×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक किर्ते काण्ड : बैंकमा ‘शंकास्पद’ गतिविधि बढ्यो, विदामा बसेका हाकिम सापहरु ‘सेटिङ’ मिलाउन कार्यालयमा !

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंक किर्ते काण्ड : बैंकमा ‘शंकास्पद’ गतिविधि बढ्यो, विदामा बसेका हाकिम सापहरु ‘सेटिङ’ मिलाउन कार्यालयमा !

७ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागज बनाएर ऋण लिएको प्रकरणमा अनुसन्धानमा तानिएका बैंकका प्रमुख कार्यकारी अधिकृत र डेपुटी प्रमुख कार्यकारी अधिकृतहरुको शंकास्पद गतिविधि बढेको छ । बैंकमा यो प्रकरण बाहिर आउनेबित्तिकै बैंकका सीइओ र डेपुटी सीइओले विभिन्न शाखामा पुगेको, त्यहाँका शाखा प्रबन्धकहरुलाई फोन सम्पर्क गरेको लगायतका गतिविधि भेटिएपछी नियामक नेपाल राष्ट्र बैंकले एकातर्फ विशेष अनुसन्धान अगाडी बढाएको छ भने अर्कोतर्फ विदामा बसेका बैंकका सीइओ र डेपुटी सीइओ पनि बैंक पुगेको पाइएको छ । सामान्यतया: बिदामा बसेका बेला कोहि पनि कार्यालय जान्दैन । आफ्नो कुनै पनि ‘अधिकार’ पनि नहुने हुनाले विदामा बसेका बेला कार्यालय नजाने प्रचलनलाई तोड्दै कुमारी बैंकको किर्ते काण्ड मिलाउन ‘सेटिङ’ गर्ने बदनियत बोकेर बैंकका सीइओ र डेपुटी सीइओ बैंक गईरहेको फेला परेको हो । बैंकका सीइओ अनुजमणि तिमिल्सीना र डेपुटी सीइओ मनिस तिमिल्सीना कुमारी बैंकको किर्ते काण्डमा आफैं मुछिएका व्यक्तिहरु हुन् । उनीहरु एकातर्फ सकेसम्म आफ्नो कर्तुतको प्रमाण मेटाउन लागिपरेको बुझिएको छ भने अर्कोतर्फ बैंकमै विभिन्न व्यक्तिहरुसँग भेटेर यो प्रकरणमा सेटिङ मिलाउन खोजिरहेको कुमारी बैंक स्रोतको दाबी छ।

‘सीआइबीले अनुसन्धान सुरु गरेपछि बैंकभित्र शंकास्पद गतिविधि !

अहिले कुमारी बैंकका विभिन्न शाखामा नेपाल राष्ट्र बैंकको जनरल इन्सपेक्सन (भईरहने अनुसन्धान) र स्पेसल इन्सपेक्सन (विशेष प्रयोजनका लागि गरिने अनुसन्धान) जारी छ । बैंकमा अन्य फाइलहरु पनि किर्तेवाला रहेको सूचनाका आधारमा नेपाल राष्ट्र बैंकले केहि शाखाहरुमा इन्सपेक्सन जारी राखेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले योगेश्वर अमात्यको जग्गा किर्ते गरी १९ करोड ऋण दिएको प्रकरणमा अनुसन्धान सुरु गरेपछि बैंकका उच्च तहका कर्मचारीहरुले केहि ब्रान्च मेनेजरलाई सतर्क हुन सन्देश पठाएको सूचनाका आधारमा राष्ट्र बैंकले विशेष अनुसन्धान सुरु गरेको बुझिएको छ । ‘अरु शाखामा जनरल इन्सपेक्सनमात्र हो । केहि शाखामा भने स्पेसल इन्सपेक्सन नै चलिरहेको छ । विशेषगरी अरु फाइलहरु पनि किर्ते कागजका आधारमा ऋण दिएको भन्ने सूचनाका आधारमा विशेष इन्सपेक्सन गरिएको हो । केहि फाइलहरुमा कैफियत भेटिएको पनि छ । अहिले इन्सपेक्सनकै क्रममा भएकाले यहाँभन्दा बढी नभनौं होला ।’ राष्ट्र बैंक स्रोतले भन्यो-‘कुमारी बैंकमा अरु फाइलहरु पनि किर्ते छन् भन्ने सूचनालाई आधार बनाएर हामीले विशेष अनुसन्धान गरिरहेका छौं । शंकास्पद शाखाहरुमा लामो इन्सपेक्सन चलिरहेको छ भने अन्य शाखामा जनरल इन्सपेक्सन चलिरहेको छ ।’

यता बैंकभित्र शंकास्पद अर्को गतिविधि हो- बैंकका हाकिमहरुको अनावश्यक हस्तक्षेप । हाल बैंकका सीइओ र डेपुटी सीइओ बिदामा छन् । तर पनि उनीहरु दिनदिनै बैंक गईरहेका छन् । अर्थ सरोकार डटकमलाई विशेष स्रोतबाट प्राप्त तस्विर अनुसार बैंकमा अनुजमणि तिमिल्सीना र मनिस तिमिल्सीना बैंक पुगेको भेटिएको छ । उनीहरु अहिले १५ दिनको बिदामा छन् । तर बिदामा भएकै बेलामा पनि उनीहरु दिनानुदिन बैंक गईरहेका छन् । बैंकमा पुगेर उनीहरुले यो केस कसरी सल्टाउने, कसलाई फसाएर आफु जोगिने रणनीति बनाईरहेको तथ्य बाहिरिएको छ । ‘मनिस तिमिल्सीना र अनुजमणि तिमिल्सीना दुवै जना बैंक आउँछन् । बिदामा बसेका बेलामा पनि बैंक आएको सम्भवत: यो पहिलो पटक हो ।’ कुमारी बैंकको विशेष स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘विवादित किर्ते ऋणको फाइलमा मनिस  तिमिल्सीनाको समेत संलग्नता स्पष्ट छ भने अनुजमणि आफैंले सो ऋण अप्रुभ गरेका हुन् । आफैं तानिएको विषयमासमेत छलफल बैंकभित्रै भईरहेको छ । यो अनइथिकल मात्र होइन, गैरकानुनी पनि हो ।’

के भन्छ बैंक ?

यस विषयमा बुझ्न हामीले नेपाल कुमारी बैंकका कार्यकारी जिम्मा पाएका रामचन्द्र खनाललाई फोन गरेका थियौं । तर उनी हाम्रो सम्पर्कमा नै आएनन् । उनी हाम्रो सम्पर्कमा नआएपछि हामीले बिदामा बसेर पनि बैंकमा जाने गरेका बैंकका पूर्व सूचना अधिकारी मनिस तिमिल्सीनालाई फोन गरेका थियौं । उनले बैंकमा नेपाल राष्ट्र बैंकको इन्सपेक्सन चलिरहेको पुष्टी गरे । ‘इन्सपेक्सन चलिरहेको साँचो हो ।’ अर्थ सरोकारसँग उनले भने-‘नेपाल राष्ट्र बैंकले विभिन्न शाखामा इन्सपेक्सन गरिरहेको छ ।’ उनले आफु १५ दिनको बिदामा बसेर पनि बैंक गईरहेकोसमेत स्वीकारेका छन् । ‘हो, हामी बैंक आइरहेका छौं । तर कुनै पनि फाइलमा सहि गरेका छैनौं ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका बिदामा बसेका डेपुटी सीइओ तिमिल्सीना भन्छन्, ‘आफुले लिएका केहि जिम्मेवारीका बारेमा छलफल गरेर हामी फर्किन्छौँ ।’

‘बिदामा बसेका बेला के जिम्मेवारी हुन्छ र ?’ हाम्रो प्रश्नमा तिमिल्सीना भन्छन्, ‘केहि कामहरु हुन्छ, जुन हामीले गर्नुपर्ने हुन्छ ।’

मनिस तिमिल्सीना सेन्चुरी कमर्सियल बैंकमा रहंदा देखि नै विवादित व्यक्ति हुन् ।  केहि समय अगाडी अर्थ सरोकारसँग कुराकानी गर्दै उनले कुमारी बैंकको किर्ते काण्डमा दोषी ठहरिएको अवस्थामा आफ्नै सीइओलाई समेत कारवाही हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।  तर सो किर्ते फाइलमा उनी स्वयमलेसमेत हस्ताक्षर गरेको पाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: