चितवन । नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । चैत १२ गतेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् । चितवन एक्स्पो सेन्टर भरतपुरमा मेला सुरु भएको हो । कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको हो । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको हो ।
मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक रहेका छन् । मेलाको उद्घाटन गर्दै गभर्नर अधिकारीले राज्यको नीति अर्थतन्त्रको ड्राइभर कृषि क्षेत्रलाई बनाउन खोजेपनि त्यसो हुन नसकेको बताए । अधिकारीले राज्यको नीति कृषिलाई अर्थतन्त्रको ड्राइभर बनाउन खोजिएपनि अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान क्रमश घट्दो गएको स्वीकारेका हुन् । अधिकारीले कृषिको लागि आत्मविश्वास मात्रै भएर नहुने भन्दै जमिन, सिचाई, बिउ, मल, विषादी र प्रविधिकको व्यवस्था पनि हुनुपर्ने बताए । कृषि क्षेत्रको विकासको लागि राज्यबाट चालिएका कदमहरु कमी भने नरहेको उनले बताए । उद्यपि कृषि क्षेत्रमा केही परिवर्तन भने भएको उनको तर्क छ । उनले कृषि क्षेत्रमा कर्जा विस्तार हुँदै जाँदा कतिपय ठाउँमा गलत प्रयोग भएको छ कि भन्ने गुनासो आउने गरेको भन्दै तस्तो घटना सानो संख्यामा मात्रै रहेको हुनसक्ने बताए । कृषि क्षेत्रमा रातारात परिवर्तन नभए पनि विस्तारै परिवर्तन हुने बाटोमा रहको उनले बताए । सरकारले कृषिको दीर्घकालीन २० वर्षे रणनीतिलाई कार्यान्वयन गरिरहेको भन्दै भोलिका दिनमा कृषिमा धेरै हदसम्म आत्मनिर्भर हुने लक्ष्य रहेको उनले बताए ।
कृषिको लागि कर्जा र ब्याज एउटा ‘कम्पोनेन्ट’ मात्रै रहेको भन्दै कृषिको विकासको लागि अन्य धेरै ‘चेन’ रहेको उनले बताएका छन् । मुलुक संघीय संरचनामा गएपछि सबै निकायकाले कुनै न कुनै रुपमा कृषिलाई प्राथमीतामा राखेको उनले बताएका हुन् । कृषि कर्जा विगत तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्याङ्क छ । धितोको अनिवार्यता, झण्झटिलो प्रक्रिया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन् । कार्यक्रममा कृषि सचिव गोविन्द प्रसाद शर्माले अहिले पनि किसानहरुले धितोको कारण कृषि कर्जाबाट हामी बञ्चित भयौं भन्ने गुनासो गर्ने गरेको बताए । नबिल बैंकका अध्यक्ष समेत रहेका ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । मूल्य श्रृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए । उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे ।
बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले पनि बैंकहरुले कृषि क्षेत्रमा पर्याप्त रुपमा कर्जा लगानी गरेको बताए । उनले कुल कर्जा ‘फोर्टफोलियो’ बाट ५२५ अर्ब कृषि क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा ४४० अर्ब लगानी भइसकेको बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पनि कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताए । उनले बैंकहरु कर्जा दिन तयार भएपनि निक्षेपकताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए । बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्म इकोसिस्टम बनेर त्यो पैसा बैंकरले सुरक्षित देख्दैन कृषि क्षेत्रमा समस्या रहने उनले बताए ।
ग्लोबल आइएमई बैंकको सिइओ रत्नराज बज्राचार्यले कृषि क्षेत्रले जीडीपीमा दिएको योगदानको ५० प्रतिशत कर्जा जाँदा पनि कृषिमा बैंकहरुले लगानी गरेनन् भन्न नमिल्ने बताए । बैंकले कृषिमा २-४ लाख देखि अर्बौं पनि लगानी गरेको र कुनै किसानलाई एक त्रैमासमा ब्याज तिर्न अर्को त्रैमासमा तिर्नको लागि पनि छुट दिने गरेको उनले बताए । नेपाल बैंकका प्रमुख कर्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले औपचारीक कर्जाको सुरुवात नै कृषि कर्जाबाट भएको बताए । कृषिको नाममा कर्जा लिएर जग्गा खरिद गर्ने क्रम पनि बढेको भन्दै कृषकको नाममा त्यस्तो गलत कार्य हुने गरेको बताए । मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले एशियाकै पहिलो कृषि मेला भनेर गर्व गर्ने अवस्था रहेपनि नेपालमा कृषिको अवस्था कस्तो छ भनेर यहि मेलाले देखाएको बताए ।
कृषिको विकासको लागि प्राइभेट सेक्टरको पब्लिक लिमिटेड कम्पनी खोल्नुपर्ने उनले बताए । कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष समेत रहेका साना किसान विकास लघुवित्तका अध्यक्ष खेम बहादुर पाठक अहिले पनि इजरायल गएर प्रविधि सिकेर आएका युवा कर्जा नपाएर व्यवसाय गर्न नसकेको बताए । बैंक वित्तीय संस्थाले जति कुरा गरे पनि अहिले कसरी धेरै भन्दा धेरै ब्याज लिने भन्ने प्रतिपस्र्धा अभियान चलेको र किसान ठगीएको उनले दाबी गरे । कार्यक्रमा डेभलपमेन्ट एलायन्स नेपालका तर्फबाट कृषि कर्जा विज्ञ घुरन ठाकुरले कृषि कर्जाको वर्तमान अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले त्यस क्रममा ३.८ प्रतिशत घरपरिवारले मात्रै कृषि कर्जा लिएको तथ्यांक प्रस्तुत गरे । बिमामा पनि सरकारले ४ अर्ब बढी अनुदान दिएको तर ३ प्रतिशत कृषक परिवारले मात्रै कृषि बिमा गरेको उनले बताए ।
कार्यक्रमका वक्ता आईफाडका परामर्शदाता श्यामबहादुर खड्का विश्वभरी नै कृषि अनुदानमा आधारीत रहेको बताए । उनले नेपाली कृषि क्षेत्रको लागि नेपाली मुद्रा ओभर भ्यालुड भएको बताए । “२०१२-१३ मा कृषि नीति तर्जुमा गर्दा नै नेपाली मुद्रा ओभर भ्यालुड भन्ने लागेको थियो, अहिले पनि नेपालको मुद्रा कृषि हकमा २०-२५ प्रतिशत ओभर भ्यालुड छ । कृषिमा राज्यको नीति सही भएको देखिए पनि त्यसको प्रतिफल आउन नसकेको बताए । जबसम्म समस्या पहिचान हुँदैन तबसम्म कृषि कर्जा जति पुर्याए पनि केही नहुने उनले बताए । कृषि कर्जा मेलाको संयोजक सुष्मा शर्मा सबै बैंकलाई एक ठाउँममा राखेर कृषि कर्जा र बिमाको बारेमा बुझौं र बुझाउँ भनेर यो मेला आयोजना गरिएको बताइन् । वास्तविक कृषकका माझ कृषि कर्जा र बिमा पुग्न नसकेको गुनोसो र अर्कोतर्फ बैंकलाई कृषकले वास्तविक कृषक छान्न नसकेको अवस्थामा बैंक र बिमा लाई एउटै थलोमा भेला गरी सबै समस्या समाधान गर्ने उदेश्यले यो मेला आयोजना गरिएको उनले बताइनन् । कृषिमा लगानीको अभावले पछाडि नपरोस भन्ने मेलाको उदेश्य रहेको उनको भनाई छ ।
सहुलियत कर्जा टाठाबाठाले पाउने र वास्तविक किसानले नपाउने अवस्था नहोस भनेर मेला आयोजना गरिएको उनले बताइनन् । आर एण्ड डि इनोभेटीभ सोलुसन प्रालिकी अध्यक्ष सुनिता न्हेमाफूकीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उनले सन् २०३० सम्मको योजना बनाएर यो कार्यक्रम आयोजना गरिएको बताइन् ।