काठमाडौँ । कोटेश्वरकी सागर पौडेल नजिकै रहेको एक बैंकमा रकम जम्मा गर्न गइन् । दशैं तिहारमा दक्षिणा बटुल्दासहितको खुद्रा पैसा धेरै भएपछि उनी सो पैसा जम्मा गर्न जाँदा बैंकले सो रकम लिन नै मानेन । ‘बैंकले पैसा नै लिन नमान्ने हुन्छ र ?’ उनी अचम्ममा परिन् । कारण सोध्दा बैंकको साखाले ‘माथिको आदेश’ भन्यो । यहि बेला नगद लिन आएका ग्राहकलाई बैंकले खुद्रा नोट दिईरहेको देखेपछि उनी झन् अचम्ममा परिन् । ‘तपाईंहरुले त दिईरहनुभएको छ त ? तपाईंले नै दिएको पैसा पनि त कतैबाट लिएकै त होला ‘ उनको प्रश्नमा यसलाई पनि साखाले ‘माथिको आदेश’ भनिदियो । त्यसपछि उनले आफ्नो समस्या पोख्न अर्थ सरोकारमा सम्पर्क गरिन् ।
के खुद्रा पैसा लिन नलिन बैंकका साखामा ‘माथिको आदेश’ आएको हो ?
हो । यतिबेला सकेसम्म खुद्रा नोट नलिन केहि बैंकहरुले आन्तरिक सर्कुलर नै गरेका छन् । सकेसम्म खुद्रा नोट नलिन र भएको नोट पनि ग्राहकलाई नै दिन केहि बैंकहरुले आन्तरिक सर्कुलर नै गरेका हुन् । कारण नेपाल राष्ट्र बैंकले खुद्रा नोट राख्न ठाउँ नभएको भन्दै बैंकहरुलाई सकेसम्म खुद्रा नोट नल्याउन भनेको छ । राष्ट्र बैंकले यस्ता नोट नलिएपछि बैंकहरुमा पनि नोट राख्ने ठाउँ नै नभएको स्थिति रहेको बैंकरहरु बताउँछन् । सोहि अनुसार बैंकहरुले खुद्रा नोट सकेसम्म नलिन र भएको पनि नगद लिन आउनेलाई दिन भनी सर्कुलर नै गरेका रहेछन् ।
‘खुद्रा नोट सकेसम्म नलिने नीति हो । लिंदै नलिने भन्ने त होइन, तर सकेसम्म नलिने भन्ने हो ।’ राष्ट्रिय बाणिज्य बैंकका एक साखा प्रबन्धक भन्छन्- ‘यो समस्या अलि अगाडीदेखिकै समस्या हो । दशैंतिहारमा बाँडेका नयाँ नोटले थप समस्या ल्याएको छ । राष्ट्र बैंक नोट राख्ने ठाउँ नै छैन भन्छ, हामीसँग पनि राख्ने ठाउँ नै छैन । कुनै विकल्प नभएपछि सकेसम्म ग्राहकहरुबाट ठुलो परिमाणमा खुद्रा नोट आए नलिने नै भन्ने छ । ग्राहकहरुले झगडा नै गरे भने त्यसलाई लिएर पुन: नगद लिएर आउने ग्राहकलाई पठाउने भन्ने छ । बन्डल नै नयाँ नोट आयो भनेचाहिं अर्को दशैंका लागि भनेर राख्छौँ, होइन भने फिर्ता नै गर्छौँ । ग्राहक कराउन थाल्यो, झगडा गर्न थाल्यो भनेचाहिं लिन्छौँ ।’
सहकारीलाई पैसा जम्मा गर्नै समस्या
बैंकहरुले सकेसम्म खुद्रा नोट नलिने भएपछि सबैभन्दा बढी समस्या खुद्रा पसल र सहकारीहरु भएका छन् । सहकारीहरुले कलेक्सन गरेर ल्याउने प्राय: पैसा खुद्रा खालको नै हुन्छ । ‘हामीलाई बैंकले ५, १०, २०,५० का खुद्रा नोट सकेसम्म नल्याउन भनेको छ । तर हाम्रो बिजनेश नै खुद्रा पैसामा हुन्छ । हाम्रो कलेक्सन हुने नै त्यस्तै पैसा हो । त्यसैले खुद्रा पैसा नै नल्याए त कसरी चल्नु भनेर आजसम्म कन्भिन्स गराईरहेका छौं । पूरानो र राम्रो क्लाइण्ट भएकाले बैंकले मानिरहनुभएको त छ, तर हामीले दिने पैसा पुन: बैंकहरुले ग्राहकलाई दिईरहनुभएको छ ।’ कोटेश्वरमा रहेका एक सहकारीकर्मी भन्छिन्- ‘यसले प्रणालीमै समस्या आउने देखिएको छ ।’
नीतिमा एकरुपता नहुँदा ग्राहक भड्केको भड्क्यै !
यसो त खुद्रा नोट नलिने कुरामा विभिन्न बैंकका आ-आफ्नै नीति छन् । यस्तो नीतिमा बैंकहरुबीच एकरुपता छैन । कुनै बैंकले खुद्रा नोट लिने र कुनैले नलिने गर्दा ग्राहक भड्किने समस्या रहेकोसमेत बैंकरहरुको गुनासो छ । ‘हामीलाई माथिको आदेश नलिने भन्ने छ । अर्को बैंकले खुद्रा नोट लिँदा हाम्रो ग्राहक भड्केका छन् । यसले पनि हामीलाई समस्यामा पारेको छ ।’ कोटेश्वरका एक बैंकका साखा प्रबन्धक भन्छन्- ‘बैंकले पैसा नलिए कसले लिन्छ ? मेरो खातामा मेरै पैसा राख्न नपाउनु ? बैंकले नलिने भए दशैंमा किन बाँडेको त ? लगायतका प्रश्नले हैरान पारेका छन् । तर पनि हामीसँग खिस्स हाँसेर ग्राहकलाई कन्भिन्स गराउन खोज्नुको कुनै विकल्प छैन ।’
राष्ट्र बैंकको तर्क- ‘नोट नलिनु भनेको होइन, व्यवस्थापन गर्नू भनेको हो’
यता राष्ट्र बैंकका अधिकारी भने नोट नलिनु नभनेको तर व्यवस्थापन गर्नु भनेको तर्क गर्छ । ‘हामीले नोट नै नलिनु भनेको त होइन । तर सकेसम्म त्यस्ता नोटलाई बजारमै पठाएर व्यवस्था गर्नु भनेको हो ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने -‘हामीकहाँ तत्कालका लागि नोट राख्ने ठाउँको अभाव भएकाले सकेसम्म खुद्रा नोट बजारमै पठाउनु र नल्याउनु भनेको साँचो हो । तर कुनै पनि बैंकले खुद्रा नोट नै नलिनु भनेकोचाहिं होइन ।’ यस्तो समस्या यसपाली अलि बढी आएकाले सबैले डिजिटल कारोबारमा जोड दिनुपर्ने उनको तर्क छ । ‘सकेसम्म डिजिटल कारोबार गर्न सबैले बानी बसाल्नुपर्यो । अहिलेको यो समस्यालाई सबै मिलेर समाधान गर्नुको विकल्प छैन ।’