काठमाडौं । पछिल्लो समय विवादै विवादको अखडा बनेको अजोड इन्स्योरेन्स पुनः अर्को विवादमा मुछिएको छ । एउटै शिर्षकको बीमामा भुक्तानी दिँदा इन्स्योरेन्सले विभेद गरेपछि अजोड पुनः विवादमा मुछिएको हो ।
भएको के हो ?
२०७८ मंसिर २० गते पर्सामा चितवनको रत्ननगर ३ बस्ने रामप्रसाद भट्टले चलाएको बागमती प्रदेश ०-३-००४ प ८३५५ नम्बरको मोटरसाइकल दुर्घटनमा पर्यो । दुर्घटना हुँदा चालकसहित सोही मोटरसाइकलमा सवार दिपेन्द्रप्रसाद भट्ट पनि घाइते भए । दुर्घटनामा परेको सो मोटरसाईकलको पूर्ण बीमा गरिएको थियो ।
घाइते भएका दुवैजनाको अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भयो । सवारीको पूर्ण बीमा भएकोले उपचारमा खर्च भएको रकम आउँछ भन्नेमा रामप्रसाद भट्ट ढुक्क थिए । उपचारकै क्रममा हुँदा नै सो घटनाको जानकारी इन्स्योरेन्समा गरिसकेको उनी बताउँछन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनी सम्पूर्ण खर्चको बिल लिएर इन्स्योरेन्सको कार्यालयमा पुगे । तर, इन्स्योरेन्सले ‘क्लेम’ अनुसारको भुक्तानी नै गरेन ।
अजोडले दुर्घटनामा घाइते भएका यात्रु दिपेन्द्रप्रसाद भट्टको बिलअनुसार नै रकम भुक्तानी गरेको भए पनि आफुले पाउनुपर्ने २ लाख ३२ हजार ५ सय ६२ रुपैयाँ भुक्तानीको दाबीमा १ लाख ५० हजारमात्रै भुक्तानी दिएको रामप्रसाद भट्टले बताए । भट्टका अनुसार इन्स्योरेन्सले औषधोपचार बापत ३ लाख, सवारी मर्मतको १५ हजार र दुर्घटनमा परेको चाकको औषधोपचारका लागि १ लाख ५० हजार गरी कुल ४ लाख ६५ हजार रुपैयाँ भुक्तानी दिएको छ ।
‘बीमा गर्दाको नीति अनुसार पूर्ण बीमा गरेको सवारी दुर्घटनामा पर्दा घाइतेको उपचारका लागि प्रतिव्यक्ति अधिकतम तीन लाख रुपैयाँ दिने व्यवस्था छ’, भट्टले भने, ‘तर, अजोडले मेरो केसमा पाउनुपर्ने रकम पनि नदिएर विभेद गर्यो । उपचारमा लागेको खर्चको बिल अनुसार नै भुक्तानी दिनुस् भनेर कतिपटक गएँ तर मानेन । किन दिन मिल्दैन ? भन्दा कारण पनि खुलाउँदैन ।’
इन्स्योरेन्स भन्छ- ‘क्लेम गर्ने मान्छे फटाहा हो’
यसो त अजोड इन्स्योरेन्सका सूचना अधिकारी प्रेमराज पाण्डेले पनि सवारीको पूर्ण बीमा भएको अवस्थामा घाइतेले उपचारका लागि प्रतिव्यक्ति अधिकतम तीन लाखसम्म पाउने बताएका छन् । तर, उक्त केसमा रकम पूरा किन नदिएको भन्ने विषयमा भने उनको तर्क अलि भिन्नै छ ।
बीमा पोलिसी अनुसार भुक्तानी किन भएन ? भन्ने हाम्रो प्रश्नमा सूचना अधिकारी पाण्डेले सो केसमा बिमितले झुठो विवरण पेश गरेको हुनसक्ने बताए । ‘चित्त नबुझेपछि के हो ? भनेर कम्पनीमा आउन छोडेर पत्रपत्रिका खोज्दै हिँड्ने त्यो मान्छे फटाहा हो’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘उपचारमा भएको खर्चको सम्पूर्ण बिल ठिक छ भने भुक्तानी हुने हो । बीमाबाट तीन लाख पाइन्छ भन्दैमा नक्कली बिल देखाएर भुक्तानी पाईदैन ।’
‘बिलमा कुरुवाको पैसा, हर्लिक्स खाएको पैसा, मासुभात खाएको पैसाको भुक्तानी हुँदैन । एक हजारको बेडमा ३५ सय तिरेको छ भने त्यसमा २५ सय काटिन्छ’, उनले भने, ‘दाबी भुक्तानीमा पनि छानबिन गर्ने ‘क्लेम डिपार्टमेन्ट’ हुन्छ, केही न केही कैफियत नै भएर पुरा भुक्तानी नपाएको होला, मैले पनि फाइल हेर्न पाएको छैन ।’