काठमाडौं । साउन महिनामा २५ वाणिज्य बैंकहरुमध्ये अधिकांश बैंकको निक्षेपमा गिरावट आएको छ । गत महिनामा मात्रै वाणिज्य बैंहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको हो ।
तर साउनमा तीन बैंकले भने आफ्नो निक्षेपमा वृद्धि गरेका छन् । गत महिना एनआइसी एशिया बैंक, एसविआई बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकले निक्षेपमा केही वृद्धि गरेका हुन् । यता सो अवधिमा सबैभन्दा धेरे वाणिज्य बैंकको निक्षेप घटेको छ । बैंकको निक्षेप गत महिनामा १५ अर्ब रुपैयाँले घटेको छ भने एनसीसी बैंक र नेपाल बैंकको निक्षेपमा १० अर्ब रुपैयाँले गिरावट आएको देखिएको छ ।
कुन बैंकको निक्षेप कति घट्यो ?
साउन महिनामा सबैभन्दा बढी निक्षेप राष्ट्रिय वाणिज्य बैंकको १५ अर्बले निक्षेप घटेको छ भने एनसीसी र नेपाल बैंक लिमिटेडको निक्षेप १० अर्बले घटेको छ । त्यस्तै एडिबीएल बैंकको निक्षेप ७ अर्बले घटेको छ भने बैंक अफ काठमान्डूको निक्षेप २ अर्बले घटेको छ । यता सेञ्चुरी बैंकको निक्षेपमा पनि ४ अर्बले गिरावट आएको देखिन्छ ।
गत महिनामा सिभिल बैंकको निक्षेप २ अर्बले घट्दा एभरेष्ट बैंकको निक्षेप ४ अर्बले घटेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको निक्षेप ५ अर्ब, हिमालयन बैंकको १ अर्ब, कुमारी बैंकको ९ अर्ब, माछापुच्छ«े बैंकको ४ अर्ब, मेगा बैंक लिमिटेडको झण्डै २ अर्ब रुपैयाँले घटेको छ ।
यता नबिल बैंकको ३ अर्ब, एनएमबी बैंकको ५ अर्ब, प्रभु बैंकको १२ अर्ब, प्राइम बैंकको ४ अर्ब, सानिमा बैंकको ४ अर्ब र सनराइज बैंकको ३ अर्बले निक्षेपमा गिरावट आएको छ । त्यस्तै सिदार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंकको निक्षेप गिरावटको अनुपात भने १ अर्ब कम रहेको छ ।
त्यस्तै साउन महिनामा १४ वटा बैंकको कर्जा लगानी बढेको छ भने ११ वटा बैंकको कर्जा लगानी घटेको छ। साउनमा एनसिसी बैंकको कर्जा लगानी सबैभन्दा धेरै ४ अर्ब ६० करोड रुपैयाँले घटेको छ भने सानिमा बैंकको सबैभन्दा धेरै ५ अर्ब १० करोड रुपैयाँले बढेको छ।