×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार घटेर सम्पत्ति सकिएपछि धेरै लगानीकर्ताहरु ‘डिप्रेसन’मा, ‘गल्ती सच्याउँ,सकारात्मक सोचौँ, ध्यान गरौँ’

PRIME CA

सेयर बजार घटेर सम्पत्ति सकिएपछि धेरै लगानीकर्ताहरु ‘डिप्रेसन’मा, ‘गल्ती सच्याउँ,सकारात्मक सोचौँ, ध्यान गरौँ’

१३ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौँ । धितोपत्र बोर्ड परिसरमा लगानीकर्ताहरुको आन्दोलन चलिरहेका बेला अर्थ सरोकारका सम्पादकको मोबाइलमा एउटा एसएमएस आयो । सो एसएमएस सामान्य थिएन । किनकि एक लगानीकर्ताले सेयर बजारमा घाटा भएको र ऋणका कारण आफु अपमानित हुनुपरेकाले आफुले आत्महत्या गर्ने सोच बनाएको उल्लेख थियो । आफ्नो मोबाइलमा अवेर राती यस्तो एसएमस आएपछि उनी आफैं के गर्ने भन्ने विषयमा दोधारमा परे । पछि उनले के गर्ने भनेर सल्लाह लिन कुनै बेला सेयरमा चुर्लुम्म डुबेर मरौं मरौं लाग्ने भएको थियो भन्ने अभिव्यक्ति दिएका पूराना लगानीकर्ता सुबास चन्द्र भट्टराईलाई फोन गरे । भट्टराईले ती व्यक्तिलाई फोन गरेर सम्झाए, परामर्श गरे । अन्तत: उनले आत्महत्या नगर्ने र सेयर बजारमा आफुले गरेको गल्तीबाट सिकेर बजारबाट नै पैसा कमाउने योजनासहित धैर्य बन्ने निर्णय गरे । धन्न ! भट्टराईको परामर्शपछि उनको ज्यान जोगियो ।
यस्तै अर्को घटना केहि दिन अगाडी चर्चामा थियो । बुटवल घर भएको भनिएका एक व्यक्तिले मुगलिन पुगेर आत्महत्या गरेको र उनको झन्डै डेढ करोड सेयर बजारमा लगानी रहेको तथ्य चर्चामा आयो । उनी सेयर बजारमा डुबेकै कारण उनले आत्महत्या गरे वा कारण अर्कै थियो र सेयर लगानी जोडिएको विषयमात्र हो भन्ने विषयमा प्रहरी अहिले निष्कर्षसम्मै नपुगेको बताइएको छ । तर जे होस्, डेढ करोड सेयरमा लगानी थियो भनेपछि उनी प्यानिक थिए भन्ने बुझ्न गाह्रो छैन । सेयर बजार घटेकै कारण डिप्रेसनमा जाने लगानीकर्ताहरुको संख्या ठुलो छ । अहिले सेयर बजारमा लगानी गरेर सम्पत्ति सकियो भन्दै आफु निदाउन नै नसकेको भन्दै सेयर बजारका लगानीकर्ताहरुमध्ये केहि डाक्टरकहाँसमेत पुग्ने गरेका छन् ।
कठोर हुन्छ बियरिस ट्रेण्ड !
माथि प्रस्तुत गरिएका उदाहरण त ‘मरौं-मरौं’ लाग्ने भएको र कसैले आत्महत्या गरे पनि सेयरमा दुबेकै कारण हो कि होइन भन्ने एकिन नभएका घटना भए, अघिल्लो बुलमा त एक प्राविधिक विश्लेषक सेयरमा डुबेकै कारण आत्महत्या नै गरेको खबर बाहिरिएको थियो । सेयर बजार र कमोडीटी बजारमा चुर्लुम्म डुबेका बिनय लामिछानेले आफुसहित आफ्ना २ छोरा र श्रीमतीलाई नदीमा हेलाएका थिए । कस्तो संयोग- उनका २ छोरा र श्रीमती नदीमा डुबेर बिते, उनी बाँचे । अहिले उनी आत्महत्या दुरुत्साहनको मुद्धामा जेलमा छन् ।
बजारको बियरिस ट्रेण्ड साच्चै नमिठो हुन्छ । सम्पत्ति सकिएर तनाव भएका बेला धेरैलाई मरौं मरौं लाग्ने रहेछ । र त केहि समय अगाडी सांसद गगन थापाले पनि सेयर बजारमा सम्पत्ति गुमाएपछि कतिपयले आफुलाई झुन्डेर मर्छु भनिरहेको सार्वजनिक अभिव्यक्ति नै दिए । ‘सेयर बजारको समस्या समाधान गर्न आग्रह गर्दै मकहाँ पनि लगानीकर्ता आउने गरेका छन् । दुःख गरेर जम्मा गरेको पैसाले दुई पैसा आम्दानी कमाउन चाहने मान्छे कोही झुन्डेर मर्छु भनिरहेका छन् । कोही हामी सडकमा आईपुग्यौं भनिरहेका छन् ।’ केहि समय अगाडी थापाले भनेका थिए । थापाले संसदमा प्रस्तुत गरेको यो विषय सुन्दा ‘असामान्य’ नदेखिएपनि सेयर बजारका सयौं लगानीकर्ताहरुहरु भित्री कुरो थियो।’ र अहिले पनि धेरै सेयर लगानीकर्ता ‘सबै डुबियो, सिद्धियो, मर्न मन लागिरहेको छ’ भनिरहेका छन् । यसो त केहि समय अगाडी नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले पनि एक टेलिभिजन कार्यक्रममा बजार घटेर सेयर लगानीकर्ताहरु डिप्रेसनमा गईसकेको अभिव्यक्ति दिएकी थिइन् ।
‘सेयरमा चुर्लुम्म डुबेपछि मलाई पनि मरौं-मरौं भएको थियो, अहिले करोडौंको सम्पत्ति छ’ : सुबास चन्द्र भट्टराई
‘बजार घटेका बेला सम्पत्ति सकियो भनेर धेरैलाई मर्न मन लाग्ने वा त्यस्तो सोचाई आउने हुन्छ । मलाई पनि भएको थियो । धरहरा चढेका बेला हाम फालौं-फालौं लागेको तथ्य मैले अर्थ सरोकारको कार्यक्रममा नै भनेको छु ।’ पूराना तथा अनुभवी लगानीकर्ता सुबास चन्द्र भट्टराई भन्छन्- ‘केहि समय अगाडीदेखि नेपालको सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । बजार घटिरहँदा कति लगानीकर्ताले बजार बियरिसतर्फ गएको हो भन्ने विश्लेषण गरिरहेका छन् भने कति लगानीकर्ताले बजार साईडवेजमा छ भनेर विश्लेषण गरिरहेका छन् । तर विश्लेषकहरुको जस्तो ठम्याई भएपनि बजार भने निरन्तर रुपमा नै घटिरहेको थियो । आइतबारको बढोत्तरीले केहि आशा त दिएको छ तर बजार धेरै घट्दा राम्रा कम्पनी नछानी लगानी गर्ने लगानीकर्ताहरुले गरेको लगानी झन्डै ५० प्रतिशत भन्दा कममा झरिसकेको छ । राम्रै कम्पनी भनिएकाहरुको सेयर भाउ पनि घटेको छ । सेयर बजारमा अरुको लैहैलाहैमा लागेर लगानी गर्ने लगानीकर्ताहरुको थुप्रै जमात भेटिन्छन् । अरुले नाफा कमाएको देखेर आफू पनि नाफा कमाउने लोभको दलदलमा फसेर आफ्नो भएभरका सम्पति सबै सेयर बजारमा लगाएको उदाहरण पनि हामी प्रशस्तै देख्न हेर्न र सुन्न सक्छौं । आफ्नो सरा सम्पति डुबेपछि धेरैलाई मर्न मन लाग्छ । तर मरेर होइन बाँचेर जित्न सक्नुपर्छ र बाँचे जितिन्छ भन्ने उदाहरण स्वयम् म नै हुँ ।’
‘यस्तो सोच आएपछि कसरी जोगिने त ?’ हाम्रो प्रश्नमा भट्टराई भन्छन्- ‘आफुलाई सकारात्मक उर्जा जेले दिन्छ, त्यहि गर्नुपर्छ । खुसी हुन खोज्नुपर्छ । बजार झरेर सिदिन्छ होइन कि, बढेर म जरुर एक दिन जित्छु भनेर सोच्नुपर्छ ।’
डिप्रेसनबाट मुक्त हुन ध्यान गर्नूस् : स्वामी आनन्द विनोद 
यता सेयर बजार घटेकै कारण मरौं मरौं लाग्ने, डिप्रेसन हुने लगायतका समस्या भएका सेयर लगानीकर्ताहरुलाई स्वामी आनन्द विनोद (विनोद शर्मा)ले भने ध्यान गर्न सुझाव दिएका छन् । ‘शारीरिक,मानसिक र आध्यात्मिक रुपमा मान्छे कमजोर छ भने मान्छेलाई सानो कुराले पनि पीडा दिन्छ । यस्तो अवस्थामा उसले सानो धक्का पनि साहना सक्दैन, चाहे त्यो सेयर बजारको समस्या होस् वा अरु केहि । त्यसैले आफुलाई शक्तिपूर्ण बनाउनुपर्छ । हरेक लगानीकर्ताले आफ्नो जीवनलाई व्यवस्थापन गर्नुपर्छ । हरेक विहान ‘ब्रह्ममुहुर्तमा उठ्ने, आफुलाई म कमजोर छैन र सानो कुराले मेरो जीवनलाई कुनै पनि असर गर्दैन भनेर सोच्ने अनि भस्त्रिका प्राणायाम (लामो गहिरो र लयबद्ध स्वस फेर्ने),  कपालभाती प्राणायाम, अनुलमबिलम प्राणायाम लगायतका ध्यान गरे मानिस मानसिक, शारीरिक र आध्यात्मिक रुपमा पनि बलियो हुन्छ । यसरि बलियो भएपछी मान्छेलाई साना कुराहरुले छुन सक्दैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: