनीमात्र नभई नेपाललाईफका अन्य केहिको पनि सर्टिफिकेट नक्कली भएको नेपाल लाइफकै उच्च अधिकारीहरुको दाबी छ । ‘संचालकमात्र के भन्नु ? नेपाल लाइफका अन्य केहिको पनि सर्टिफिकेट नक्कली छ । सीआइबीले अनुसन्धान गर्ने हो भने व्यवस्थापन तहमै बसेकाहरुको पनि सर्टिफिकेट नक्कली देखिन्छ ।’ नेपाल लाइफका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘सीआइबी पकडमा, बीमा समिति पकडमा, मिडिया पकडमा सबै पकडमा लिएको थियो नेपाल लाइफले । ढिलै भएपनि मिडियामा कम्पनीभित्रका काण्डहरुबारे खुलेर आउन थालेका छन् । यो संस्था सुधारको संकेत पनि हो ।’

कानुनमा के छ ?   

प्रचलित कानुनमा संचालकको शैक्षिक योग्यता स्नातक वा सो सरह हुनुपर्छ भनिएको छ । अर्थात कुनैपनि व्यक्ति नेपाल लाइफ इन्स्योरेन्सको संचालक हुनुपरेको खण्डमा नीजले कम्तीमा पनि कुनै विषयमा स्नातक पास गरेको हुनुपर्छ । र प्रचलित कानुनमा स्नातकको सर्टिफिकेट सक्कली तर अगाडीका सर्टिफिकेट नक्कली छ भने त्यो सर्टिफिकेटले पनि मान्यता नपाउने व्यवस्था छ । केहि समय अगाडी एमबिबिएस पास गरेका तर अगाडीका सर्तिफिकेट नक्कली बनाएकाहरुलाई प्रहरीले अनुसन्धान गरेको थियो । तर यस प्रकरणमा सीआइबीले खासै अनुसन्धान गरेको छैन । यस विषयमा बुझ्न हामीले उनै संघाईलाईसमेत फोन सम्पर्क गर्ने प्रयास गरेका थियौं । तर उनीसँग सम्पर्क नै हुन सकेन । पछिल्लो समय आफुलाई इन्स्योरेन्स क्षेत्रमा र त्यसमा पनि जीवन बीमा क्षेत्रमा अब्बल साबित गर्दै आएको नेपाललाईफ भित्र विभिन्न काण्डहरु घटेका छन् । कामदारको बीमा नै नक्कली भएको देखि बीमितको पैसा संचालकको खातामा रहेको काण्डसमेत बाहिर आउँदा पनि कम्पनीलाई कारवाही भने हुन सकेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: