काठमाडौँ । गत आर्थिक वर्षमा चेक बाउन्स भएर कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । खातामा मौज्दात रकम नहुँदा नहुँदै पनि चेक दिएर बाउन्स भएपछि कालोसूचीमा पर्नेहरु बढेका हुन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३४ हजार २ सय २४ व्यक्ति तथा संस्था चेक बाउन्स भएर कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् ।
केन्द्रका अनुसार गत आर्थिक वर्षमा चेक बाउन्सका कारण १ सय ७८ सहकारी तथा संस्थाहरु कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्नुको मुख्य कारण पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको मन्दी भएको जानकारहरु बताउँछन् ।
‘अहिले सोचेजस्तो व्यापारव्यवसाय चलेको छैन । अपेक्षित रुपमा आर्थिक सूचकमा वृद्धि भएको छैन । सुधार भइरहेको भए पनि अर्थतन्त्र पूर्ण रुपमा लयमा आएको छैन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक अर्थविद्ले भने, ‘यस्तो अवस्थामा ऋण तिर्न धेरैलाई मुस्किल छ । बोली काट्न नसक्दा चेक काट्छन् । तर, खातामा पैसा नहुँदा त्यही व्यक्ति कालोसूचीमा पर्छ ।’
चेक बाउन्स के हो ? कस्तो अवस्थामा कालोसूचीमा परिन्छ ?
यदि रकम भुक्तानीका लागि दिइएको चेक खातामा पर्याप्त रकम नभएर फिर्ता हुनुलाई चेक बाउन्स भनिन्छ । यदि यसरी फिर्ता भएको चेक तीन पटकसम्म बाउन्स भएमा सम्बन्धित व्यक्तिको उजुरीका आधारमा खातावाल व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्न सकिने व्यवस्था रहेको छ । यसो त चेक बाउन्सको केसमा उजुरी परेपछि बैंक तथा वित्तीय संस्थाले खातावाला व्यक्ति/संस्थालाई खातामा रकम जम्मा गर्न ७ दिनको म्याद दिन्छ । तर, त्यस अवधिमा पनि खातामा रकम जम्मा नभए त्यस्ता व्यक्ति/संस्थालाई कालोसूचीमा राखिन्छ । नेपाल राष्ट्र बैंकले २०७६ मा एकीकृत निर्देशन जारी गर्दै चेक बाउन्स भए कालोसूचीमा पर्ने व्यवस्था गरेको थियो ।