काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ वटा वाणिज्य बैंकले करिब साढे ४८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको खुद नाफा ११.७४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको खुद नाफा करिब साढे ४३ अर्ब रुपैयाँ रहेको थियो ।
पछिल्लो एक वर्षको तुलनामा बैंकहरुको नाफा बढेको देखिए पनि उत्तिकै मात्रामा खराब कर्जा पनि बढेको छ । बैंकको खराब कर्जा बढेपनि स्वभाविक रुपमा सम्पत्तिको प्रतिफल पनि घटेको बैंकरहरुको भनाई छ ।
बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत चैतसम्म नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ११ करोड र कृषि विकास बैंकले सबैभन्दा कम एक अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चार अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएर ग्लोबल आईएमई दोस्रो धेरै नाफा कमाउने बैंक बनेको छ । मर्जर तथा एक्विजिसनका कारण यी दुवै बैंकको नाफामा वृद्धि भएको हो । मर्जरमा नगएका बैंकहरूमा एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकले क्रमशः ४ अर्ब १ करोड र ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर सिटिजन्स, कृषि, प्राइम, सनराइज, माछापुच्छ्रे, सिद्धार्थ र नेपाल बैंकको खुद नाफा गर्त वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ ।
बैंकहरूले चैत मसान्तमा उठ्नुपर्ने पाकेको ब्याज नउठेको बताइरहे पनि गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंकहरूको ब्याज आय धेरैले बढेको छ । ब्याजदर बढेकाले बैंकहरूको ब्याज आम्दानी पनि वृद्धि भएको हो । बैंकहरूको वित्तीय विवरणअनुसार गत चैतसम्म उठाउनुपर्ने करिब सवा २८ अर्ब रुपैयाँ ब्याज पनि असुली हुन सकेको छैन ।
गत चैतसम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४ प्रतिशत हाराहारीमा छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो कर्जा १.२१ प्रतिशत थियो । गत चैतसम्म वाणिज्य बैंकहरूले कुल ४३ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जसमध्ये एक खर्ब ३९ अर्ब रुपैयाँको कर्जा खराब भएको छ । यो कुल प्रवाह भएको कर्जाको करिब ४ प्रतिशत हो । तर, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट र एनआईसी एसियालगायत बैंकको खराब कर्जा भने एक प्रतिशतभन्दा कम छ ।