काठमाडौं । चीनतर्फको नाका नखुल्दा नेपाली गाउँमा खाद्य संकट परेको छ । नेपाल र चीनबीचको व्यापारिक नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि बन्द हुँदा संखुवासभा र दोलखाको किमाथाङ्का र लप्चीका स्थानीय खाद्य संकटमा परेका हुन् ।
कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै चीनले यी दुवै क्षेत्रका नाका विगत चार बर्षदेखि बन्द गरेको छ । चिनियाँ पक्षको नाकाबन्दीका कारण खाध्य संकट देखा परेपछि संखुवासभाको भोटखोला गाउँपालिका २ को किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुरा गाउँमा कोशी प्रदेश सरकारले ९० क्विन्टल चालम पठाएको छ । तर, प्रदेश सरकारले पठाएको चामलले २ महिनाका लागि मात्रै खाध्य संकट टर्ने गाउँपालिकाले जनाएको छ ।
‘खाध्य संकट चुलिएपछि गाउँपालिकाले प्रदेश सरकारसँग खाद्यान्न माग गरेको थियो । सोही माग बमोजिम प्रदेश सरकारले तत्कालका लागि ९० क्विन्टर चामल पठाएको छ ।’, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले भने, ‘उक्त चामलले २ महिनाको गुजारा चल्छ । त्यसपछी के गर्ने ? आफैँ सोचमा परेका छौँ ।’
यता २ महिनाको गुजारा टर्ने भएपछि त्यसलगत्तै खाद्य संकट कम गर्नका लागि जिल्ला व्यवस्थापन समितिमार्फत ढुवानी अनुदानमा दुई हजार ८ सय क्विन्टल चाल माग गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिएका छन् । उनले भने– ‘नेपाल खाद्य संस्थानमार्फत पनि ३ सय ५० क्विन्टल चामल भोटखोला पुर्याउने तयारी छ ।’
यसो त भोटखोला क्षेत्रका अधिकांश युवाहरु रोजगारीका लागि तिब्बततर्फ जाने गर्छन् । वर्षौंदेखि तिब्बततर्फ गएर रोजगारी गरेर जिविको चलाउँदै आएको भए पनि हाल नाका बन्द हुँदा रोजगारी गुमेको स्थानीयको भनाई छ । ‘पहिलेदेखि नै हामी रोजगारीका लागि तिब्बत जान्थ्यौँ । उतैबाट कमाउने र खाद्यान्न किन्ने गथ्र्यौं । तर अहिले नाका बन्द छ ।’, एक स्थानीयले भने, ‘कोभिड पछि त रोजिरोटी नै बन्द छ । अरु ठाउँमा नाका खुल्यो भन्छन् तर हाम्रोतिर नाका खुल्ने कुनै सुरसार नै छैन ।’
‘गाउँपालिकामै उत्पादन हुने कोदो र आलुले करिब ३ महिनामात्रै गुजारा चल्छ । त्यसपछिका महिना सँधै खाद्य संकटबाटै गुज्रिनुपर्छ ।’, गाउँपालिका अध्यक्ष भोटेले भने, ‘सदरमुकामसँग सडक सञ्जाल पनि जोडिएको छैन । भौगोलिक विकटताका कारणले पनि हरेक वर्ष यहाँ खाद्य संकट पर्ने गर्छ । अझ कोभिडका कारण चीनतर्फको नाका बन्द भएपछि भनै गाह्रो भएको छ ।’